२०८२ फागुन ७, बिहिबार | Thu, 19, Feb, 2026

सामाजिक उत्तरदायित्वको उदाहरण, पाँचखाल नगरलाई शववाहन हस्तान्तरण


२४९७ पाठक संख्या
  • २०८२ फागुन ७, बिहिबार मा प्रकाशित ९ घण्टा अघि
  • काभ्रेपलाञ्चोक। सामाजिक सेवामा सक्रिय गैरसरकारी संस्था उज्यालो नेपाल ले पाँचखाल नगरपालिकालाई शववाहन उपलब्ध गराएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयमा २०७२ मंसिर २९ गते दर्ता नं. ३८६ मा दर्ता भएको उक्त संस्थाले आफ्नो १०औँ वार्षिक साधारण सभाको अवसर पारेर नगरप्रमुख महेश खरेल लाई शववाहन हस्तान्तरण गरेको हो।

    किर्तिपुर नगरपालिका–१, ट्याङ्गलाफाँटमा केन्द्रीय कार्यालय रहेको संस्थाको वार्षिक साधारण सभा पाँचखाल नगरपालिका–९ स्थित सुनकोशी एडभेन्जर रिट्रिट मा बुधबार सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल लाई संस्थाका अध्यक्ष तथा पाँचखाल नगरपालिका प्रवक्ता संजय तामाङले शववाहनको साँचो हस्तान्तरण गर्नुभएको हो।

    शववाहन अभावको समस्या समाधानतर्फ पहल

    पाँचखाल नगरपालिकामा शववाहनको अभावका कारण मृत्यु पश्चात पोस्टमार्टम तथा अन्य कानुनी प्रक्रिया पूरा गर्न परिवारहरूले निजी सवारीसाधन प्रयोग गर्नुपर्ने बाध्यता थियो। यसले विशेष गरी आर्थिक रूपमा कमजोर परिवारहरूलाई थप आर्थिक बोझ परेको स्थानीयहरूले बताउँदै आएका थिए। यही समस्यालाई सम्बोधन गर्दै संस्थाले नगरपालिकालाई शववाहन उपलब्ध गराएको अध्यक्ष तामाङले जानकारी दिनुभयो।

    उहाँका अनुसार शववाहन व्यवस्थाका लागि दाताको खोजी गर्ने क्रममा लायन्स क्लब डिस्ट्रिक्ट सि का गभर्नर मिलन बाबु मल्ल ले आफ्नो स्वामित्वमा रहेको कार्गो भ्यान सहयोग गर्नुभएको थियो। उक्त भ्यानलाई आवश्यक मर्मत–सम्भार (ओभरहल) गरी प्राविधिक रूपमा उपयुक्त बनाएपछि नगरपालिकालाई हस्तान्तरण गरिएको हो।

    स्वास्थ्य क्षेत्रमा नयाँ पहल

    संस्थाले सवारी दुर्घटना लगायत आकस्मिक अवस्थामा घाइते भएका बिरामीले आर्थिक अभावका कारण उपचार सुरु हुन नसक्ने अवस्थालाई मध्यनजर गर्दै धुलिखेल अस्पताल सँग समन्वय गरी आकस्मिक उपचारका लागि निश्चित रकम अग्रिम रूपमा जम्मा राख्ने तयारीसमेत थालेको जनाएको छ। उपचारपछि बिरामी डिस्चार्ज हुँदा खर्च भएको रकम सम्बन्धित स्रोतबाट भुक्तानी गर्ने व्यवस्था मिलाइने संस्थाले जनाएको छ। यसले आर्थिक अभावकै कारण उपचारमा ढिलाइ हुने समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ।

    बहुआयामिक विकासमा सक्रियता

    काठमाडौं, काभ्रेपलाञ्चोक र रामेछाप जिल्लालाई कार्यक्षेत्र बनाएर उज्यालो नेपालले खानेपानी, शिक्षा, स्वास्थ्य तथा सामुदायिक पूर्वाधार विकासमा दीर्घकालीन कार्यक्रम सञ्चालन गर्दै आएको छ। पछिल्लो समय संस्थाले खानेपानीका मुहानहरूको संरक्षण र शुद्धीकरणलाई प्राथमिकतामा राखेको जनाएको छ। मुहान खोजी, संरक्षण, पाइप वितरण, पानी प्रशोधन तथा सहज वितरणका कार्यक्रम सञ्चालन भइरहेका छन्।

    स्वास्थ्य क्षेत्रमा विभिन्न प्रकारका औषधि उपलब्ध गराउने, औषधि पसल सञ्चालनका लागि बीउ पुँजी उपलब्ध गराउने तथा एम्बुलेन्स व्यवस्था गर्ने कार्य हुँदै आएको छ। शिक्षा क्षेत्रमा नमुना विद्यालयहरूको अध्ययन–अवलोकन, गुणस्तरीय शिक्षाका लागि पहल, अतिरिक्त कक्षा सञ्चालन, विद्यार्थीलाई स्टेशनरी वितरण तथा अतिरिक्त क्रियाकलाप प्रवर्द्धन गरिँदै आएको संस्थाले जनाएको छ। साथै सामुदायिक भवन निर्माण गरी स्थानीय सेवाप्रवाहलाई सहज बनाउने कामसमेत हुँदै आएको छ।

    जर्मनीबाट सहयोग संकलन

    जर्मन नागरिकद्वय जोनर्स वर्गरनोवेल ग्रोवेल को सक्रियतामा ‘उज्यालो लिजविक नेपाल–जर्मनी’ नामक संस्था स्थापना गरी जर्मनीमा अध्ययनरत विद्यार्थी तथा शुभेच्छुकहरूमार्फत सहयोग संकलन गरिँदै आएको छ। संकलित रकम नेपालमा सञ्चालन हुने विकास कार्यक्रमहरूमा खर्च हुँदै आएको जानकारी संस्थाले दिएको छ।

    साधारण सभा सम्पन्न

    संस्थाका अध्यक्ष संजय तामाङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख महेश खरेल प्रमुख अतिथि रहनुभएको थियो। उपाध्यक्ष रामकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा सल्लाहकार रामप्रसाद खनाल, वडा नं. ४ का अध्यक्ष सुन्दर तामाङ, शिक्षा शाखा प्रतिनिधि धनबहादुर बस्नेत, सञ्चारकर्मी ईश्वरी राजकुमार मैनाली, आजाद मावि व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर दनुवार, कार्यक्रम संयोजक सुनिता योञ्जन, आजाद माविका प्रधानाध्यापक प्रल्हादप्रसाद तिमल्सिना, दुग्देश्वर माविका प्रधानाध्यापक रामभक्त श्रेष्ठ तथा लायन्स क्लब अफ काभ्रेपलाञ्चोक भगवतीका पूर्व अध्यक्ष पवन गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

    उक्त कार्यक्रम संस्थाको कर्मचारी सुनिल लुईटेलले सञ्चालन गर्नुभएको थियो। कोषाध्यक्ष प्रभाकर महर्जनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा सचिव आङ दार्जे शेर्पाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।

    उज्यालो नेपालको यस पहललाई पाँचखालवासीले सामाजिक उत्तरदायित्वको उदाहरणीय कदमका रूपमा लिएका छन्। शववाहन उपलब्धतासँगै नगरपालिकामा आपत्कालीन सेवा व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार