२०८२ फागुन ५, मंगलबार | Tue, 17, Feb, 2026

मतदाताको विश्वासलाई विकासमा रूपान्तरण गर्छु’ : हुमागाई


२५४९ पाठक संख्या
  • २०८२ फागुन ५, मंगलबार मा प्रकाशित ९ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । नेपाली कम्युनिष्ट पार्टी काभ्रेपलाञ्चोकका प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ की उम्मेदवार बसुन्धरा हुमागाईले मतदाताले दिएको जिम्मेवारी इमान्दारीपूर्वक र परिणाममुखी ढंगले पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका विभिन्न वडामा आयोजित भेटघाट तथा घरदैलो कार्यक्रमका क्रममा उहाँले जनतासँग प्रत्यक्ष संवाद गर्दै विगतका अनुभव र आगामी कार्ययोजनाबारे धारणा राख्नुभएको हो।

    उहाँले विगतमा दुई पटक मतदाताले विश्वासका साथ आफूलाई जिम्मेवारी सुम्पिएको स्मरण गर्दै ती कार्यकालमा जनअपेक्षा पूरा गर्न निरन्तर प्रयास गरेको बताउनुभयो। “जनताले दिएको विश्वास मेरो लागि अवसर मात्र होइन, कर्तव्य पनि हो,” उहाँले भन्नुभयो, “यसपटक पनि अवसर दिनुहुन्छ भने क्षेत्रको समग्र विकास, सुशासन र नागरिकका आधारभूत आवश्यकताका विषयलाई प्राथमिकतामा राखेर काम गर्नेछु।”

    उहाँले प्रतिनिधि सभामा निर्वाचित भएपछि मतदाताको मतको सम्मान हुने गरी प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विकास निर्माण, रोजगारी सृजना, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विस्तारका विषयमा स्पष्ट योजना अघि सार्दै परिणाममुखी काम गर्ने उहाँको भनाइ थियो।

    घरदैलोका क्रममा हुमागाईले आफू सधैं समन्वय र सहकार्यमा विश्वास गर्ने व्यक्ति भएको उल्लेख गर्दै राजनीतिक भिन्नता भन्दा माथि उठेर आम नागरिकको साझा हितका लागि काम गर्ने धारणा व्यक्त गर्नुभयो। “यो वा उ पक्ष भन्ने भन्दा पनि क्षेत्र र नागरिकको हित नै मेरो पहिलो प्राथमिकता हो,” उहाँले स्पष्ट पार्नुभयो।

    आगामी निर्वाचनमा ‘निर्वाचन चिन्ह तारा’मा मतदान गरी पुनः सेवा गर्ने अवसर प्रदान गर्न मतदातासमक्ष आग्रह गर्दै उहाँले सबैको साथ, सहयोग र समर्थन प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो।

    कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। जनसम्पर्क अभियानलाई निरन्तरता दिँदै उम्मेदवार हुमागाईले आगामी दिनमा पनि विभिन्न वडामा भेटघाट कार्यक्रमलाई तीव्रता दिने जनाइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार