
सुदिप काफ्ले,
काठमाडौँ । प्रतिनिधिसभा सदस्य पदका लागि सम्पन्न आम निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्। शुक्रबार सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार उनले रुकुम पुर्व बाट १० हजार २४० मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रचण्डका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली काग्रेसको कुसुम दाहाल ले ३ हजार ८१ मत प्राप्त गरेकी छन्। अन्य उम्मेदवारहरूले भने अपेक्षाकृत कम मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
अन्तिम मतपरिणामअनुसार प्रचण्डले आफ्ना प्रतिस्पर्धीहरूलाई फराकिलो मतान्तरले पराजित गरेका छन्। मतगणनाको सुरुदेखि नै अग्रता बनाएका उनले अन्तिम परिणामसम्म सो अग्रता कायम राख्दै सहज जित हासिल गरेका हुन्।
यससँगै नेपाली कम्युनिष्ट पार्टीले चालु प्रतिनिधिसभा निर्वाचनमा जितको खाता खोलेको छ। पार्टीका शीर्ष नेतामध्येका एक रहेका प्रचण्डको जितलाई नेकपाका लागि महत्वपूर्ण राजनीतिक उपलब्धिका रूपमा हेरिएको छ।
मतपरिणाम सार्वजनिक भएसँगै रुकुम पूर्वका विभिन्न स्थानमा प्रचण्डका समर्थक तथा कार्यकर्ताले खुसीयाली मनाएका छन्। विजयी भएपछि उनले मतदाताप्रति आभार व्यक्त गर्दै आफूले जनताको विश्वास र अपेक्षालाई सम्मान गर्दै विकास, सुशासन र स्थायित्वका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
निर्वाचन आयोगका अनुसार देशभर प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना क्रमशः सम्पन्न हुँदै गएको छ भने अन्य क्षेत्रका नतिजाहरू पनि सार्वजनिक हुने क्रम जारी रहेको छ। यस निर्वाचनलाई आगामी सरकार गठन र राजनीतिक समीकरणका लागि महत्वपूर्ण मानिएको छ।
प्रतिक्रिया दिनुहोस