२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

जनताको सवैखालको आवश्यकता पुर्ती गर्न सहकारी सक्षम छ, अव आर्थिक तथा वित्तिय कारोवारको लागि बैकनै धाउनु पर्ने अवस्था छैन


४१३३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर ९, मंगलबार मा प्रकाशित ३ साल अघि
  • पाँचखालमा रहेका सहकारीमध्य नेतृत्व दायी भुमिकामा आर्थिक बिकास अग्रपंतिमा रहेको छ

    ठाकुरनाथ अधिकारी
    प्रबन्धक
    आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था

    साबिक अनैकोट गा.वि.स वडा नं ३ अधिकारी थुम्का हाल पाँचखाल नगरपालिका वडा नं २ मा पिता हिरानाथ अधिकारी तथा माता रेवती अधिकारीको कोखवाट २०३० साल फागुन २४ गते जन्मनु भएका ठाकुरनाथ अधिकारी मिलनसार सालिन साथै भद्र हुनुहुन्छ । बाल्यकालबाटै सामाजिक कार्यको साथै कलाकारिता क्षेत्रमा रुचिका साथ अगाडी बढ्नु भएका अधिकारीले सर्वमंगला माध्यमिक विद्यालयबाट एस.एल.सि उतिर्ण गरी उच्च शिक्षाको गागि काठमाडौ स्थित पिपल्स क्याम्पस र सरस्वति क्याम्पसमा अध्ययन गर्नुभएको थियो । अध्ययन सके पश्चात बाल्यकालदेखिको कलाकारिता क्षेत्रको चासोलाई थाति राख्दै ०५६ सालबाट सहकारीको क्षेत्रमा अगाडी बड्दै आउने क्रममा हाल पाँचखालको मुटुमा प्रधान कार्यालय रहेर निरन्तर रुपमा अगाडि बढेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको प्रबन्धकको जिम्मेवारी सम्हाल्दै आउनु भएको ठाकुरनाथ अधिकारीसंग ईश्वरी राजकुमार (आई.आर.कें) मैनालीले गरेको कुराकनी अंश ।

    तपाई लामो समयदेखी सहकारीको क्षेत्रमा रहेर निरन्तर अगाडी बढीरहेको भन्ने सुन्नमा आएको छ , सहकारीमा तपाईको अनुभवहरु भनिदिनुस न ।

    साञ्चैनै नेपालमा प्रजातन्त्र आईसकेपछि २०४८ सालमा सहकारी ऐन आएपछि सहकारीहरु फस्टाउने मौका पाएको छ । त्यो भन्दा पछाडी सहकारीले संख्यात्मक र गुणात्मक रुपमा आफ्नो अभियानलाई अगाडी बढाउने मौका पाएको छ । मैले सहकारी क्षेत्रमा जानेर नजानेर ०५६ सालबाट रुचि राख्दै आएको थिए । प्रत्यक्ष रुपमा ०६१/०६२ सालबाट थप क्रियाशिल रहेर अगाडी बढे । ०६१ सालमा जव आर्थिक विकास वचत तथा ऋण सहकारी संस्थाको स्थापना भयो सो समयबाट निरन्तर रुपमा सहकारी क्षेत्रमा क्रियासिल छु । यो १६ बर्षको अवधिमा सहकारीको बिषयमा धेरै सिक्ने मौका मिलेको छ , यहि पेरिफेरीमा आएर आर्थिक विकास साकोसकै प्रतीनिधित्व गर्दै जिल्ला सहकारी संघको संञ्चालक समितिमा रहेर काम गरी रहेको छु । जिल्लाका सहकारीको अभियानमा जुट्दै गर्दा धेरै कुराहरु जानकारी लिने अवसर मिल्यो । नेटवर्किङ्ग, व्यवस्थापक साथै नेतृत्वको हिषावले पनि सहकारी संस्थामा बुझ्ने कुरा , घुम्ने कुरा, भेटघाट मिटिङ्ग, गोष्ठि लगाएतका अवसरहरुले गर्दा धेरै जानकारी लिने अवसर जुटेको छ ।

    आर्थिक बिकास संञ्चालन गर्नुको प्रमुख उद्देस्यहरु के कस्तो रहेको थियो ?

