२०८२ बैशाख १८, बिहिबार | Thu, 01, May, 2025

आज १३६औँ श्रमिक दिवस मनाइँदै


११९७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८२ बैशाख १८, बिहिबार मा प्रकाशित ८ घण्टा अघि
  • काठमाडौं– आज मे १ अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।

    श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

    विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । यसपटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै छन् ।

    सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ ।

    उक्त आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो । मजदुर आन्दोलनले अन्ततः सफलता हासिल गर्‍याे ।

    पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो ।

    नेपालमा १९९३ सालमा विराटनगर जुट मिल उद्योगको स्थापना भएपश्चात २००३ सालमा कांग्रेसको नेतृत्वमा आफ्नो हकहित र सेवा सुविधाको माग राखेर विराटनगरमा मजदुरहरूको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो ।

    तत्कालीन सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गर्‍याे । त्यतिबेला जननायक बीपी कोइरालालगायत धेरै नेतालाई पक्राउ गरिएको थियो ।

    नेपालमा प्रजातन्त्रको स्थापना अर्थात् २००७ सालको ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलनलाई मान्ने गरिएको छ । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदासमेत दिन थालिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु