
प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा देशभर लोकतान्त्रिक उत्सवको माहोल क्रमशः गाढा बन्दै गएको छ। यसपटकको चुनावी वातावरण विगतका अनुभवभन्दा तुलनात्मक रूपमा शान्त, संयमित र सौहार्दपूर्ण देखिनु सकारात्मक संकेत हो। निर्वाचन आयोग ले जारी गरेको आचारसंहिता र निर्देशनहरूको प्रभावकारी कार्यान्वयन, सुरक्षा निकायको सजगता तथा राजनीतिक दलहरूको जिम्मेवार प्रस्तुतिले निर्वाचन प्रक्रियालाई थप व्यवस्थित बनाएको छ। छिटपुट घटनाबाहेक उल्लेखनीय आचारसंहिता उल्लंघन नदेखिनु लोकतान्त्रिक संस्कृतिको परिपक्वताकै द्योतक हो।
लोकतन्त्रको सौन्दर्य प्रतिस्पर्धामा निहित हुन्छ। यसपटक धेरै निर्वाचन क्षेत्रमा झिनो मतान्तरले परिणाम निर्धारण गर्ने आँकलन छ। यसको अर्थ, मतदाताको प्रत्येक मत निर्णायक बन्नेछ। राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा हुँदाहुँदै पनि प्रतिस्पर्धा मर्यादित र सभ्य ढंगबाट अघि बढिरहेको देखिन्छ। आरोप–प्रत्यारोपको तीखोपन घटेको छ; नीतिगत बहस र विकासका एजेन्डा केन्द्रमा आउन थालेका छन्। प्रचार–प्रसारका शैलीहरू सिर्जनात्मक बनेका छन्—सामाजिक सञ्जालको प्रयोग, घरदैलो भेटघाट, साना अन्तरक्रिया कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्ने अभ्यास बढेको छ। यसले मतदातालाई सूचित निर्णय गर्न सहयोग पुर्याएको छ।
आचारसंहिताप्रतिको जनसमर्थन अर्को उत्साहजनक पक्ष हो। आम नागरिकले निर्वाचनलाई केवल दलहरूको प्रतिस्पर्धा नभई आफ्नै भविष्य निर्धारणको अवसरका रूपमा ग्रहण गरेका छन्। यही जनचेतनाले निर्वाचनलाई शान्त र विश्वसनीय बनाउँछ। राज्य संयन्त्रले नियम बनाउँछ, तर तिनको सार्थकता नागरिकको स्वैच्छिक पालना र सामाजिक अनुशासनबाट स्थापित हुन्छ।
यद्यपि, निर्वाचन संवेदनशील समय पनि हो। सानो असावधानीले ठूलो विवाद निम्त्याउन सक्छ। विशेषतः निर्वाचन अवधिमा मदिरा सेवन तथा बिक्री–वितरणले अनावश्यक तनाव, झगडा र अवाञ्छित घटना निम्त्याउने जोखिम रहन्छ। विगतका अनुभवहरूले पनि मतदानअघिका केही दिन संयम र सतर्कता आवश्यक हुने देखाएका छन्। त्यसैले मतदान सुरु हुनु कम्तीमा ७२ घण्टा अघिदेखि मदिरा सेवन तथा बिक्री–वितरणमा कडाइका साथ रोक लगाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक छ। यस्तो कदमले शान्ति–सुरक्षा कायम राख्न, मतदातालाई निडर वातावरणमा मतदान गर्न तथा निर्वाचन परिणामप्रति विश्वास बढाउन सहयोग पुर्याउँछ।
निर्वाचन केवल मत हाल्ने दिनमा सीमित प्रक्रिया होइन; यो लोकतन्त्रप्रतिको आस्था, सहिष्णुता र पारस्परिक सम्मानको अभ्यास हो। पराजयलाई पनि स्वीकार्ने संस्कार, विजयी पक्षको संयमित व्यवहार, र परिणामपश्चात् सहकार्यको भावना लोकतन्त्रका आधारस्तम्भ हुन्। राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी, सञ्चारमाध्यम र आम मतदाता—सबैको साझा दायित्व हो कि निर्वाचनलाई विवादरहित, मर्यादित र उदाहरणीय बनाउने।
यदि यही सकारात्मक वातावरण कायम रह्यो भने यसपटकको प्रतिनिधि सभा निर्वाचन केवल नियमित राजनीतिक प्रक्रिया मात्र रहने छैन; यो लोकतान्त्रिक परिपक्वताको सशक्त प्रमाण बन्नेछ। शान्त, निष्पक्ष र विश्वसनीय निर्वाचनमार्फत जनमतको सम्मान गर्नु नै लोकतन्त्रप्रतिको सबैभन्दा ठूलो प्रतिबद्धता हो। लोकतन्त्रको यो उत्सव गरिमामय बनाउन हामी सबैले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्छ।
प्रतिक्रिया दिनुहोस