    एकदमै राम्रो र सान्दर्भीक प्रस्न गर्नुभयो, निश्चयनै जतिबेला आर्थिक विकास सहकारी संस्था पाँचखालमा सुरु गर्नुको प्रमुख कारण पाँचखाल र आसपासमा बसोवास गर्ने स्थानियहरुलाई आर्थिक कारोबारमा सहज गराउने उद्देश्य रहेको थियो । जुन समयमा पाँचखाल र आसपासको स्थानमा आर्थिक कारोबार गर्नको लागि समस्या थियो । जुन समयमा पाँचखालमा रहेको नेपाल बैंक लिमिटेड पनि माओवादी द्वन्दको कारण पाँचखाल छोडेर बनेपा शाखामा मर्च भएको थियो । जसले गर्दा पाँचखालमा बित्तिय संस्था नहुंदा स्थानियलाई समश्या भएको महसुस गर्दै संस्था संञ्चालन गर्ने जमर्को भएको थियो । जसका कारण पाँचखालमा २०६१ पुष महिनाको ५ गते ३७ जना स्थानियहरुको मिलिमतोमा संस्था संञ्चालन भएको थियो । बलियो पुँजी निर्माणको साथै हाम्रो स्वामित्वमा हुनुपर्छ भन्ने सोचका साथ अगाडी वढियो । यो क्षेत्र भरिपुर्ण कृषिको संभावना भएको क्षेत्र हो, त्यसैले कृषिलाई पनि उत्थान गर्नुपर्छ भन्ने उद्देश्यले संस्थाको स्थापना गरेको संस्था सोही उद्देश्यका साथ निरन्तर क्रियासिल रहेको छ ।

    त्यति बृहत सोचका साथ ३७ जनाबाट सुरुगरेको सहकारी संस्थाको हालको अवस्था कस्तो रहेको छ ?

    निश्चयनै एउटा जटिल परिस्थितिबाट सहकारी संस्था सुरुगरेका थियौं, भरखर लोकतन्त्रको उदय भईरहेको अवस्था थियो द्वन्दकालको भरखरै समाप्त भएको अवस्था थियो । मानिसहरुमा आर्थिक कारोवारको लागि खासै चेतना थिएन त्यस्तो अवस्थामा सुरुगरेको आर्थिक विकास वचत तथा ऋण सहकारी संस्था दर्ताको प्रकृयाको लागि १ बर्ष सम्म धाउनु पर्ने अवस्था आयो । विसं परिस्थितिका बावजुत एकबर्ष पछि सहकारी दर्ता भयो । दर्ताको लागि पनि धेरै आरोह अवरोहहरु झेल्नु पर्यो त्यो बेग्लै पाटोमा मौका जुरेछ भने छलफल गरौला र पनि संस्थाले आफ्ना कामहरुलाई क्रियाकलापलाई निरन्तर अगाडी बढउंदै लगेउ । समुदायमा रहेका सदस्यहरुलाई गोलबध्ध गर्दै आफ्ना उद्देश्यका साथ निरन्तर अगाडी बढ्दै कृयासिल रहेकै कारणले गर्दा आज सम्म आउंदा संस्थामा ७४८२ जना शेयर सदस्य (४०३० महिला, ३४५२ पुरुष) रहनु भएको छ । त्यसैगरी बाल सदस्य ३१५५ समेत १०६७४ जना सदस्यहरु रहेको छ । त्यति सदस्यबाट हाल सम्म ५ करोड ४७ लाख शेयर पुजी संकलन भएको छ , यसैगरी हाराहारी ४० करोड निक्षप रहेको छ । ऋण लगानी ४८ करोड रहेको छ, कुल पुंजि वासलात ६५ करोड भन्दा माथि रहेको छ । १६३४ जना ऋणि सदस्यहरुले ऋण लिएर आफ्नो व्यवसाय गरेर लम्की रहनु भएको छ । निरन्तर हाम्रा उद्देश्यहरुमा हामी लागिरहेका छौं, हाम्रो उद्देश्यलाई सदस्यहरुले मनपराई रहनु भएको छ । त्यसैकारण संस्था आजको अवस्थामा राम्रो ढंगले चलेको अनुभुति भएको छ ।

    आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले आर्थिक कारोवारको अलावा अन्य के कस्ता कार्यहरु गर्दै आएको छ ?

    हामि समुदायमा आधारित सहकारी संथा हुनुको नाताले सहकारीको मर्म अनुरुप सहकारीको प्रस्तावना अनुसार आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा अगाडी बड्नु पर्छ त्यसलाई दरिलो भरिलो बनाउनु पर्छ भन्ने मर्मका साथै लागि रहेका छौं । आर्थिक कृयाकलापको पाटो त मैले भनिनै सके, सामाजिक पाटोको बिषयमा भन्नुपर्दा समुदायलाई प्रत्तेक्षरुपमा गर्नुपर्ने सहयोगका कुराहरुमा अगाडी वढेका छौं । समुदायलाई आवश्यक स्वास्थ्य शिविरहरु संञ्चालन गर्ने, रक्तदानका कार्यक्रमहरु गर्ने, समुदायकै हितहुने खालको बिभिन्न क्रियाकलापहरु गर्दै आएका छौं । वातावरणिय संरक्षणको लागि समय सन्दर्भ अनुसार वातावरण दिवसको अवसरमा बृक्षारोपन कार्यक्रमहरु निरन्तर रुपमा गर्दै आएका छौं । वजार सरसफाईका कार्यक्रमहरु, बिभिन्न मठ मन्दिर सरसफाईको कार्यक्रमहरु, संकृति जगेर्ना गर्ने कार्यहरु गर्दै आएका छौं । जसमा तिज बिषेश कार्यक्रमहरु, दशै तिहारको समयमा क्षेत्रगत रुपमा पिङको व्यवस्था गर्दै आएका छौं । समय सापेक्ष ढंगबाट सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छौं । सामाजिक आवश्यकताको आधारमा आर्थिक तथा सामाजिक रुपमा संस्थालाई अगाडी बढाउंदै आएका छौं ।

    तपाई आवद्ध सहकारीले सामाजिक क्षेत्रमा समेत धेरै राम्रो कार्य गरेको रहेछ, शेयर सदस्यहरुको हितको खातिर के कस्ता कार्यहरु गर्दै आउनु भएको छ ?

    निश्चयनै हामिले आर्थिक सामाजिक बिषयको साथमा अगाडी बड्दै गर्दा जवसम्म हामी शेयर सदस्यहरुलाई आयमुलक काममा लगाउन सकिंदैन तवसम्म सहकारी संस्था, समाज,राष्ट्रमा रुपान्तरण हुन सक्दैन । जवसम्म शेयर सदस्यहरुमा आत्मानिर्भर, स्वाबलम्बी, उद्देमि बन्न सक्नु हुन्न तवसम्म शेयर सदस्यहरुको हित हुनै सक्दैन । त्यसैले हामिले सदस्यहरुलाई लघु उद्देमी बनाउनु पर्छ, र त्यसको माध्यमबाट विकास गर्नुपर्छ भन्ने उद्देश्यले समुह संञ्चालन गरीरहेका छौं । सानु पुजींबाट बचत गर्ने बानिको बिकास गराउने कुराको संगसंगै उद्देम गर्नुपर्छ आयआर्जनको बाटोमा लाग्नुपर्छ सोही मार्गमा डोहोर्याउने गरेका छौं । समुहमा वित्तिय साक्षरताका कुराहरु सिकाउंछौं, व्यवसाय गर्ने तौर तरिकाहरु, समय संन्दर्भमा आउने घटनाक्रमहरुलाई सचेत गराउने गरेका छौं । हालैमात्र विस्वमा महाँमारीको रुपमा फैलिएको कोभिडको बिषयमा शेयर सदस्यहरुलाई जनचेतना मुलक कार्य गरेका छौं । उद्देमि बन्दा आत्मानिर्भर बन्दा आईपर्ने समस्याको बारेमा, खेतिकिसानी गर्दा विमा, पशुविमा लगाएतको बिषयमा चेतना प्रदान गर्दै आएका छौं । कुनैपनि व्यवसायमा हुने नोक्सानिलाई मध्यनजर राख्दै सुरुगर्दा देखि अन्तसम्मको लागि संस्थाले दिन सक्ने खालेको सेवा दिदै आएका छौं ।

    विस्वमा महामारिको रुपमा फैलिएको कोभिड १९ ले संस्था संञ्चालनको लागि के कस्ता समस्याहरु आयो ?

    निश्चयनै आयो विस्वमा आएको महाँमारीले हाम्रो देशलाई पनि आक्रान्त बनायो, देशलाईनै आक्रान्त बनाई रहंदा हामी पनि कोभिडबाट पिडित नहुने त कुरै भएन । पिडित भयौं, जतिबेला कोभिडको कुरा आयो राष्ट्रनै थर्कमान हुन पुग्यो, अहिले हेर्दा कोभिड सामान्य देखिएपनि मुलुकमा लकडाउन गर्नुपर्ने अवस्था सामान्य थिएन । सो समयमा कृषि उपजहरु सडकमा फाल्नुपर्ने अवस्था आयो, त्यस्तो अवस्थामा हामीले पनि नियमित रुपमा कार्यालय खोल्ने अवस्था भएन । कार्यालयमा उपस्थित नरहंदा पनि संस्थाका शेयर सदस्यहरुसंग सम्पर्कमा रहेर सदस्यहरुका हर अप्ठेराहरुलाई सहजीकरण गर्दै अगाडी बढेउ । क्षेत्रगत रुपमा, घरघरमै गएर सेवा दिने कार्य समेत गर्दै अगाडी बढियो । सम्पर्क व्यक्तिहरु तोकेर शेयर सदस्यहरुको रिपोर्टीङ्गलिने र कुनै पनि समस्या आएको अवस्थामा सहजिकरण गर्ने कार्यहरु गर्दै अगाडी बढेउ ।

    सहकारी संस्थाले कुनकुन स्थानबाट के कसरी सेवा दिदै आएको छ ?

    संस्थाले संस्थाको प्रधान कार्यालय हाल पाँचखाल पडा नं ४ बाट नियमित रुपमा नियमित प्रक्रियाबाट दिदै आएको सेवा दिईरहेकै छ । यहि बर्षमा मित्र बचत तथा ऋण सहकारी संस्थासंग सहकार्य गर्दै दुई संथा विच एकिकरण गर्ने प्रक्रिया सकेका छौं । एकिकरण पश्चात बनेपा नगरपालिका वडा नं ७ बाट पनि सेवा दिईदै आएका छौं । घरदैलो साथै प्रत्तेक गाउंटोलमै पुगेर सदस्यहरुको आवश्यकतालाई मध्यनजर राख्दै सेवा दिदै आएका छौं ।

    आर्थिक विकास वचत तथा ऋण सहकारी संस्था स्थापना पश्चात कति सहकारीसंग एकिकरण प्रकृया सकिएको छ ?

    आर्थिक विकास सहकारी संस्था स्थापना पश्चात अन्य दुई सहकारीसंग संस्थागत एकिकरण भएको छ । ०७३ सालमा नाटेश्वरी वचत तथा ऋण सहकारी संस्थासंग सहकार्य गरेका थियौं त्यस पश्चात मित्र बचत तथा ऋण सहकारी संस्थासंग सहकार्य गरेउ । जसका कारण हाम्रो सेवा क्षेत्र काभ्रे जिल्ला भर रहेको छ । जिल्ला भरी कार्यक्षेत्र भएको नाताले सेवा विस्तार गर्ने कार्यहरु अगि बढाएका छौं ।

    यति बृहत ढंगबाट अगाडी बढेको संस्थाको गुणस्तरियता मापनको सवालमा के कस्तो अवस्था रहेको छ ?

    एकदमै राम्रो प्रश्न गर्नुभयो, अहिले नेपाल सरकार र नेफ्सकुनले संयुक्तरुपमा ब्राण्डीङ्गको कार्य संञ्चालन गरेको छ । अन्तराष्ट्रिय स्तरमा पनि ब्राण्डिङ्गका कार्यहरु अकुले हेर्छ । सुरुमा हामीलाई जानकारी भए अनुसार ५÷७ वटा संस्था एक्सेस ब्राण्डिङ्ग भए भनेर सुन्दाखेरी के होला यस्तो भन्ने लाग्थ्यो । ति चाही बिदेश स्तरबाट पनि सहकारी बिधि र पद्धतिबाट गरीने रहेछ । सोही अनुसार नेपालमा पनि ब्राण्डिङ्गको सुरुवात भएको छ । जसको लागि ५६ तरिकाबाट सुचक गरिन्छ । नेपाल सरकार र नेफ्कुनको संयुक्त अनुगमनबाट प्रमाणिकरण गरेर संस्थालाई गुणस्तर ब्राण्ड दिईन्छ । सो ब्राण्डिङ्ग कार्यक्रममा हामी (आर्थिक बिकास मित्र वचत तथा ऋण सहकारी संस्था) विगत तीन बर्षदेखि सहभागि भएका छौं । ब्राण्डिङ्ग कार्यक्रम भनेको संस्थाले दिने सेवा सुबिधा गुणस्तरिय छ कि छैन, बचतको अनुपात सो अनुसारको छ कि छैन , ऋणको लगानि तथा असुलि अनुपात सो अनुसार छ की छैन, ऋणमा शुद्धिकरण के कस्तो छ , सुद्रीडिकरण गर्नुपर्ने बिषय के कस्ता छन्, आर्थिक तथा प्रशासनिक कुराहरु चुस्त दुरुस्त छकि छैन, कार्यालयबाट सेवा दिदै गर्दाको बिभिन्न अवस्था साथै सरसफाईकको बिषयमा समेत मापन गरिन्छ ।

    आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था तपाई आवद्ध सहकारी हाल सम्म कुन कुन संघ संस्थामा आवद्ध भएको छ ?

    सहकारी अभियानको मुल प्रवाहसंगै सवै ठाउंमा आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था आवद्ध रहेको छ । जिल्लामा रहेको बिषयगत वचत तथा ऋण सहकारी संघ,जिल्ला सहकारी संघ काभे्रमा आवद्ध रहेको छ । राष्ट्रिय सहकारी बैंकमा आबद्ध रहेको छ, बिषयगत केन्द्रिय संघ नेफ्कुन आर.एन.डिसि संग साझेदारी कार्यक्रम सञ्चालन गरेका छौं । सहकारीको अभियानमा रहिरहंदा आवश्यकता अनुसारका संस्थाले आफ्नो सदस्यता कायम गर्ने सहभागिता देखाउने कार्य गरी रहेका छौं । संस्थाका संञ्चालक समितिमा रहेका पदाधिकारीहरु जिल्ला बचत संघ, जिल्ला सहकारी संघमा आबद्ध हुनुहुन्छ जस्ले गर्दा हामीले नेतृत्वदायि भुमिका पनि खेलेका छौं । पाँचखालमा रहेका सहकारी मध्य नेतृत्वदायी भुमिका खेल्ने बिषयमा आर्थिक बिकास अग्रपंतिमा रहेको छ ।

    अन्तमा केही भन्न चाहनु हुन्छ की ?

    सर्व प्रथमत आफ्नो भनाई राख्ने मौका दिनु भएकोमा आभार व्यक्त गर्दछु । सहकारी कर्मी भएको नाताले भन्नु पर्दा सहकारी र शेयर सदस्यहरुको हितको लागि निरन्तर रुपमा अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु । सहकारीमा आबद्ध सम्पुर्ण शेयर सदस्यहरुको सुझाव साथै उहाँहरुको भावनालाई समेट्दै निरन्तर रुपमा अगाडी बढ्ने छु । यो संस्थाको अवस्था यसरी अगाडी बड्नाको प्रमुख कारण संस्थाका सम्पुर्ण व्यवस्थापन पक्ष साथै कर्मचारीहरुको योगदान र संस्थाको उद्देश्यलाई आत्मासाथ गर्दै साथ सहयोग दिने सम्पुर्ण शेयर सदयका कारण अग्रपंतिमा रहन सफल भएका छौं । आगामी दिनहरुमा पनि हाम्रा सम्पुर्ण शेयर सदस्यहरुको सहयोगका कारण मुलुकै नमुना ढंगको सहकारीको रुपमा परिचित हुदै जाने आशा गरेका छौं । शहर वजारमा धेरै खालको सहकारी संस्थाहरु रहेका छन् ।

    सहकारीको नाममा व्यापार पनि भएको छ, व्यापारीक संस्था र सामुदायिक संस्था छुट्याउने जिम्मा शेयर सदस्यहरुको हो, हामी हाम्रा शेयर सदस्यहरुको साथै सम्पुर्ण सहकारीकर्मी बिज्ञहरुको सुझावहरुलाई अक्षरस पालना गर्दै अगाडी बढ्ने छौं । संस्था छनोट गर्दा हाम्रो हितमा कति छ , समुदायको हितमा कति छ, त्यसको भविश्य कस्तो छ, भन्ने बिषयमा सोचेर छनोट गर्न जरुर छ । बैक तथा बित्तिय संघ संस्थासंग कारोबार गरिरहेका छौं, त्यसमा पनि सकेसम्म सहकारी मार्फत कारोबार गर्ने गरौं । जनताको सवैखालको आवश्यकता पुर्ती गर्न सक्ने ढंगबाट सहकारीहरु अगाडी बढेकोले आर्थिक तथा वित्तिय कारोवारको लागि बैकमा जानुपर्ने अवस्था छैन, प्रतिपर्धि ढंगबाट अगाडी बढ्न हाम्रो संस्था तयार छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार