२०८२ फागुन १२, मंगलबार | Tue, 24, Feb, 2026

पारदर्शिता र गुणस्तरीय शिक्षामा काभ्रे क्याम्पस अग्रणी , CTEVT अझै प्रदेश मातहतमा छैन : मन्त्री वादे


२०२९ पाठक संख्या
  • २०८२ फागुन १२, मंगलबार मा प्रकाशित १३ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कञ्चनचन्द वादे ले वर्तमान संविधानको संरचनाअनुसार हालसम्म प्रदेश सरकारसँग पूर्ण रूपमा आवद्ध नभएको संस्था प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) रहेको बताउनुभएको छ।

    उहाँले बागमती प्रदेश सरकार मातहत यस्ता संस्थाहरू हस्तान्तरण नभएको स्पष्ट पार्दै प्राविधिक शिक्षालाई व्यवस्थित र प्रभावकारी बनाउन समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

    मंगलबार काभ्रे बहुमुखी क्याम्पस को ४५औँ वार्षिकोत्सव समारोह उद्घाटन गर्दै मन्त्री वादेले विद्यार्थीलाई उच्चस्तरीय प्राविधिक शिक्षा प्रदान गरी आत्मनिर्भर तथा व्यवसायिक बनाउने लक्ष्यसहित सरकार अघि बढिरहेको बताउनुभयो। उहाँले प्राविधिक शिक्षा उत्पादनसँग जोडिनुपर्ने र शिक्षित जनशक्तिलाई रोजगारी सिर्जनासँग आबद्ध गरिनुपर्नेमा जोड दिनुभयो।

    मन्त्री वादेले आफू बनेपा नगरपालिकामा २०५४ देखि २०६० सालसम्म जिम्मेवारीमा रहँदा नगरको विकास बजेट कटौती गरेर बनेपा बहुप्राविधिक विद्यालय सञ्चालनको योजना अघि बढाएको स्मरण गर्नुभयो। सोही योजनाअनुसार विद्यालय सञ्चालन भए पनि हालको व्यवस्थापन सन्तोषजनक नभएको उल्लेख गर्दै आवश्यक सुधारपछि प्रभावकारी ढंगले सञ्चालन गर्ने वातावरण निर्माण गरिने प्रतिबद्धता जनाउनुभयो। निर्वाचन सम्पन्न भएपछि विद्यालय व्यवस्थापनमा देखिएका समस्याहरू समाधानतर्फ प्रदेश सरकार सकारात्मक रूपमा अघि बढ्ने उहाँको भनाइ थियो।

    उहाँले वर्तमान समयमा पारदर्शिता नै सबैभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गर्दै कुनै पनि शैक्षिक संस्था वा सरकारी निकायले आर्थिक तथा प्रशासनिक काम कारबाही पारदर्शी ढंगले गर्नुपर्नेमा जोड दिनुभयो। क्याम्पसका कोषाध्यक्ष रामराजा धौवडेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा क्याम्पस प्रमुख के.जी. बैदारले प्रस्तुत गरेको प्रगति विवरणको प्रशंसा गर्दै मन्त्री वादेले क्याम्पस काभ्रेको मात्र नभई देशकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित भएको उल्लेख गर्नुभयो। प्रतिवेदनमा विश्वविद्यालय सञ्चालनको अवधारणा समेटिएकोप्रति सकारात्मक प्रतिक्रिया दिँदै व्यक्तिगत तथा प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रमका विशेष अतिथि तथा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य ले क्याम्पसले बजारको मागअनुसार गुणस्तरीय शिक्षा प्रदान गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो। विश्वविद्यालय सञ्चालनको सोच स्वागतयोग्य रहेको उल्लेख गर्दै उहाँले बनेपा बहुप्राविधिक विद्यालय ८० रोपनी क्षेत्रफलमा निर्माण भएको भौतिक संरचनामा हाल चार सय विद्यार्थी मात्र अध्ययनरत हुनु दुःखद भएको धारणा व्यक्त गर्नुभयो।

    उहाँले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा नगरपालिकाको मुख्य भवन जलेर ध्वस्त भएपछि हाल वडा नं. १० को भवनबाट सेवा प्रवाह गर्नुपरेको जानकारी दिनुभयो। सेवा प्रवाहमा कठिनाइ भइरहेको अवस्थामा नगर मातहत रहेको बहुप्राविधिक विद्यालयका खाली भवनमध्ये दुई वटा अस्थायी रूपमा उपलब्ध गराउन अनुरोध गर्दा असहज परिस्थिति सिर्जना भएकोप्रति दुःख व्यक्त गर्नुभयो। कठिन परिस्थितिमा सहयोगको अपेक्षा गर्दा विद्यार्थी उक्साएर आन्दोलनको चेतावनी दिइएको उल्लेख गर्दै त्यसपछि भवन खाली गराउन पत्राचार गर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो।

    क्याम्पस सञ्चालन समितिका अध्यक्ष लम्बोदर कायस्थको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मोहन दुवालले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रम सञ्चालन समिति सदस्य कृष्णप्यारी नकर्मीले गर्नुभएको थियो।

    सो अवसरमा स्ववियु सभापति रोहिन पराजुली, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, शिक्षक प्रतिनिधि उपप्राध्यापक माधव प्रसाद तिमल्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

    कार्यक्रममा किशन–हरि खैलुगी छात्रवृत्तिबाट कमला मैनाली सम्मानित हुनुभएको थियो भने लीला मध्यमार्ग छात्रवृत्तिबाट संगिता श्रेष्ठसहित विभिन्न छात्रवृत्ति कोषमार्फत १६ जना विद्यार्थीलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार