२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

सहकारीलाई अनुमति दिने निकाय सजायको भागिदार हुनुपर्छ, रकम सङ्कलन गरी फरार हुनुको पहिलो कारण स्थानिय तह हो


९५३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ फागुन १७, मंगलबार मा प्रकाशित २ साल अघि
  • प्रभुराम कोईराला
    बनेपा शाखा प्रमुख
    आर्थिक बिकास मित्र बचत तथा ऋण सहकारी संस्था

    साविक अनैकोट गा.बि.स वडा नं ४ हाल पाँचखाल नगरपालिका वडा नं २ मा पिता राजाराम कोईराला तथा माता सरस्वती कोईरालाको कोखबाट २०३९ साल श्रावण १३ गते जन्मनु भएका प्रभुराम कोईराला सामाजिक सेवामा रुचि राख्ने स्वभावको हुनुहुन्छ । सामाजिक क्षेत्रमा कार्य गर्ने साथै सहकारीको माध्यमबाट समाजमा आर्थिक समृद्धि ल्याउन सकिन्छ भन्ने उद्देस्यका साथ आफ्नो अध्ययनको समयमा समेत निरन्तर सहकारीमा लाग्नुभएका कोईराला हाल आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको बनेपा शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ ।

    भ्रक्रमदेवि प्र.वि.बाट क.ख.रा सुरुगरी सर्वमंगला माबिबाट एस.एल.सि उत्रिर्ण गर्नुभएका कोइरालाले चैतन्य क्याम्पसबाट उच्च शिक्षा हासिल गर्दै स्नाकत्तोर सम्मको शिक्षा हासिल गर्नुभएको छ । २०६० सालबाट सहकारी क्षेत्रमा रुची राख्दै आर्थिक विकास बचत तथा ऋण सहकारी संस्थाको संस्थापक सदस्यको रुपमा सहकारीमा आबद्ध हुदै सहकारीका विभिन्न अभियानमा लाग्नुभएका कोईराला सहकारी क्षेत्रको लामो अनुभवका साथ हाल आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको बनेपा शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनु भएको कोइरालासंग समाजमा सहकारीको भुमिका के—कस्तो रहन्छ भन्ने बिषयमा सम्पादक इश्वरी राजकुमार मैनालीसंग भएको कुराकानी अंश ।

    तपाई आर्थिक बिकास मित्र बचत तथा ऋण सहकारी संस्थाको बनेपा शाखा प्रमुखको हैसिएतले भन्नु पर्दा सहकारीहरुले मुलुकको आर्थिक क्षेत्रमा के—कस्तो टेवा पुर्याएको छ ?

    समग्ररुपमा सहकारीहरुले कस्तो योगदान पुर्याएको छ भन्ने बिषय सवै विदितै छ, राज्यले लिएको तीन खम्बे नीतिको अवधारणा अनुसार सहकारीलाई एक खालको स्पेस दिएपछि ग्रामिण क्षेत्रमा रहेका छरिएर रहेको पुँजीहरुलाई एककृत गर्दै अगाडी बढेको छ । विगतको तुलनामा सहकारी क्षेत्रलाई समुदाएको दृष्टिकोण सकारात्मक रहेको छ । सहकारीहरुले राज्य सञ्चालन गर्नको नीम्ति ठुलै योगदान पुर्याएको छ जस्तो मलाई लाग्छ । सहकारीहरुले रोजगारीको अवसर दिनाको साथै बचत गर्ने बानिको बिकास समेत भएको छ , ग्रामिण क्षेत्रको घरघरमा गएर पैसालाई व्यवस्थीत गर्नुपर्छ बचत गर्नुपर्छ भन्ने ढंगको चेतना सहकारीहरुले दिदै आएको छ ।

    आर्थिक बिकास मित्र बचत तथा ऋण सहकारी संस्थाको स्थापनाकाल देखि हालसम्मको अवस्था कस्तो रहेको छ ?

    आर्थिक बिकास मित्र बचत तथा ऋण सहकारी संस्था स्थापना हँुदा सहकारी मार्फत ग्रामिण बस्तिमा सेवा दिने ढंगको कार्य भरखर भरखरै सुरु भएको थियो । जुन समयमा हामीले पाँचखाल र आसपासको क्षेत्रभित्रका व्यक्तिहरुले सहजरुपमा आर्थिक कारोबारलाई आफ्नो पहुंचमा राख्न नसकेको अवस्थामा सहकारी स्थापना गरी सेवा दिने उद्देस्यका साथ अगाडी बढेका थियौं । जुन समयमा मुलुकमा चलेको द्वन्दले गर्दा स्थानिय स्तरमा भएका बैंकहरु विस्थापित भएको अवस्था थियो । पाँचखाल र आसपासका क्षेत्रमा भएका बैंकहरु पनि समरमुकाम केन्द्रित भएको समयमा स्थानिय स्तरमा बसोबास गर्नेहरुलाई आर्थिक कारोबार गर्न समस्या भएको ठहर गर्दै संस्था सञ्चालन गरेको हो । त्यतिखेरको लक्ष भनेको ग्रामिण स्तरमा बसोबास गर्ने मान्छेहरुको सानासाना पुँजिहरुलाई एकिकृत गरेर जम्मा गरेर आफुहरुलाई आवश्यकता पर्दाको अवस्थामा आफ्नो गर्जो टार्ने कार्यमा सहयोग पुगोस भन्ने हेतुले संस्था सञ्चालन गर्ने निर्णय गरेका हौं । संस्था सञ्चालन गर्नुको प्रमुख उद्देश्य भनेकै ग्रामिण बस्तिका पिछडिएका व्यक्तिलाई आर्थिक समृद्धि गराउदै पिछडिएका बर्गलाई उठाउने जुन उद्देस्यले अगाडी बढेका थियौं सोही उद्देस्यलाई निरन्तरता दिदै आएका छौं ।

    आर्थिक बिकास मित्र बचत तथा ऋण सहकारी संस्थाको हालको अवस्था कस्तो छ ?

    स्थापना कालमा हामी ३२ जना संस्थापक सदस्यहरुको संलग्नतामा संस्थाको सुरुवात गरेका थियौं । पाँचखाल र आसपासको स्थानमा कृयासिल रहेका व्यक्तिहरुको संलग्नतामा सुरुवात गरेका थियौं । जुन समएमा सहकारीको नीति नियम संगत ५ गा.बि.स कार्य क्षेत्र रहनेगरी कार्य गर्दै आएका थियौं । हाल आएर मित्र बचत तथा ऋण सहकारी संस्था र अर्थिक बिकास बचत तथा ऋण सहकारी संस्था एकिकृत (मर्च) भएपछि काभे्र जिल्लाभर कार्यक्षेत्र भएको छ ।
    हालको अवस्था सम्म आईपुग्दा १३ हजारको हाराहारिमा शेयर सदस्यहरु रहनुभएको छ । हाल १८४५ जनालाई लगानि गरेका छौं, शेयर पुँजि ७ करोड ३९ लाख ७५ हजार १ सय रहेको छ । कर्जा लगानी ७० करोड ३८ लाख ३० हजार २२८ रहेको छ । कुल बचत ५५ करोड ३८ लाख २६ हजार ८ सय ३७ रहेको छ ।

    पछिल्लो समयमा धेरै सहकारीहरुले शेयर सदस्यहरुको रकम कुम्ल्याएर भाग्ने क्रम बढेको छ, पाँचखालमा पनि केही सहकारीहरु भागेको सुन्नमा आएको छ । यस्तो जटिल अवस्थामा शेयर सदस्यहरुलाई कस्तो सुझाव दिन चाहनु हुन्छ ?

    यकदमै समय सान्दर्भीक बिषयको उठान गर्नुभयो । पछिल्लो समयमा यदाकदा घटनाहरु सुनिन आएको छ । सहकारी संस्था लहरवाजि, होडबाजीमा सञ्चालन गर्ने देखिन्छ । आधारभुत रुपमा जनताहरुसंग नजोडिईकन सञ्चालन गर्ने र त्यस्ता सहकारीको बिषयमा नबुझिकन आवद्धहुंदा समस्या आएको पाईन्छ । सहकारीमा आबद्धहुनु पहिला सहकारीका संञ्चालक, उदेस्य, कार्यक्षेत्र, कस्तो प्रकारको सेवा प्रदान गरेको छ ? लगायतका बिषयमा नबुझिकन अस्वस्थ प्रतिस्दर्धामा खुलेका केही सहकारी संस्थाहरु जसले शेयर पुँजीलाई व्यवस्थित गर्न सकेको हुँदैन, समुदायप्रति उत्तरदायि हुंदैन साथै नितान्त सिमित व्यक्तिहरुले व्यवसायिक ढंगबाट संञ्चालन गर्नु, शहकारीले सङ्कलन गरेको रकम उत्पादनमुलक क्षेत्रमा लगानी नगर्नु जस्ता कार्यले केही सहकारी संस्थालाई अप्ठेरो परेको पाईन्छ ।

    केहिकेहि सहकारी कर्मी भनेर नितान्त रुपमा सहकारी कर्मी नभईकन व्यवसायिक मान्छेहरुले सहकारी खोल्ने केहि रकम सङ्कलन गर्ने र हिनामिना गर्ने र फरार हुने घटनाहरु घटेका छन् । त्यस्तो हुनुको प्रमुख कारण राज्यले नियन्त्रित गर्न नसकेको कारणले गर्दा पनि यस्ता खालका घटनाहरु घटेका छन् । त्यसैले सहकारीमा आबद्धहुनु पुर्व सहकारीको बारेमा मसिनु ढंगबाट बुझेर मात्रै आबद्ध हुन जरुरी रहन्छ ।

    पाँचखालमा शाखा कार्यालय खोलेर सञ्चालन भएका सहकारीहरु भागेका छन्, स्थानिय तहले अनुमति नदिदा सहकारीले शाखा सञ्चालन गर्न पाउंदैन, यसरी बिना सुझबुझ अनुमति दिने बिषयलाई तपाई के भन्नु हुन्छ ?

    धन्यबाद, सहकारीहरुले शाखा सञ्चालनको लागि स्थानिय तहमा निवेदन गर्दा सो सहकारीको बारेमा राम्रोसंग अध्ययन नगरी अनुमति दिदा समस्या आउन सक्छ । निवेदन दिनासाथ सो सहकारी संस्थाको गतिबिधि साथै सञ्चालकको बिषयमा ध्यानपुर्वक अध्ययन नगरी अनुमति दिदा समस्या आउन सक्छ । कुनै सहकारीलाई अनुमति दिदा जनताहरुलाई के कस्ता फाईदा पुग्छ भन्ने बिषयमा ध्यान दिन जरुरी रहन्छ । स्थानिय तहमा केन्द्रिय कार्यालय रहेर सञ्चालन भएका सहकारीहरुले राम्रोसंग सुबिधा दिएको छ भने किन अन्य सहकारीलाई शाखा सञ्चालन गर्ने अनुमती ? स्थानिय तहले शाखा सञ्चालनको लागि निवेदन दिदा कुनै वास्तै नगरी अनुमति दिदा जस्तापनि सहकारी भित्रने लोभलालच देखाउने, सहकारी अभियानले तोकेको व्यनजदर भन्दा माथि व्याजदर दिएर लोभको भरमा पैसा सङ्कलन गर्ने सहकारी संङ्काको दायरामा पर्नु स्वभाविकै हो । विना सुझबुझ अनुमति दिनाको कारण जटिल समस्या आएको हो ।

    त्यसरी हचुवाको भरमा शाखा सञ्चालन गर्ने अनुमति दिएका सहकारीले आर्थिक सङ्कलन गरी फरार हुँदाको अवस्थामा अनुमति दिने निकाय सजायको भागिदार हुनु पर्छकि पर्दैन ?

    जस्ले शाखा सञ्चालनको लागि अनुमती दियो उ सजायको भागिदार हुनुपर्छ । पाँचखालमा सहकारीको शाखा सञ्चालन गर्दै नगरवासिको रकम सङ्कलन गरी फरार हुनुको पहिलो कारण स्थानिय तह हो । सहकारीले गर्दै आएको गतिबिधिको बारेमा नगरले चासो दिएको भए नगरवासिको रकम डुब्ने थिएन । नगरपालिकाको कार्यलयबाट २ सय मिटरको दुरीमा रहेको उक्त सहकारीले तेत्रो लुट मच्चाउनु चानचुने कुरो होईन । किनभने जस्ले हाम्रो नगरमा काम गर्न अनुमति छ भनेर अनुमति प्रदान गर्छ सो अनुमति दिनु भनेको नगरवासिहरुको जिम्मेवारी लिनु हो । नगरमा रहेर कारोबार गरिरहंदा सहकारीलाई सघाउने अनि भागेपछि मौन बस्नु राम्रो होईन । वास्तबमा नगरले आफ्नो दायित्व पुरा गर्ने हो भने नगरवासिको लुटिएको रकम जे—जुनसुकै अवस्थामा अशुल उपर गर्न जरुरी रहन्छ ।

    तिखेरको समय मुलुकमा आर्थिक अभाव भएको छ, ठुला ठुला बैंकहरुमा पनि तरलता अभावले गर्दा लगानी गर्न नसकेको अवस्थामा तपाई आबद्ध सहकारीमा आर्थिक तरलता अवस्था कस्तो रहेको छ ?

    समग्रमा भन्नुपर्दा राज्यमै आर्थिक अप्ठेरो परेको समएमा हामिपनि अछुतो त हुन नसकिएला तर पनि अरुहरुको जस्तो समस्या म आबद्ध सहकारीमा छैन । हामीले नियमित रुपमा लगानी गरीरहेका छौं, हामीले पैसा छैन लगानी गर्न सक्दैनौ भन्ने अवस्था छैन । आर्थिक विकास मित्र वचत तथा ऋण सहकारीमा किन आर्थिक अभाव हुदैन भने—हामी जति सदस्यहरुसंग आर्थिक कारोबार गरीरहेका छौं,उहाँहरुको हामीले विस्वास जितेका छौं । जस्ले गर्दा नियमित रुपमा बचत आउने तथा निएमित आर्थिक कारोबार हुदै आएको छ । हामीले आर्थिक कारोबार गर्ने प्रमुख क्षेत्र भनेको जतिसुकै ठुलो आर्थिक अभाव हुंदापनि समस्या नपर्ने क्षेत्रमा कारोबार गरेकोले समस्या छैन र हुदैन ।

    काभ्रेको व्यापारीक केन्द्र बनेपामा शाखा खोलेर अगाडी बढ्नुको प्रमुख उद्देस्य के हो ?

    काभे्रको व्यापारीक केन्द्रको रुपमा रहेको बनेपामा शाखा सञ्चालन गर्नुको प्रमुख उद्देस्य भनेको संस्थामा आवद्ध शेयर सदस्यहरुको हितको खातिर हो । व्यापारीक केन्द्रको नाताले बनेपामा आर्थिक कारोबार गर्नुपर्ने शदस्यहरुको सजिलोको लागि शाखा सुरुगरेको हौं । हाम्रो संस्थाको प्रमुख उद्देस्य भनेको शेयर सदस्यहरुको हित साथै सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउने हो सोही अनुसार अगि बढेका छौं । हामीले बनेपामा मात्र नभएर कुन्तामा पनि शाखा सञ्चालन गरेका छौं । सदस्यहरुको सुझावलाई मध्यनजर राख्दै केही समयपछि पनौती र भकुण्डेमा समेत शाखा खोल्ने तयारी गर्दै छौं ।

    तपाईको सहकारी क्षेत्रमा भएको लामो अनुभवको आधारमा सहकारी क्षेत्रमा गर्नुपर्ने सुधारहरु के छ जस्तो लाग्छ ?

    सहकारीका पनि आ—आफ्नै किसिमका सेक्टरहरु रहेका छन् । हामी बचत तथा ऋण सहकारीको कुरा गरीरहेका छौ, बचत तथा ऋण सहकारी भित्रका सहकारीले आफ्नो जुन उद्देस्य हो सोही अनुसार कार्य गर्न जरुरी रहन्छ । जुन उद्देस्यले संस्था दर्ता गरिन्छ सोहि उद्देस्य अनुसार कार्य नगर्दा केही समस्या देखिएका छन् । सुधार गर्नुपर्ने कुराचाही के छ भने—जस्ले जुन जिम्मेवारी लिएको छ, उसले आफ्नो जिम्मेवारी पुर्ण गर्न जरुरी रहन्छ । अन्य कुराहरुमा चाही सहकारी सञ्चालन गर्नको लागि निवेदन दियो निवेदनको आधारमा अनुमति जस्ले दिन्छ उसले नियमन गर्न जरुरी रहन्छ । सहकारी खोल्नुस जनतासंग पैसा उठाउनुस भनेर अनुमति दिएपछि कुन सहकारीले के गरीरहेको छ ? कुन अवस्थामा छ ? भनेर जुन निकाएले हेर्नुपर्ने हो त्यो निकाएले नहेर्दा केहि केहि बिकृतिहरु देखिएका छन् । यस्तो बिकृतिलाई सम्बन्धित निकाएले अनुगमन गर्न जरुरी छ । सहकारी किन खोल्ने ? केका उद्देस्यले खोल्ने ? भन्ने बिषयको अध्ययन बिना अनुमति दिनुहुन्न ।

    पछिल्लो समयमा सहकारीहरुले कार्ययोजना निर्माण गर्दा, समिक्षा, नीति निर्माण गर्दा तारेहोटलमा बसेर तामझामका साथ गर्ने कार्यलाई तपाई के भन्नु हुन्छ ?

    सहकारीहरुले आफ्नो नीति नियम साथै कार्ययोजना निर्माण गर्दा तामझामका साथ ठुला होटलहरुमा धेरै खर्च गर्नु नितान्त गलत कार्य हो । संस्थाले शेयर सदस्यको नीम्ति केही काम गर्दै हुनुहुन्छ भने न्युनतम खर्चमा खर्चनगरीे अभियानहरु गर्न उपयुक्त हुन्छ । हामिले पैसा कमाएका छौं हाम्रो सहकारी यस्तो राम्रो छ भनेर केही संस्थाहरुले प्रतिस्दर्धात्मक हिषावले ठुलाठुला होटलहरुमा जाने ( जस्तै काभ्रेका संस्थाहरु पोखराको महंगा होटलमा बस्ने) गरेको भन्ने सुन्नमा आएको छ । त्यो चाही के हो भने नितान्त रुपमा त्यसको उद्देस्य र कार्यमा फरक पर्छ । अनि केही संस्थाहरुले चाहि केभन्छन भने अलिकता रिफ्रेसमेन हुनुपर्छ भन्ने ढंगले परिभाषित गरेका छन् । तर सो कार्य मेरो बिचारमा गलतनै गरेको जस्तो लाग्छ ।
    किनभने संस्थाले गर्ने बार्षिक समिक्षा लगाएतका अन्य कुराहरु गर्नुपर्दा संस्थाको कार्यक्षेत्र भित्र सामान्य ढंगबाट कम खर्चिलो तरिकाले गर्दा नै सदस्यहरुको हित हुन्छ ।

    संस्थामा जिम्मेवारी लिनेहरु राजनीतिक क्षेत्रमा अग्रसरता हुनु हुन्छ की हुनुहुन्न भन्ने बिषयमा तपाईको तर्क के छ ?

    कुनैपनि सहकारी संस्थामा सवै प्रकारका धर्म, संस्कृति, सवै प्रकारका बिचार बोकेका व्यक्तिहरु सहभागि भएका हुन्छन् । त्यस्तो पबित्र स्थानमा रहेर जिम्मेवारी वहन गर्ने व्यक्तिहरु राजनीतिक क्षेत्रमा अग्रसरता रहनु राम्रो होइन । हामी बहुदलीय प्रतिस्पर्दाको समाजमा छौं, धेरै किसिमका दलहरु रहेका छन्, सवैको एकै प्रकारको बिचार नहुन सक्छ तर विचार फरक छ भन्दैमा हामिले देखाउने ठाउ र गर्ने कृयाकलापमा फरक हुनु पर्छ । हामी जाहाँ आवद्ध छौं सो स्थनमा रहिरहंदा सामाजिक संस्थाको नाताले निस्पक्षताको अनुभुति सवैले गर्न पाउनु पर्छ । विचार आ—आफ्नो हुन सक्छ तर राजनीतिक प्रभाव नपर्नेगरी कार्यगर्न जरुरी रहन्छ । संस्थामा राजनीतिक प्रभाव नपार्ने ढंगको व्यक्तिले संस्थाको नेतृत्व गर्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्दछ ।

    अन्तमा संस्थाको शेयर सदस्यहरुलाई के कस्तो सुझाव दिन चाहानु हुन्छ ?

    आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाका सम्पुर्ण शेयर सदस्यहरु धन्यबादका पात्र हुनुहुन्छ । किनभने हामि भनेको संस्थामा आबद्ध शेयर सदस्यहरुको गोठालो मात्रै हो । वास्तबमा संस्थाको धनि भनेको शेयर सदस्यहरुनै हो । उहाँहरुकै कारणले गर्दा यो संस्था पाँचखाल र आसपासको क्षेत्रमा अग्रणि स्थान ओगट्न सफल भएको हो । सुख दुखमा उहाँहरुकैं साथ सहयोग रहेको छ, हामिलाई उहाँहरुले नै रक्षकको रुपमा राख्नु भएको छ सोही ढंगबाट हामी अगाडी बढेका छौं । उहाँहरुको भावनालाई साथै उहाँहरुको सम्पतिलाई रक्षा गर्नुपर्ने हाम्रो दायित्व छ ।

    राज्यनै आर्थिक संकटमा परेको समयमा परेको अवस्थामा पनि शेयर सदस्यहरुले धेरै मायाँ गरेकै कारण संस्थामा आर्थिक को कुनै समस्या छैन । उहाँहरुले यो समएमा अन्यत्र (बैंकहरुमा) गर्ने आर्थिक कारोबारलाई चटक्कै छोडेर आफ्नै संस्थालाई जोगाउनु पर्छ भन्ने अभियानमा लाग्नु भएको छ । हामी रक्षकहरुको साथमा रहेर हामीलाई सकारात्मक कार्य गर्ने मार्गमा निरन्तरता हिडाउनुहुने संस्थाका सम्पुर्ण शेयर सदस्यहरुको मायाले गर्दा हामीलाई हौसला मिलेको छ, त्यसैले उहाँहरुलाई धन्यबाद भन्दै उहाँहरुले देखाएको मार्गलाई पहिल्याईरहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार