काभ्रेपलाञ्चोक – जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी, आचारसंहिताको कार्यान्वयन तथा सञ्चार क्षेत्रको भूमिकाका विषयमा केन्द्रित रहेर छलफल गरिएको हो।
प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्रेम प्रसाद न्यौपाने प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत न्यौपानेले निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। “निर्वाचनको तयारी १२० को स्पिडमा अघि बढिरहेको छ,” उहाँले भन्नुभयो, “दुवै प्रकारका मतपत्र जिल्लामा आइसकेका छन् र तिनको निरीक्षण गर्ने कार्यसमेत भइरहेको छ।” आवश्यक जनशक्ति व्यवस्थापन, मतदान केन्द्र व्यवस्थापन तथा सुरक्षा तयारी पनि समन्वयात्मक ढंगले अघि बढाइएको उहाँले स्पष्ट पार्नुभयो।
त्यस्तै, प्रमुख जिल्ला अधिकारी अधिकारीले जिल्लाका सञ्चारकर्मीहरूले अहिलेसम्म सकारात्मक र जिम्मेवार भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो। सञ्चार क्षेत्रको सक्रियताका कारण आचारसंहिता उल्लंघनका घटनाहरू न्यून रहेको उहाँको भनाइ थियो। “निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराउन सञ्चार माध्यमको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ,” उहाँले भन्नुभयो, “निर्वाचन नजिकिँदै गर्दा तथ्यपरक र जिम्मेवार समाचार सम्प्रेषणले बदर मतको संख्या घटाउनसमेत मद्दत पुर्याउनेछ।”
कार्यक्रमको सुरुवात जिल्ला निर्वाचन अधिकारी दिनेश सिवाकोटीले स्वागत मन्तव्यबाट गर्नुभएको थियो भने सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले निर्वाचन तयारीसम्बन्धी प्रस्तुतीकरण राख्नुभएको थियो।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले पनि सञ्चार क्षेत्रको समग्र भूमिकाबारे धारणा राख्दै स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित पत्रकारिताले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउने बताउनुभयो।
अन्तरक्रिया कार्यक्रमले निर्वाचन प्रक्रियालाई पारदर्शी, व्यवस्थित र विश्वसनीय बनाउन प्रशासन र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेको सन्देश दिएको सहभागीहरूले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस