विराटनगर । निर्वाचन बहिष्कार अभियानमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का मोरङ जिल्ला इन्चार्ज र जिल्ला सचिवलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङ का अनुसार पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा नगरपालिका–१० बस्ने ५६ वर्षीय कृष्ण प्रसाद चम्लागाई (जिल्ला इन्चार्ज) र झापाको दमक नगरपालिका–५ बस्ने ३७ वर्षीय सुमन पौडेल (जिल्ला सचिव) रहेका छन्।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बुधबार दिउँसो करिब ४ः३० बजे मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित बुद्ध चोकबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जना आजै दिउँसो करिब १२ः१५ बजे सुन्दरहरैँचा–१० स्थित पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ फेला परेको नक्कली बम राख्ने कार्यमा समेत संलग्न भएको हुनसक्ने आशंका गरिएको छ। सो घटनापछि सुरक्षाकर्मीले उक्त वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए। पक्राउ परेका व्यक्तिहरूमाथि निर्वाचन सम्बन्धी कसुर तथा सार्वजनिक शान्ति भंगसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस