२०८२ फागुन २०, बुधबार | Wed, 04, Mar, 2026

निर्वाचनको मुखैमा दुई उम्मेदवार पक्राउ, पर्सामा नेकपा उम्मेदवार चौधरी नियन्त्रणमा


१२२३ पाठक संख्या
  • २०८२ फागुन २०, बुधबार मा प्रकाशित २0 घण्टा अघि
  • २० फागुन, वीरगञ्ज । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सुरक्षा सतर्कता कडाइ गरिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरि बहादुर बस्नेतका अनुसार नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर जाँच गर्दा चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको हो। गाडीमा केही शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

    सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ। बरामद सामग्रीको प्रकृति तथा उद्देश्यबारे अनुसन्धान जारी रहेको र चाँडै पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

    यता, प्रतिनिधिसभा निर्वाचनकै सन्दर्भमा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट सिरहा क्षेत्र नम्बर ३ का उम्मेदवार अशेश्वर यादव पनि पक्राउ परेका छन्। प्रहरीका अनुसार मौनअवधिको समयमा नगदसहित फेला परेपछि यादवलाई नियन्त्रणमा लिइएको हो।

    निर्वाचन आचारसंहिता उल्लंघन र अवैध गतिविधि रोक्न सुरक्षाकर्मीले देशभर निगरानी तथा चेकजाँच कडाइ गरेका छन्। निर्वाचनको निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न यस्ता कारबाहीलाई निरन्तरता दिइने सुरक्षा निकायले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार