२०८२ फागुन २५, सोमबार | Mon, 09, Mar, 2026

ओखलढुंगामा ५ मतले विश्वराज पोखरेल विजयी


२२११ पाठक संख्या
  • २०८२ फागुन २४, आईतबार मा प्रकाशित १ दिन अघि
  • २४ फागुन, काभ्रेपलाञ्चोक । ओखलढुंगा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विश्वराज पोखरेल अत्यन्तै झिनो मतान्तरले विजयी भएका छन्। पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) समेत रहेका पोखरेलले १३ हजार ९५३ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमार लुइटेल ले १३ हजार ९४८ मत प्राप्त गरेका छन्। पोखरेल र लुइटेलबीचको मतान्तर केवल ५ मत मात्र रहेको छ। अत्यन्तै सानो मतान्तरमा परिणाम टुंगिएकाले ओखलढुंगाको यो निर्वाचन परिणामलाई निकै प्रतिस्पर्धात्मक र रोचक मानिएको छ।

    निर्वाचनको अन्तिम मतपरिणामअनुसार तेस्रो स्थानमा नेपाल कम्युनिस्ट पार्टीका अम्बिरबाबु गुरुङ रहेका छन्। उनले ११ हजार २९६ मत प्राप्त गरेका छन्। त्यस्तै चौथो स्थानमा नेकपा (एमाले)की अस्मिता थापा रहिन्। थापाले १० हजार ७२० मत पाएकी छन्।

    अन्य उम्मेदवारमध्ये श्रम संस्कृति पार्टीका उद्धवकुमार राई ले ३ हजार ८५८ मत, उज्यालो नेपाल पार्टीका किशोरी कार्की ले ९६५ मत, मंगोल नेशनल अर्गनाइजेशनका वजेन्द्र राई ले २२३ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डिकप्रसाद बास्तोला ले १७८ मत प्राप्त गरेका छन्।

    ओखलढुंगामा यसपटकको निर्वाचन निकै प्रतिस्पर्धात्मक देखिएको थियो। अन्तिम मतगणना सकिँदासम्म दुवै मुख्य प्रतिस्पर्धीबीच कडा टक्कर देखिएको थियो र अन्ततः केवल ५ मतको अन्तरले परिणाम तय भएको हो। अत्यन्तै न्यून मतान्तरले तय भएको यो परिणामले मतदाताको एक–एक मतको महत्वलाई पनि स्पष्ट रुपमा उजागर गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु