२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

संरचनाहरु भत्किएपनि खानेपानी योजना भत्किन हुन्न , अबको २० महिनामा पाँचखालमा शुद्ध पानीको छेलोखेलो हुन्छ


६२३४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख २२, बुधबार मा प्रकाशित २ साल अघि
  • कुमार प्रसाद लामिछाने
    अध्यक्ष
    सुनकोशी पाँचखाल बृहत खानेपानी उपभोक्ता समिति

    कृषि नगरीको रुपमा परिचित पाँचखाल नगरपालिका वडा नं ३ को रमणिय स्थानको रुपमा परिचित जनताडिहिमा पिता ज्ञानेन्द्र प्रसाद लामिछाने तथा माता मिनकुमारी लामिछानेकी कोखबाट २०२५ साल फाल्गुन १० गते जन्मनु भएका कुमार प्रसाद लामिछाने स्पष्ट बक्ता, मिलनसार, सालिन साथै भद्र हुनुहुन्छ । स्पष्ट बक्ता भएकोले अलि खरो स्वभाव देखिने लामिछाने बाल्यकालबाटै व्यक्तिगत कार्यलाई भन्दा सामाजिक कार्यमा बढी रुची राख्ने स्वभावको हुनुहुन्छ ।
    कलिलै उमेरमा रत्नप्रसाद लामिछानेले डोहोर्याएको बाटोबाट अगाडी बढ्दै नेपाली कांगे्रसमा झुकाव राख्नु भएको लामिछानेले स्नातकोत्तर सम्म अध्ययन गर्नुभएको छ । राजनीतिको साथै आफ्नो अध्ययनलाई निरन्तरता दिदै ०३६ सालको आन्दोलनबाट राजनीतिमा होमिनु भएका लामिछानेको प्रमुख उद्देश्य समाजसेवा गर्नु रहेको थियो । राजनीतिक दौरानको क्रममा आफ्नो व्यक्तिगत साथै पारिवारिक हितको लागी कुनै पर्वाह नगरी सामाजिक हितको खातिर निरन्तर रुपमा अगाडी बढ्दै जाने क्रममा संविधानसभाको निर्वाचनमा नेपाली कांगे्रसको तर्फबाट उम्मेदवारी दिनु भएको थियो । सो समयमा उहाँले पाँचखाल र आसपासको क्षेत्रमा बसोवास गर्ने स्थानियहरुले झेल्दै आएको प्रमुख समस्याको रुपमा रहेको पिउने पानीको समस्या समाधान गर्ने वाचा गर्नुभएको थियो । साथै कोशीपारी क्षेत्रमा सडकको व्यवस्था, विद्युतको व्यवस्था, शिक्षा तथा स्वास्थ्यको उचित व्यवस्था, मण्डनदेउपुर क्षेत्रमा सडक साथै पिउने पानी साथै पाँचखाल र मण्डनदेउपुरमा सिंचाईको व्यवस्थाको लागि पहल गर्ने उहाँको संकल्प थियो ।
    निर्वाचनमा पराजय भएपनि आफ्नो प्रतिबद्धता साथै जनता समक्ष बोलेका कुराहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा पुरा गराउने विषयमा निरन्तर रुपमा अगाडी बढ्नु भयो । सोही अनुसार पाँचखालमा सिंचाईको उचित व्यवस्था र गुणस्तरीय पिउने पानीको व्यवस्थाको विषयमा सम्बन्धित निकायहरुमा अनुनय बिनय गर्दै अगाडी बढ्दै जाने क्रममा पाँचखालमा पिउने पानीको लागि आयोजना ल्याउन सफल हुनुभएको छ । भोक तिर्खा ऐस—आराम साथै पारिवारिक कामको कुनै वास्ता नगरी अगाडी बढ्दै जाने क्रममा लामिछानेको सोचलाई आम पाँचखालबासी, जनप्रतिनिधिहरु (गोकुल बाँस्कोटा, लक्ष्मण लम्साल, महेश खरेल, लक्ष्मी दनुवार साथै पाँचखालका सम्पुर्ण वडाअध्यक्षहरु) साथै विभिन्न राजनीतिक दलहरुले समेत साथ दिदा बृहत खानेपानी योजना तिब्र गतिमा अगाडी बढेको छ ।
    विश्वमा फैलिएको कोरोना महामारीले गर्दा योजनाको लागि उपभोक्ताहरुको तर्फबाट गर्नुपर्ने कार्य साथै योजनाको कार्य अगाडी बढाउने क्रममा विभिन्न बाधा अड्चनहरु खडा भएपनि महेश खरेलको नेतृत्वमा रहेको जनप्रतिनिधिहरुको साथ र सहयोग साथै कुमार प्रसाद लामिछानेको अध्यक्षतामा गठित खानेपानी उपभोक्ता समितिको अथक योगदानको कारणले गर्दा बृहत खानेपानी योजना निरन्तर रुपमा अगाडी बढेको छ । पाँचखालका जनताले कहिले स्वच्छ खानेपानी पिउन पाउछन् भन्ने विषयमा सुनकोशी पाँचखाल बृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार प्रसाद लामिछानेसँग बृहत खानेपानीको विषयमा ईश्वरी राजकुमार मैनालीले गरेको कुराकनी अंश‘..

    पाँचखाल नगरमा पिउने पानीको समस्या समाधानको लागि निरन्तर अगाडी बढ्नु भएको छ, हाल सम्म के कती उपलब्धिहरु भए ?

    पाँचखाल नगरपालिकामा खानेपानीको धेरै ठुलो समस्या रहेको कुरो सबैलाई अवगत नै छ, पानीको धेरै समस्या भएकोले तत्कालिन रुपमा पानीको समस्या समाधानको लागी डिप बोरिङ्ग खन्ने कामहरु भए । नगरमा करिव ३४ ठाउंँमा डिप बोरिङ्ग गरिएको छ, जेनतेन सोही बोरिङ्गको माध्यमबाट खानेपानीको व्यवस्था गरिएको छ । जुन बोरिङ्गहरुबाट पाँचखालका आधा जनतालाई पनि सम्बोधन गरेको छैन । एउटा डिपबोरिङ्ग खनेर योजना सम्पन्न गरि पानी वितरण गर्दा सम्म झण्डै ३ करोड लाग्छ । हामी आकलन गर्न सक्छौ पाँचखालमा ३४ ठाउँमा डिपबोरिङ्ग गरी आधा नगरवासिलाई पनि समेट्न नसकिरहेको अवस्थामा दिर्घकालीन ढंगबाट पानीको समस्या समाधानको लागि आयोजना अगाडी बढाईएको छ । पाँचखाल भित्रका सबै राजनैतिक दल,विशेषगरी पाँचखाल नगरपालिका,नगरका सम्पुर्ण जनप्रतीनिधिहरुका साथै प्रतिनिधि सभाका सांसद एवं नि—वर्तमान मन्त्री गोकुल बाँस्कोटा, प्रदेशसभा सांसद लक्ष्मण लम्साल लगायत सबैको सहयोगमा पाँचखाल सहरी खानेपानी योजना सुरुवातको चरणमा छ । यो योजनाले पाँचखालको विभिन्न पक्षलाई सम्बोधन गर्छ भन्ने लाग्छ । हाल यो योजना बामेसरेको अवस्थामा छ, लगभग ७ ठाउँंमा ट्याङ्कीहरु निर्माण, पाईपलाईनको बिस्तार, पानी प्रशोधन केन्द्र र मुहानमा (खोला) रहेको दुई इन्टेकको ढलान भएको छ ।
    मलाई लाग्छ, हामी समिति भनेको त प्राबिधिक रुपको बाध्यात्मक समिति मात्रै हो , समग्रमा सबै उपभोक्ताज्यूहरु, पाँचखाल नगरभित्र रहनुभएका सम्पुर्ण राजनीतिक पार्टीका प्रतीनिधिहरु र सिङ्गो पाँचखाल नगरपालिकाले यो योजनालाई गौरवको रुपमा पाँचखालको समग्र विकासलाई यो योजनाले प्रतिविम्बीत गर्छ भनेर लिनुभएको छ । हालसम्मको खानेपानी योजनाको प्रगती यस्तै रहेको छ ।

    विगतमा तपाईले संबिधानसभा सदस्यको उम्मेदवारी दिदै गर्दाको अवस्थामा नगरवासिहरु समक्ष पाँचखालको पानीको समस्या समाधान गर्छु भन्नु भएको थियो, योजना अगि बढ्दै गर्दा आफुले बोलेको बचन पुरा भएको महसुस गर्नु भएको छ ?

    मलाई लाग्छ यो बिषय मेरो मात्रै होईन, सिंगो पाँचखालको बिषय हो । हामीले हिजो दुईवटै बिषयलाई जोडेका थियौ, पिउने पानी र सिंचाईको लागि पानी । सिंचाईको पानीको लागि विस्तृत अध्ययन सम्म गराएका छौं । तर त्यो सफल हुन सकेको छैन, खानेपानी योजनालाई हामीले विशुद्ध नमुनाको रुपमा अगाडी बढाएका छौं । यस्तो नमुना ढंगको कार्यलाई अन्य स्थानिय तहहरुले पनि पाठको रुपमा लिनुपर्छ भन्ने लाग्छ । किनकी यहाँ कोही व्यक्ति ठुलो छैन, सबैभन्दा ठुलो लक्ष हो । कुनै व्यक्तिका कारणले नभई हामी सबै पाँचखाल भित्रका बासिन्दा, राजनीतिक दलहरु एक भएर एकै ठाउँमा उभ्याउन सक्यौं उभिन सक्यौं, सबभन्दा ठुलो कुरो त्यही हो, त्यसैले गर्दा यो खानेपानी योजना यहाँसम्म आउनुमा पाँचखाल भित्रको सबै राजनीतिक दलहरुको बराबरी योगदान छ भन्ने मलाई लाग्छ । मलाई लाग्छ पाँचखालमा जन्मिएर आफ्नो जन्मभूमिप्रती गर्नुपर्ने दायित्वमा सबै पाँचखालवासिहरु एक हुनुहुन्छ । सोही परिणामले गर्दा खानेपानी आयोजना अगाडी बढेको जस्तो लाग्छ ।

    पाँचखालको बृहत खानेपानी आयोजनाको सुरुवाती क्रममा क—कस्कोे कुन तरिकाबाट कसरी सहयोग मिल्यो ?

    तपाईले एकदम महत्वको विषय उठान गर्नुभयो, यो आयोजना ल्याउन र सञ्चालन गर्ने विषयमा धेरैले अत्यन्त महत्वका साथ सहयोग गर्नुभएको छ । “एकले थुकी सुकी सयले थुके नदी” भने जस्तै सबैको सहयोगले गर्दा आयोजनाको सुरुवाती भएको हो । पाँचखाललाई काकाकुलको अवस्थाबाट मुक्त गर्नको लागि हामीले पहिलोत साझा मञ्चको खोजी गरेउ । साझा मञ्चको खोजी गर्नुको प्रमुख कारण एउटा पार्टीले मात्र गरेको होइन भन्नाको कारण थियो । सबैको साझा मञ्चको रुपमा हामीले पाँचखाल नगर विकास समितिलाई लियौं । नगर विकास समितिको फोरमलाई समातेर हामी पाँचखाल नगरभित्रका राजनीतिक पार्टीहरु, नागरीक अगुवाहरु समेतको साथ सहयोगमा अगाडी बढियो ।
    हामीले पाँचखालमा बृहत खानेपानी आयोजनाको आवश्यकता र औचित्यको विषयमा बृहत छलफलको आयोजना गरियो । त्यसमा तत्कालिन काभ्रे जिल्लाका खानेपानीका डिइ मोहन जैशी समेतलाई डाकेर साथै सहलगानीको लागि त्यति बेलाका सिजि प्रदिप कर्णलाई समेत पाँचखालको खानेपानिको समस्या र समाधानको निम्ति अपनाइने बाटोको निम्ती दुई पटक सम्म छलफल कार्यक्रमको आयोजना गर्यौ । त्यति बेला स्थानिय निकाय थिएन मलाई जहासम्म लाग्छ पाँचखाल भित्रका सबै राजनीतिक पार्टीका नेतृत्वको सुजबुझको कारणले गर्दा यो योजना यहाँसम्म आउनको निम्ति महत्वपुर्ण योगदान मिलेको छ ।
    त्यतिबेला पाँचखालमा बृहत खानेपानी आयोजना ल्याउनको लागि मेरो नेतृत्वमा बनेको उपभोक्ता समितिलाई—जिल्लामा विकास निर्माणको लागि निकै अग्रसरता देखाउंदै अगाडी बढेको काभ्रे सेवा समाज, शिक्षासेवी दामोदर अधिकारी , समाजसेवी जनार्जन नेपाल, गणेश अधिकारीको नेतृत्वको नेपाली कांगे्रस पाँचखाल नगर समिति, गंंगाप्रसाद अधिकारीको नेतृत्वको नेकपा एमाले पाँचखाल नगर कमिटी, हरिप्रसाद दुलालको नेतृत्वको एमाओवादी पाँचखाल नगर कमिटी, सम्मर बहादुर दनुवारको नेतृत्वको राप्रपा पाँचखाल नगर समिति, रामराजा ठकुरीको नेतृत्वको राप्रपा नेपाल पाँचखाल नगर समिति, धनबहादुर तमाङ नेतृत्वको नेमकिपा पाँचखाल नगर कमिटि, यज्ञवहादुर दर्जी नेतृत्वको बैद्य माओवादी पाँचखाल नगर कमिटि, रणबहादुर बोहोरा नेतृत्वको नेकपा माले पाँचखाल नगर कमिटि, रमण परियार नेतृत्वको नेकपा विप्लव पाँचखाल नगर कमिटिले पुर्ण रुपमा साथ सहयोग गर्नुभएको थियो ।

    पाँचखालमा बृहत खानेपानी योजनाको लागि बजेट व्यवस्थापन लगायतको कार्यमा क—कस्ले सघाएको थियो ?

    यो योजना यहँंसम्म ल्याउनकोे निम्ति मुख्यत अहिलेको खानेपानी आयोजनाको डिजि मिना श्रेष्ठले यो योजना सह—लगानीबाट अघि बढेमा २० वर्षमा पनि सम्पन्न हुन सक्दैन त्यसकारण तेस्रो साना सहरी खानेपानी आयोजनामा निवेदन गर्न सुझाब दिनु भएको थियो । तत्कालिन उप—निर्देशक राजेन्द्र सापकोटाको आयोजनालाई अगाडी बढाउन महत्वपुर्ण योगदान रह्यो । त्यसैगरी अहिलेका आयोजना प्रमुख रामकुमार श्रेष्ठको पनि आयोजना सफल गराउने विषयमा महत्वपुर्ण योगदान रह्यो । २५ प्रतिशत उपभोक्तालाई ऋण लगानी गर्ने नगर विकासको उत्तिकै महत्वपुर्ण योगदान रहेको छ । विशेषत म पाँचखाल नगरपालिका नगर प्रमुख महेश खरेल लगायत सम्पुर्ण निर्वाचित जनप्रतीनिधिहरु साथै नगरमा कार्यरत सम्पुर्ण कर्मचारीहरु समेतले यो योजना यहाँसम्म आउनको निम्ति महत्वपुर्ण योगदान गर्नुभएको रुपमा स्मरण गर्न चाहन्छु । त्यसैगरी प्रतिनिधी सभाका सांसद एवं नि—वर्तमान मन्त्री गोकुल बाँस्कोटा , प्रदेश सांसद लक्ष्मण लम्साल लगायत सबैको सहयोगले गर्दा यो योजना यहांसम्म आउन सफल भएको छ ।

    आयोजनाको काम सुरु भएको छ भन्नुभयो, हाल सम्म कति काम सम्पन्न भएको छ ?

    अहिले सम्म पानी प्रशोधन केन्द्रको ७० प्रतिशत काम सकिएको छ । पानीको स्रोत भएको ठाउँमा सम वयल र कलेक्टर वयलको निर्माण भइरहेको छ । लगभग चार नं पम्प स्टेसनको काम, व्याक वासको काम, ५—७ ओटा पानी ट्याङ्की (आरविटि) हरुको निर्माण द्रुत गतिमा भईरहेको छ । अहिले सम्म १० किलोमिटर जति पानीको पाइप लाईनहरु खनेर विछ्याउने कामहरु भएका छन् ।
    आयोजनाको काम छिटो सुरु हुनुमा प्रमुख भुमिका उपभोक्ताहरुको रह्यो । उपभोक्ताहरुको तर्फबाट जम्मा गर्नुपर्ने रकम छिटै समयमै जम्मा गर्दा आयोजनाले छिटो काम गर्ने वातावरण बन्यो । उपभोक्ताको तर्फबाट जम्मा गर्नुपर्ने रकम केही अपुग भएको अवस्थामा पाँचखालमा रहेको सामुदायिक वचत तथा ऋण सहकारी, आर्थिक विकास मित्र वचत तथा ऋण सहकारी संस्था, ग्रामिण महिला उहुउद्देश्यीय सहकारी, प्रगतीशिल पहुउद्देश्यीय सहाकरी लगायता सहकारी संस्थाहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्दा थप सहज भएको छ । त्यसैगरी मेयर क्लवको स्थापना गरी मेयर क्लवमा सहभागि भएर सापटी स्वरुप रकम उपलब्ध गराउनु हुनुहुनेहरुले गर्दा पनि निकै सहज भएको छ । आयोजना सफल गराउन जो जस्ले जसरी सहयोग गर्नुभएको छ सो विषयमा उपभोक्ता समितिले त्यसको अभिलेख खडा गर्दै जाने छ ।

    कतिको लागतमा आयोजना सम्पन्न हुदैछ ? आयोजनाबाट कती उपभोक्ता लाभान्बीत हुनेछन् ?

    सुरुको अवस्थामा २ अर्व २२ करोड स्टमेट थियो, आयोजनाको लागत धेरै बढेको कारण पानी प्रशोधन केन्द्रलाई तल सार्दा हालको लागत १ अर्व ९७ करोड रहेको छ । सो मध्य २६ प्रतिशत बिलोमा निर्माण व्यवसायीले निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । जस अनुसार १ अर्व ३३ करोडको लागतमा यो योजना सम्पन्न हुन गईरहेको छ । सुरुको अवस्थामा ६ हजार १ सय घरधुरिलाई उपलब्ध गराउने भन्ने थियो भने आयोजना सम्पन्न हुँदाको अवस्था सम्म ७ हजार घरधुरीले प्रत्यक्ष रुपमा खानेपानीको लाभ लिनसक्नु हुन्छ ।

    पाँचखालका स्थानियले कहिले सम्ममा बृहत खानेपानी आयोजनाबाट आएको शुद्ध पानी पिउन पाउने संम्भावना रहेको छ ?

    हाम्रो लक्ष्य भनेको सम्झौता भएको समय भन्दा अगाडीनै नगरवासिको घरघरमा पानी पुर्याउने हो । तर विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाको कारणले गर्दा निर्माण कार्यमा असर परेको छ । यो योजनाको ठेक्का सम्झौता २०७७ असार १५ गते भएको थियो, सम्झौता भएको १० महिना सकिएको छ ,ठेक्का सम्झौताको क्रममा आयोजनाको काम ३० महिना भित्र सम्पन्न गर्ने भन्ने थियो । सोही ठेक्का सम्झौता भित्र कुनैपनि हालतमा पानी खुवाउछौं भन्ने लागेको छ । ०७९ साल पुस महिना भित्र (अवको २० महिनामा) उपभोक्ताले शुद्ध पानी पिउन पाउने छन् । जुन समयमा पाँचखालमा पानीको छेलोखेलो हुन्छ ।

    योजना सम्पन्न गर्न समस्या र चुनौतीहरु पनि रहेका छन् ?

    हाम्रो आम उपभोक्ताहरुले हिजोका दिनमा सडक मापदण्डमै रहेर घरहरु साथै अन्य संरचनाहरु निर्माण गरेका हुदाँ कतिपय ठाउँहरुमा घरको कम्पाउण्ड वालमा प्वाल पार्नुपरेकोछ, आँगनको ढलान फुटाउनु परेकोछ, सेप्mिटट्याङ्की फुटाउनु परेको छ । यस्ता खालका समस्यामा पनि आम उपभोक्ताहरुले सहज ढंगबाट खानेपानी योजना सफल गराउनको लागि साथ दिनुभएको छ । उपभोक्ताहरुले आफ्नो संरचनाहरु भत्किएपनि खानेपानी योजना भत्किन हुन्न भन्ने ढंगले आम रुपमा सघाउनु भएको छ । केही उपभोक्ताहरुको संरचनाहरु भत्किएर समस्यामा पर्नुभएको छ तर पनि योजना सफल पार्न सहयोग गरीरहनु भएको छ , उहाँहरुलाई सम्पुर्ण ढंगबाट हार्दिक धन्यवाद दिन चाहन्छु । आम उपभोक्ताले पाईपलाई बिस्तारको क्रममा आईपर्ने प्रत्यक्ष समस्यालाई गौण मानेर आयोजना नै सबभन्दा ठुलो भनेर सघाउनु भएकोमा उपभोक्ता समितिको तर्फबाट सम्पुर्ण पाँचखालवासिको तर्फबाट हार्दिक नमन गर्न चाहन्छौं ।

    तपाईले विगत लामो समयदेखी पाँचखालमा शुद्ध खानेपानी साथै सिंचाईको पानीको विषयमा लागिरहनु भएको थियो, के यो आयोजनाले गर्दा तपाईको सपना साकार भएको हो ?

    मैले लिएको सपना भन्दा नी आम पाँचखालवासी आमाबुवा, दिदी वहिनी, दाजुभाईहरुको आवश्यकता हो । पाँचखालको समस्यालाई मध्यनजर गर्दै पाँचखाल भित्रका सबै राजनीतिक दलहरुलाई एक वनाएर विकास निर्माणमा हाम्रो एकतालाई आज मात्र नभई भोलिका दिनमा पनि एक भएर जानुपर्छ भन्ने अभियानमा मेरो एउटा सानो प्रयास मात्रै हो । आम पाँचखालवासीको कारणले गर्दा योजना सफल भएको छ । व्यक्तिलाई महत्व दिन थाल्यौ भने योजना ओझेलमा पर्छ । सबभन्दा ठुलो भनेको यहाँको समस्या हो, त्यसलाई समाधान गर्नु हामी सबैको कर्तव्य हो । सामाजिक अगुवाहरु, सल्लाहकारहरु, समाजमा विभिन्न पक्षबाट योगदान पुर्याउनु भएका समितिका सल्लाहकारहरुको योगदान , उहाँको समस्या र समस्यालाई समाधान गर्नुपर्छ भनेर काभे्र जिल्ला भरिरहेका सञ्चारकर्मीहरु समेतको योगदानले गर्दा यो योजना यहाँसम्म आउन सफल भएको हो । व्यक्तिलाई महत्व दिने होईन आयोजनालाई महत्व दिनुपर्छ । व्यक्ति आउछ जान्छ व्यक्तिले सामान्य ढंगले योगदान गर्ने हो । तर समग्रमा सबै राजनीतिक दलहरु एक हुँदा आयोजना सफल हुन्छ जसको कारण पाँचखालको समग्र विकासमा यसले प्रभाव पार्छ ।
    पाँचखालको हितको खातिर अर्को योजनाको बारेमा मैले नगर प्रमुख महेश खरेलज्यूलाई अनुरोध गरेको छु । पाँचखालको खेती योग्य जमिनमा नक्सापास पुर्ण रुपमा रोक्नु पर्यो । रोक्न सकेमात्रै सिंचाईको योजना ल्याउदा प्रभाव पार्छ । खेतमा घर बनाउन नक्सा पास गर्ने हो भने सिंचाईको योजना ल्याउनु र नल्याउनुमा कुनै फरक छैन । पाँचखालको सिंचाईको बारेमा नगर प्रमुख महेश खरेल, नि—वर्तमान मन्त्री गोकुल बाँस्कोटा, प्रदेश सांसद लक्ष्मण लम्सालसंग कुरा भएको छ ।

    अन्तमा केही भन्न चाहनु हुन्छ की ?

    खासै भन्ने कुरा त भने सके , हामीले कर्तव्य पुरा गरेका हौं । त्यति ठुलो काम गर्न सकेका छैनौ । जन्मदिने आमा र जन्मभूमी प्रति जुन हाम्रो दायित्व हो, कर्तव्य हो सो पुरा गर्ने क्रममा छौं । कर्तव्य पुरा गर्ने क्रममा त्यतिखेरको नगरविकास समितिका अध्यक्ष अर्जुनप्रसाद सापकोटाको योगदान झनै अविस्मरणिय छ । बृहत खानेपानीको बिषयमा पहिलो बैठक नगरविकास अध्यक्ष सापकोटाकै अध्यक्षतामै वसेको थियो ।

    ०७२ को महांभुकम्पले थिल्थिलो पारेको अवस्थामा पाँचखालको समस्यालाई मध्यनजर राख्दै साझामञ्चको माध्यमबाट अगाडी बढियो । बृहत खानेपानीको लागि पहिलो सर्वे गर्ने क्रममा नगरपालिकाका कार्यकारी अधिकृत बासु भेट्वालले गाडी उपलब्ध नगराउंदा भाडाको गाडीको माध्यमबाट पहिलो सर्वे गरीयो । बृहत खानेपानीको लागि धेरैको उच्च योगदान रहेको छ । पाँचखालको भविस्यसंग जोडिएको बृहत खानेपानी योजना सफल गराउनको लागि लामबद्ध हुनु भएका सम्पुर्ण शुभचिन्तकहरु, संघ संस्थाहरु, संञ्चारकर्मीहरु लगायतले सघाउनु भयो उहाँहरु सवै प्रति आगामी दिनमा पनि पाँचखालको हितको खातिर आउने योजनाहरुमा यसैगरी सघाउनको निम्ति हार्दिक अपिल गर्न चाहन्छु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार