२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

आ.व. ०७९/०८० को तेमालको नीति तथा कार्यक्रम


६३९४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र ११, शनिबार मा प्रकाशित १ साल अघि
  • तेमाल गाउँपालिकाको एघारौं गाउँसभामा गाउँपालिकाका अध्यक्ष श्री चन्द्र बहादुर तामाङ ज्यूले प्रस्तुत गर्नु भएको आ.व.०७९/८० को नीति तथा कार्यक्रम

    आदरणीय सदस्यज्यूहरु

    १. सङ्घीय लोकतन्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट लोकतन्त्रका आधारभूत मूल्य मान्यताको सम्मान, मानव अधिकारको संरक्षण र सुशासन कायम गर्नका लागि देशले लिएको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई आत्मसात गर्दै तेमाल गाउँपालिकाले लिएको ‘समृद्ध र सुन्दर तेमालको दीर्घकालीन सोच पुरा गर्नेतर्फ प्रतिवद्ध रही यस गाउँपालिकाका आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछु । यस महत्त्वपूर्ण घडीमा नेपालको राष्ट्रियता, अखण्डता, स्वाधीनता र लोकतन्त्र प्राप्तिको अभियानमा नेतृत्व प्रदान गर्ने हाम्रा वीर पुर्खा, अमर सहिद तथा अग्रजहरूप्रति उच्च सम्मान व्यक्त गर्दै सामाजिक आर्थिक रूपान्तरणमा उहाँहरूले पुयाउनु भएको योगदानको स्मरण गर्न चाहन्छु।

    २. नेपालको राज्य पुनःसंरचना पछि सम्पन्न भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचन पश्चात् तेमाल गाउँपालिकाका तर्फबाट पहिलो गाउँ सभामा पहिलो पटक नीति, तथा कार्यक्रमहरु प्रस्तुत गर्न यस गरिमामय गाउँसभामा सम्बोधनका लागि उपस्थित हुन पाउँदा गौरव महसुस गरेको छ। नेपालको संघीय संरचना अन्तरगत जनतासँग प्रत्यक्ष र नजिकबाट सरोकार राख्ने स्थानीय तहको महत्व, भावना र सार्थकता सम्पूर्ण सर्वसाधारणमा समेत वोध गराउने यो सुखद समयलाईको सदुपयोग गर्न चाहन्छु।

    ३. यस अवसरमा गाउँपालिकाका समृद्धि र विकासका प्रयासहरुमा हरदम साथ र सहयोग गर्नका
    कार्यपालिकाका सदस्यज्यूहरु, गाउँसभाका सम्पूर्ण सदस्य ज्यूहरु, राजनैतिक दलहरु तथा नागरिक समाज, सरकारी तथा गैर सरकारी निकायहरु, गाउँपालिकाको सम्पूर्ण कर्मचारीहरु एवम् यस सभाका शक्तिका स्रोत तेमालवासी सम्पूर्ण आदरणीय आमा-बुबा, दाजु-भाइ तथा दिदी-बहिनीहरुमा हार्दिक अपिल गर्दछु ।

    उपस्थित गाउँसभा सदस्यज्यूहरु,

    अब म आगामी आर्थिक वर्ष २०७९ । ८० को लागी प्रस्तावित विषयगत नीति तथा कार्यक्रमहरु प्रस्तुत  गर्ने अनुमति चाहन्छु ।

    १. वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा अवलम्बन गरिएका प्रमुख नीति तथा आधारहरुः

    २.१ समग्र नीति तथा आधारहरुः

    आ.व. २०७९ । ८० को बजेट तर्जुमा गर्दा देहायका विषयहरुलाई प्रमुख नीतिगत मार्गदर्शनको रुपमा अङ्गिकार गरिएको छः

    १. नेपालको संविधानले स्पष्ट गरेको स्थानीय तहको काम, कर्तव्य तथा अधिकार सम्बन्धी प्राथमिकताहरु ।

    २. स्थानीय सरकार संचालन ऐन, २०७४ ले तय गरेको नीतिगत व्यवस्था र प्राथमिकताहरु ।

    ३. अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले गरेको नीतिगत व्यवस्थाहरु ।

    ४. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ ले तोकेको नीतिगत व्यवस्था र प्राथमिकताहरु ।

    ५. स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४ ले निर्दिष्ट गरेको आर्थिक योजना तथा बजेट तर्जुमाका आधारहरु ।

    ६. संघिय तथा प्रदेश सरकारले जारी गरेका नीतिगत, कानूनगत मापदण्डहरु ।

    ७. पन्ध्रौ योजनाले तय गरेका लक्ष्य एवं उद्देश्यहरु ।

    ८. दिगो विकासका लक्ष्यको रणनीतिले अङ्गिकार गरेका लक्ष्य, सूचक एवं प्राथमिकताहरु र विकाससंग अन्तरसम्बन्धित विषयहरु ।

    ९. गाउँपालिकाको आन्तरिक स्रोत र साधनहरु ।

    १०. जनतासंग गरिएका प्रतिवद्धता र विकाससंग सम्बन्धित भएर सार्वाजानिक रुपमा गरिएका उदघोषहरु ।

    २.२ क्षेत्रगत नीति तथा आधारहरुः

    (क) आर्थिक विकास सम्बन्धी नीति तथा कार्यक्रमहरुः

    १. तेमालको पहिचान र आर्थिक स्रोतको मुहानको रुपमा रहेको बोधिचित्त मालाको खेती प्रबर्द्धनमा जोड दिनुका साथै माला निकासीमा सरल र सहज व्यवस्था मिलाइनेछ ।

    २. उर्बरायुक्त जमिनको सदुपयोग गरी कृषि क्षेत्रको प्रवर्द्धनका लागि लिफ्टिङ सिंचाईको थप व्यवस्थालाई निरन्तरता दिइनेछ ।

    ३. पशुस्वास्थ्यको प्रवर्द्धनका लागि पशुखोपको व्यवस्थालाई निरन्तरता दिइएको छ ।

    ४. कृषिको विविधिकरण गर्दै सहज लाभको व्यवस्था गर्न हावापानी सुहाउदो फलफुल खेतीका लागि फलफुलको विरुवा वितरण कार्य निरन्तरता गरिनेछ ।

    ५. कृषकको सहभागिता र साझेदारीमा माटो परिक्षण तथा माटो उपचार कार्यक्रम सञ्चालन गरिनेछ ।

    ६. पशुपालक कृषकलाई विशेष अनुदान र लक्षित वर्गलाई बाखा वितरण कार्यक्रमका साथै तालिमको समेत व्यवस्था गरिनेछ ।

    ७. एक वडा एक प्राविधिक कार्यक्रमलाई कृषकहरुको समूहमा आबद्ध गरी कृषिको व्यवसायिकरण गरिनेछ ।

    ८. कृषि उपजका लागि पकेट क्षेत्रको विकासमा जोड दिइनेछ ।

    ९. तेमाल गाउँपालिकाको सवै वडामा तरकारी तथा फलफुल खेतीको सम्भाव्यता अध्ययन गरी व्यवसायिक खेतीलाई प्रवर्द्धन गरिनेछ ।

    १०. पशुपालनलाई व्यवसायीकरणको लागि किसानहरुलाई ज्ञान, सीप तथा प्रविधि हस्तान्तरण गरी
    उत्पादकत्व बढाउने नीति लिईनेछ ।

    ११. कृषक समूहहरुलाई कृषि तथा पशुसेवा सम्बन्धी आधारभूत सेवा प्रवाह सेवा केन्द्र मार्फत वडा वा बस्तीबाटै गरिने नीति लिईनेछ ।

    १२. किसानलाई मलको अभाव हुन नदिन गाउँपालिका क्षेत्र भित्र रहेका सहकारीसंग समन्वय गरी अनुदानमा मल विउ विजन वितरण गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।

    पर्यटन विकास तर्फ देहायको नीति अवलम्वन गरिनेछः

    १. तोमसोङ्ग कुण्ड, घेलुङ्ग पहरा, नारायणस्थान मन्दिर लगायतका ऐतिहासिक एवं महत्वपूर्ण मठ मन्दिर गुम्बाहरुको संरक्षण तथा उपयोगलाई सम्बन्धित क्षेत्रको आय आर्जनसंग अन्तरसम्बन्धित गर्ने नीती लिइनेछ ।

    २. तेमालमा पर्यटन प्रवर्द्धनका लागी तेमाल रोसाइवा तामाङ संस्कृतिको डम्फु पार्क निर्माण, ठूलोपर्सेलमा पञ्चबुद्व निर्माण, तेमाल दोर्जे घ्याङमा दोर्जे निर्माण र तेमाल-७ मा तामाङ संग्राहलय निर्माण गरिसकेको तथा थप पर्यटन विकास तथा पर्यटन प्रवर्द्धनका लागि सार्वजानिक, नीजि, सहकारी एवं सामूदायिक क्षेत्रहरुसंग साझेदारी एवं सहकार्य गरी यसबाट प्राप्त लाभहरु आम जनतासम्म पुर्याइनेछ ।

    ३. यस गाउँपालिका क्षेत्र भित्र होटल, रिसोर्ट एवं होमस्टेको सम्भाव्यता बोकेका क्षेत्रहरुको पहिचान गरी स्थानीय संस्कृति, खानपान एवं उत्पादकत्वको आधारमा होटल, रिसोर्ट एवं होमस्टे प्याकेज संचालन गरिनेछ ।

    (ख) सामाजिक विकास तर्फका नीति तथा कार्यक्रमहरुः

     शैक्षिक नीति तथा कार्यक्रमहरुः

    १. शिक्षा पूर्वाधारको पनि पूर्वधार हो भन्ने विषय तेमाल गाउँपालिकाले निःसर्त स्वीकार गरेको विषय हो । शिक्षाको विकास विना अन्य कुनै पनि विकासको ढोका खुल्दैन तसर्थ शिक्षाको विकासको लागि देहायको नीति अवलम्बन गर्ने व्यवस्था मिलाएको छुः नेपाल सरकारले घोषणा गरेको सार्वजनिक शिक्षा सवलीकरण दशक (वि.सं. २०७६-२०८५) मा गुणस्तरीय शिक्षण सिकाइको वातावरण निर्माण गर्न सबै सामुदायिक विद्यालयहरुमा विषयगत रुपमा शैक्षिक सामग्री व्यवस्थापनका लागी आवश्यक स्रोत उपलब्ध गराइनेछ ।

    २. विद्यार्थी सङ्ख्या र भूगोलका आधारमा सामुदायिक विद्यालयको मूल्याँकन गरी शिक्षक दरबन्दी मिलान तथा विद्यालय समायोजनको कार्य अगाडि बढाइनेछ ।

    ३. संविधान प्रदत्त माध्यामिक तहसम्मको शिक्षाको व्यवस्थापन गर्नको लागि संघिय शिक्षा नीति एवं मापदण्डको अधिनमा रही आवश्यकता अनुसार स्वीकृत भई लागू भईसकेका नीति, ऐन, नियमावली तथा कार्यविधि वा निर्देशिका परिमार्जन गरेर वा नयाँ नीति, ऐन, नियमावली तथा कार्यविधि वा निर्देशिका निर्माण गरेर शिक्षा क्षेत्रलाई व्यवस्थापन गर्दै गुणस्तरिय शिक्षा सुनिश्चित गरिने नीति लिइनेछ ।

    ४. तेमाल गाउँपालिका अन्तर्गत सञ्चालित बाल विकास केन्द्रको नियमित अनुगमन गरी बालमैत्री सूचक बमोजिम सञ्चालन हुने व्यवस्थालाई निरन्तरता दिइनेछ ।

    ५. न्यायोचित वितरण प्रणालीका आधारमा बालविकास केन्द्रलाई शैक्षिक समाग्री वितरणको व्यवस्था र बाल विकास सहयोगी कार्यकर्तालाई तालिमको व्यवस्था मिलाईनेछ ।

    ६. प्राथमिक तह उमेर समूहका सवै बालबालिकाहरुलाई विद्यालय प्रवेश गराई गुणस्तरिय शिक्षाको पहुँच अभिवृद्धि गर्ने स्टेशनरी सहयोग तथा अन्य विविध कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

    ७. शैक्षिक गुणस्तरमा सुधार गरी शिक्षकहरुलाई थप विषयवस्तुको अभिबृद्धि गराउन तहगत र विषयगत छोटो अवधिको तालिमको व्यवस्था गरिनेछ ।

    ८. विद्यालयले प्राप्त गरेको शैक्षिक नतिजाका आधारमा उत्कृष्ठ ठहरिएका विद्यालय, विद्यार्थी, कर्मचारी र विद्यालय व्यवस्थापन समितिलाई उचित पुरुस्कार प्रोत्साहन दिइनेछ ।

    ९. तेमालको भावी शैक्षिक कार्यदिशा निर्धारण गरी योजनाबद्ध ढंगले शिक्षा क्षेत्रलाई अघि बढाउन तेमाल गाउँ शिक्षा योजना निर्माण गरी कार्यान्व यनमा ल्याईनेछ ।

    १०. एक आपसमा समन्वयात्मक सूचना सम्प्रेषण र शैक्षिक गतिविधि संचालनका लागि आवश्यकता अनुसार प्रधानाध्यापकहरुको बैठक संचालन गरिनेछ ।

    ११. विद्यालयस्तरीय कार्यक्रम कार्यान्वयन, प्रवर्द्धन गर्न र शिक्षकलाई उत्प्रेरणा प्रदान गरी सकारात्मक सुझाबको नीति अवलम्बन गर्न विद्यालयको नियमित अनुगमनलाई जोड दिईनेछ । साथै सबै शिक्षकहरुलाई अभिभावकसंग नियमित सम्पर्क गर्नुपर्ने नीति लिइएको छ ।

    १२. विद्यालय व्यवस्थापन समितिले प्राज्ञिक वातावरण बनाउने र प्रधान अध्यापकले प्राज्ञिक परिणाम दिने गरी वडा शिक्षा समितिको समेत परिचालन गरिनेछ ।

    १३. प्रविधि मैत्री शैक्षिक वातावरण निर्माण गर्नका लागि कम्प्यूटर नभएका सवै विद्यालयहरुमा कम्प्यूटरको व्यवस्थापन गर्दै जाने, तहका सवै विद्यालयमा सिसि क्यामाराको माध्यमबाट नियमित अनुगमन गर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ ।

    १४. “तेमालको अभियान प्रतिभा पहिचान” कार्यक्रमलाई थप सुव्यवस्थित गरी विद्यालयका विद्यार्थीहरुको क्षमता र प्रतिभालाई थप प्रोत्साहित गरिनेछ ।

    १५. विद्यालयबाट सवै परीक्षाको सिकाइ उपलव्धी विश्लेषण गराई न्यूनतम सिकाई उपलब्धी कायम गर्दै थप शैक्षिक गुणस्तर सुधारका लागि शिक्षण सिकाई सुधार कार्यक्रम लागू गरिनेछ ।

    १६. विद्यार्थीहरुको अलग प्रतिभा पहिचानका लागि विविध सह क्रियाकलाप र खेलकुद प्रतियोगिता संचालन गरिनेछ ।

    १७. शिक्षालाई सिपसंग, सिपलाई श्रमसंग, श्रमलाई रोजगारीसंग, रोजगारीलाई उत्पादनसंग र उत्पादनलाई समृद्धिसंग जोडी सुखि र समृद्ध नेपालीको राष्ट्रिय परिकल्पना पुरा गर्ने दिशामा तेमाललाई अग्रसर गराउन सवैको सहमतीमा प्राविधिक धारको शिक्षालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिनेछ ।

    १८. शैक्षिक गुणस्तर सुधारका लागि विविध शैक्षिक गतिविधि तथा छोटो अवधिका तालीम, कार्यशाला र गोष्ठी संचालन गरिनेछ ।

    १९. निरन्तर शिक्षाका कार्यक्रम संचालनका लागि सामुदायिक सिकाई केन्द्रलाई परिचालन गरिनेछ ।

    खेलकुद सम्बन्धी नीति तथा कार्यक्रमहरुः

    १. गाउँपालिका स्तरीय खेलकुद समिति मार्फत खेलकुद विकासका कार्यक्रम संचालन गरिनेछ ।

    २. अन्तर वडास्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिता सञ्चालन गरि स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गरिनेछ ।

    ३. विद्यालयस्तरमा हुने खेलकुद तथा अतिरिक्त क्रियाकलापको वार्षिक कार्यतालिका निर्माण गरी खेलकुद र अतिरिक्त क्रियाकलापको संचालन गरिनेछ ।

    ४. गाउँपालिकाको गौरबको योजनाको रुपमा वडा नं.-७ चापाखोरी रंगाशाला एक राष्ट्रियस्तरको मापदण्ड पुरा हुने गरी खेल मैदान निर्माण गरिनेछ । साथै गाउँपालिका क्षेत्र भित्र रहेका अन्य खेल मैदानहरुको क्रमशः स्तर बृद्धि गर्दै एक वडा एक खेल मैदानको नीतिलाई निरन्तरता दिइनेछ ।

    ५. तेमाल गाउँपालिकाका राष्ट्रियस्तरका खेलाडीहरुको अभिलेख राखि त्यस्ता खेलाडीबाट स्थानीयस्तरको खेलकुद विकासको लागि सहकार्य गरिनेछ ।

    स्वास्थ्य तर्फको नीति तथा कार्यक्रमहरुः

    १. तेमाल गाउँपालिकाको पोखरी नारायणस्थानमा अस्पताल सेवा सुचारु गरिने छ ।

    २. तेमाल गाउँपालिकामा लक्षित समुहका सम्पूर्ण वालबालिका हरुलाई पूर्ण खोप लगाईने छ

    ३. गर्भवती महिलाहरुको लागि पौष्टिक आहाराको व्यवस्थापन गरिने छ ।

    ४. तेमाल गाउँपालिका अन्तर्गतका गर्भवती महिलाहरुलाई प्रसुति केन्द्रमा सुत्केरी गराए प्रश्चात यातायात लागि ऐम्बुलेन्स सेवा निशुल्क गरिने छ ।

    ५. तेमाल गाउँपालिका भित्रका गर्भवती तथा सुत्केरी महिलाहरुलाई जटिल समस्या भई अन्य अस्पतालमा रिफर गर्नुपर्दा ऐम्बुलेन्स सेवा निशुल्क गरिने छ ।

    ६. सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुलाई पोखरी नारायण्थान स्वास्थ्य चौकीमा रहेको ल्याबमा ए.एन् सि. प्याकेज परिक्षण निशुल्क गरिने छ ।

    ७. नसर्ने रोगहरुको पहिचान, उपचार र समुदायमा पुनस्थापना कार्यक्रम संचालन गरिने छ ।

    ८. तेमालका ४१ वटा सामुदायिक विधालयहरुमा विधालय स्वास्थ्य कार्यक्रम संचालन गरिने छ ।

    ९. स्वास्थ्यकर्मीहरुलाई अत्यावश्क तालिमको व्यवस्था गरी गुणस्तरीय सेवा प्रदान गर्न प्रोत्साहन गरिनेछ ।

    १०. तेमाल गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा टि.टि. खोप निशुल्क प्रदान गरिने छ ।

    ११. तेमाल गाउँपालिकामा रहेका गाउँघर क्लिनिक तथा खोप क्लिनिकलाई व्यवस्थित गरि गुणस्तरीय सेवा प्रदान गरिने छ ।

    १२. क्षयरोग निवारणको लागि बस्तीस्तरमा खकार परिक्षणको शिविर संचालनमा निरन्तरता दिईने छ ।

    १३. महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई प्रोत्साहन गरिने नीति लिईने छ ।

    १४. कुनैपनि बालवालिकाले कुपोषणको शिकार हुन नपरोष भन्ने नीतिलाई अंगीकार गरी ५ वर्षमुनिका कुषोषित बालबालिकाहरुलाई पौष्टिक आहाराको व्यवस्थापन गरिने छ ।

    १५. सबै स्वास्थ्य संस्थाहरुमा निशुल्क औषधीको व्यवस्थापन गरी गुणस्तरीय सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिईने छ ।

    १६. तेमाल गाउँपालिकामा बसोबास गर्ने सम्पूर्ण लक्षित समुहका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्ध खोप लगाईने छ ।

    खानेपानी तर्फको नीति तथा कार्यक्रमहरुः

    १. प्राणीको जीवन रक्षाको दोस्रो आधार पानी भएकोले खानेपानीको सुव्यवस्था गर्ने र सवै नागरिकमा शुद्ध पिउने पानीको सहज पहुँच विस्तार कार्यलाई निरन्तरता गरिनेछ ।

    २. स्थानीयस्तरमा रहेको पानीको मुहानहरुको संरक्षण, सम्बर्द्धन र प्रयोग गर्न तथा टोल वस्तीका पानीका परम्परागत मुहानहरुलाई स्वच्छ र सफा राख्न प्रत्येक वडा समितिको अगुवाईमा टोल विकास संस्था, सामुदायिक संघसंस्था तथा स्थानीय समुदाय परिचालन गर्ने नीति अवलम्बन गरिनेछ ।

    ३. संचालनमा रहेका खानेपानी योजनाहरुको दिगो संचालन, मर्मत सम्भार, क्षमता अभिबृद्धि तथा पुनः निर्माण जस्ता कार्य उपभोक्ताहरुको समेत लगानी तथा सहभागितामा संचालन गरी गराई आधारभुत खानेपानी सेवाको सुनिश्चितता गर्न र खानेपानी सेवा नपुगेको टोल वस्तीमा खानेपानी सेवा पुर्याउने कार्यको लागि योजना तथा कार्यक्रम पालिकाको आफ्नै लगानीमा र अन्य संघसंस्थाको साझेदारीमा संचालन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

    ४. टोल वस्तीमा रहेका सानातिना पोखरीहरु समुदायको अगुवाईमा संरक्षण गर्ने अभियान संचालनमा जोड दिइनेछ । सडक लगायत भौतिक पूर्वाधारहरुको निर्माण गर्दा गराउँदा पानीको मूल र स्रोतमा हुन सक्ने क्षतीलाई न्यूनिकरण गर्ने उपायहरु अवलम्बन गर्ने कार्यलाई कार्यमा जोड दिइनेछ   ।

    ५. तेमाल बृहद खानेपानी आयोजना समयमै सम्पन्न गर्न गाउँपालिकाको तर्फबाट अनुगमन एवं ध्यानाकर्षण गराईनेछ ।

    (ग) पूर्वाधार विकास क्षेत्रका नीति तथा कार्यक्रमहरुः

    • तेमाल गाउँपालिकाको केन्द्र जोड्ने तेमाल रेन्जेन दोर्जे मेच्छे-पौवा-खत्रीगाउँ-टेकानपुर माम्ति सडकलाई सडकको मापदण्ड अनुसार बाह्र महिना निर्वाध रुपमा सवारी साधन संचालन गर्न सक्ने गरी स्तरोन्नती गर्न प्राथमिकता दिइनेछ ।
    • गाउँपालिकाको स्थानीय सडक, रणनीतिक सडक, कृषि सडकहरुको वर्गिकरण गरी सडक सञ्जाललाई व्यवस्थित गरिनेछ ।
    • यातायात सुविधा तथा वडाहरुको भौगोलिक सन्तुलनको आधारमा क्रमशः बाह्र महिना संचालन गर्ने गरी स्तरोन्नती गर्नुका साथै ढलान र कालोपत्रे गर्ने तर्फ संघिय र प्रदेश सरकारसंग पहल गर्ने र गाउँपालिकाकै स्रोत परिचालन गरी कार्यान्वयन गर्ने निति लिइएको छ ।
    • वडा कार्यालयबाट गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई सडकको मापदण्ड अनुसार बाह्र महिना निर्वाध रुपमा सवारी साधन संचालन गर्न सक्ने गरी स्तरोन्नती गर्न प्राथमिकता दिइनेछ ।
    • विकासको मुख्य आधार सडक भएकोले तेमालको रणनैतिक योजनाको रुपमा राष्ट्रिय राजमार्गबाट तेमाललाई सहज रुपमा जोड्ने गरी सडक स्तरोन्नती गर्ने नीति लिइएको छ ।
    • भवन निर्माण तर्फ स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम गाउँपालिका क्षेत्र भित्र भवन निर्माणलाई व्यवस्थित गर्ने नीति लिइनेछ । साथै राष्ट्रिय भवन संहिता, २०६० बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड,२०७२ तथा भवन निर्माणको नमूना मापदण्ड, २०७१ लाई पालना गर्दै र गराउँदै गाउँपालिका क्षेत्रमा बस्ती विकास गर्ने नीति लिइनेछ ।
    • निर्मित पूर्वाधारहरुको नियमित मर्मत सम्भार, संचालन, संरक्षण एवं सम्बर्द्धन गर्न मर्मत सम्भार कोष स्थापना गरिनेछ । साथै पूर्वाधार निर्माणमा उपभोक्ता समितिहरुको प्रभावकारी परिचालन गर्ने नीति लिइनेछ ।
    • पूर्वाधार निर्माणको क्रममा पर्यावरणीय जोखिम तथा वातावरणीय प्रभाव मूल्याङ्कन गरेर मात्र स्वीकृती गर्ने निति लिइनेछ।

    (घ) वातावरण तथा विपद व्यवस्थापन सम्बन्धी नीति तथा कार्यक्रमहरुः

    वातावरण सम्बन्धी नीतिः

    • गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रको वनक्षेत्रमा बृक्षारोपण कार्यक्रम संचालन गरी वनक्षेत्रलाई बढाइने नीति अवलम्बन गर्नेछ ।
    • सडकको क्षेत्राधिकार भित्र बृक्षारोपण कार्यक्रम संचालन कार्यलाई निरन्तरता दिइनेछ ।
    • वातावरण संरक्षण प्रति जनचेतना अभिबृद्धि गर्न प्रवर्द्धनात्मक कार्यक्रमहरु संचालन गरिनेछ। एक रुख कटानी बापत कम्तीमा पाँच विरुवा हुर्काउने नीति लिइनेछ ।

    विपद व्यवस्थापन सम्बन्धी नीतिः

    • गाउँपालिकामा विपद व्यवस्थापन कोषलाई यथावत संचालन गरी कोषलाई प्रभावकारी बनाउन सम्बन्धित सरोकारवालाहरुको साझेदारीमा विभिन्न कार्यक्रमहरु सञ्चालनमा निरन्तरता दिइनेछ ।
    • विपद परेको अवस्थामा उद्दारको लागि आवश्यक पर्ने यन्त्र, साधन तथा औजारहरुको उचित व्यवस्थापन गर्ने नीति अवलम्बन गरिनेछ ।
    • विपदका क्षेत्रमा काम गर्ने सहयोगी संस्थाहरुसंग समन्वय गरी विपद व्यवस्थापन सम्बन्धी आवश्यक योजना तथा कार्यक्रमहरु संचालन गरिनेछ ।

    फोहरमैला तथा सरसफाई सम्बन्धी नीतिः

    • गाउँपालिकाका बस्तीहरुमा कुहिने र नकुहिने फोहोर छुट्याई फोहोर व्यवस्थापन गर्न वडा तहबाट सचेतना अभियान संचालन गरिनेछ ।
    • सार्वजानिक शौचालयको निर्माणका लागि साझेदार संस्थाहरुको खोजी गरी निरन्तरता दिइनेछ ।
    • सार्वजानिक भवन, सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालयहरुलाई पूर्णत सरसफाई कार्यलाई निरन्तरता दिइनेछ ।

    (ङ) लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी नीति तथा कार्यक्रमहरुः

    • सहकार्य, सहअस्तित्व र भाइचाराको नीति अनुरुप विकास र निर्णय प्रकृयामा समावेशी सहभागिताको नीति अवलम्बनलाई निरन्तरता गरिनेछ ।
    • तेमालका सवै महिला, बालवालिका, आदिवासी जनजाती, दलित, विपन्न वर्ग, जेष्ठ नागरिक, फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिहरुको क्षमता विकास तथा आर्थिक, समाजिक सशक्तिकरणको नीति अवलम्बनलाई निरन्तरता गरिनेछ ।
    • लक्षित वर्गका कार्यक्रमहरु संचालन गर्दा क्षमता विकास, सिप विकास, नेतृत्व विकास, प्रविधि हस्तान्तरण, सचेतना तथा संस्कृति संरक्षण र प्रवर्द्धन जस्ता कार्यक्रम समानूपातिक ढंगबाट संचालन गरिने नीति लिइनेछ ।
    • संविधान प्रदत्त महिलाहरुको हक र अधिकारहरुको कार्यान्वनय गरिने नीति अवलम्बन गरिनेछ ।
    • गाउँपालिका क्षेत्रमा संचालन हुने हरेक अवसर र गतिविधिमा सम्भव भएसम्म पचास प्रतिशत महिला सहभागिता गराइनेछ ।
    • बाह्य एवं घरेलु हिंसामा परेका महिलाहरुको सहयोगको निमित्त मनोपरामर्श तथा सीप विकास सहितको पुनर्स्थापना कार्यक्रमहरु एवं लैङ्गिक हिंसा निवारण कार्यक्रम संचालन गरिनेछ ।
    • न्यायिक समिति मार्फत महिलाहरुको कानूनी हक र अधिकार सम्बन्धी तालिम तथा अनुशिक्षणको व्यवस्थालाई निरन्तरता दिइनेछ ।
    • महिलाहरुलाई व्यवसायिक बनाउन सवै वडाहरुमा उद्यमशिलता तालिम संचालन गर्ने गराउने र उद्यम गर्ने सिपयुक्त महिलाहरुको समूहलाई वीउ पुँजिको व्यवस्था गर्ने नीति अवलम्बन गरिनेछ ।
    • बालमैत्री स्थानीय शासनको प्रत्याभूती गर्न आवश्यक कार्यक्रमहरु संचालन गरिनेछ ।
    • वडास्तरीय बाल क्लव, गाउँपालिका स्तरीय बाल सञ्जाल गठन र परिचालन गर्ने नीति अवलम्बन गरिनेछ ।
    • गाउँपालिका क्षेत्र भित्र रहेका ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको वडागत रुपमा लगत संकलन गरी जेष्ठ नागरिकहरुसंग भएको ज्ञान तथा अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने कार्यक्रम संचालन कार्य निरन्तरता गरिनेछ ।
    • जेष्ठ नागरिकहरुको स्वास्थ्य जटिलतालाई ध्यानमा राखि क्रमशः स्वास्थ्य शिविर संचालन कर्यक्रमलाई निरन्तरता दिइनेछ ।
    • गाउँपालिकामा स्थायी रुपमा बसोबास गर्ने ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई ५०% प्रतिशत अनुदानमा स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्ने निति लिइएको ।
    • दलित समुदायको परम्परागत पेशा, कला तथा सीप संरक्षण गर्दै आधुनिकीकरण र व्यावसायीकरण गर्ने नीति अवलम्बन कार्यलाई निरन्तरता दिइनेछ। दलित विद्यार्थीलाई उच्च शिक्षासम्म अध्ययनका लागि छात्रवृत्तिको व्यवस्थालाई निरन्तरता दिइनेछ ।
    • आदिवासी जनजातीहरुको संविधान प्रदत्त अधिकारलाई सुनिश्चित गर्दै आर्थिक, सामाजिक एवं साँस्कृतिक विकासका साथै भाषा, संस्कृति, परम्परा र पुख्यौलि सीपको संरक्षण तथा प्रवर्द्धन गरिने नीति अवलम्बन गरिनेछ । आदिवासी जनजातीको भाषा तथा लिपि विकासका लागि भाषा कक्षाको व्यवस्था गरिनेछ ।
    • फरक क्षमता (अपाङ्गता भएका व्यक्तिहरुको लगत राखि उनीहरुको हित संरक्षणको कार्यक्रम संचालन गर्ने नीति अवलम्बन गरिनेछ ।
    • विद्यालय तथा स्वास्थ्य केन्द्रहरुका साथै प्रशासनिक भवनहरुमा क्रमशः अपाङ्ग मैत्री संरचनाहरुको निर्माण गरिने नीति अवलम्बन गरिनेछ ।
    • युवाहरुलाई परिवर्तनको संवाहक र नेतृत्वको साझेदारको रुपमा विकास गर्दै समाजिक, राजनैतिक र आर्थिक क्षेत्रका समग्र जिम्मेवारी सम्हाल्न सक्ने गरी नेतृत्व विकास गराउने नीति लिइनेछ ।
    • युवाहरुमा हिंसा, दुर्व्यसन र अराजक प्रवृत्ति हुन नदिन नियन्त्रणका नीति अवलम्बन गरिनेछ ।
    • युवाहरुलाई विपद व्यवस्थापन, सामाजिक विकास, वातावरण संरक्षण, खेलकुद लगायतका क्षेत्रमा स्वयंसेवकको रुपमा परिचालन गरिनेछ ।

    (च) सेवा प्रवाह, संस्थागत विकास तथा सुशासन सम्बन्धी नीति तथा कार्यक्रमहरुः

    १. सार्वजानिक सेवा प्रवाहलाई गुणस्तरीय, समावेशी एवं सहज बनाउन विद्युतिय शासन प्रणाली
    अवलम्बन गरि प्रशासनिक कार्यविधिलाई सरलिकरण र संक्षेपीकरण गरिनेछ ।

    २. नेपाल सरकारद्वारा स्वीकृत दरवन्दी ढाँचा बमोजिम वडा कार्यालय तथा गाउँपालकाको कार्यालयमा जनशक्ति व्यवस्थापन गरिनेछ ।

    ३. सवै वडा कार्यालयहरुलाई गाउँकार्यपालिकाको कार्यसञ्जालसंग जोड्ने नीति अवलम्बन कार्यलाई निरन्तरता दिइनेछ ।

    ४. गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता विकासका लागि आवश्यकता अनुसार अनुशिक्षण तालिम तथा प्रशिक्षण संचालन कार्यलाई निरन्तरता दिइनेछ ।

    ५. गाउँपालिकामा कार्यरत कर्मचारीहरुलाई प्रोत्साहन गरी उच्च मनोवलका साथ सार्वजानिक
    सेवा प्रवाह गर्न आन्तरिक आम्दानीबाट कार्यदक्षता, कार्य सम्पादन, सुपरीवेक्षणको आधारमा
    प्रोत्साहित गरिनेछ ।

    वित्तिय व्यवस्थापनः

    १. नेपालको संविधानमा उल्लेखित राजस्वका स्रोतहरुको दायरालाई फराकिलो पार्दै अधिकतम आन्तरिक स्रोत संकलन गर्दै वित्तिय स्वावलम्बन तर्फ अग्रसर हुने नीति लिइनेछ ।

    २. गाउँपालिकाको आन्तरिक आम्दानी हुने स्रोतहरुको पहिचान गरी दिगो र भरपर्दो रुपमा विकास कार्यलाई निरन्तरता दिइनेछ ।

    सूचना, संचार तथा प्रविधि तर्फः

    १. तेमाल गाउँपालिकालाई सूचनामैत्री बनाई स्थानीय सञ्चार माध्यमहरुको विकास र प्रवर्द्धन गरिनेछ । स्थानीय पत्र-पत्रिका, रेडियो तथा अनलाइनहरुलाई थप व्यवस्थित, विश्वसनीय र प्रतिष्पर्धी बनाइनेछ ।

    २. राजस्व संकलन सेवा लगायत सहज सूचना प्रवाहको लागि ३ वटा वडा कार्यालयसम्म आफ्नै फाइबर मार्फत पुर्याइएको र बाकी ६ वटा वडाहरुमा यसै वर्ष आफ्नै अप्टिकल फाइबर जडान गरी गाउँपालिकाकेन्द्रसँग सोझै जोडिने छ। यसबाट वडाहरुमा इन्टरनेट राजश्व संकलन, सिसि क्यामेरा सर्भेलेन्स, ई हाजिरी व्यवस्थापन लगायतका कार्यमा सहजीकरण हुनेछ ।

    ३. गाउँपालिकाको प्रशासनिक कार्यलाई व्यवस्थित बनाउँन र कागज रहित तथा अनलाईन सेवाको प्रबर्द्धन गर्न आवश्यक सूचना प्रविधि पूर्वाधार सहित यस क्षेत्रमा प्रयोग भईरहेका सफ्टवेयर प्रयोगमा जोड दिईने छ।

    ४. सबै कर्मचारीहरुलाई सूचना प्रबिधि मैत्री बनाउनको लागि सूचना प्रबिधि सम्बन्धि प्रशिक्षण कार्यक्रम संचालन गरिने छ।

    ५. गाउँपालिका भित्रका सम्पूर्ण डाटा व्यवस्थापन को लागि आफ्नै सर्भरको व्यवस्था गरिएको छ। साथै आर्थिक कारोबार लाइ Cyber threats बाट बचाउनको लागि Firewall system,SSL,सर्भर अपग्रेड र डाटा ब्याकअपको व्यवस्थापन गरेको छु।

    ६. सेवाग्राहीको अधिकारलाई सम्वोधन गर्दै सवै वडा कार्यालय र विषयगत इकाइमा क्षतिपूर्तिसहितको नागरिक वडापत्र जारी गरिएको मा सो को प्रभावकारी कार्यान्वयनका लागि कर्मचारीहरुलाई उत्तरदायी बनाईने छ। यसबाट गाउँपालिकाको सेवा प्रवाह अझै प्रभावकारी र विश्वसनीय हुने विश्वास लिइएको छ।

    ७. सेवा प्रवाहका हरेक क्षेत्रमा प्रबिधिको विकास तथा बिस्तार गरी E-Governance लाई तिव्रता दिईने छ। सेवाहरुलाई प्रथम चरणमा कम्प्युटर प्रबिधिमा आधारित तथा दोस्रो चरणमा इन्टरनेटमा आधारित online Service बनाई प्रवाह गर्ने नीति रहेको छ।

    ८. अनलाईन मार्फत उपलब्ध गराउन सकिने सबै प्रकारका सेवाहरुलाई गाउँपालिकाको आफ्नै वेव ईमेल इन्टरनेटको माध्यमबाटै उपलब्ध गराउन Digital Demand, Digitally Serve को नीति अवलम्बन गरिनेछ। आम गाउँबासीलाई सेवा तथा सूचना दिने प्रयोजनको लागि ल्याईएको छ ।

    ९. गाउँपालिकाबाट जारी गरिने सेवा तथा सेवा लिन सम्पर्क राख्न पर्ने स्थानहरु, एवम् सूचना तथा सार्वजनिक जानकारीका विषयहरुको अलावा नागरिकरुको दैनिकी संगजोडिएका विविध विषयहरु गाउँपालिको वेवसाइट तथा अधिकारी फेसबुक मर्फत गाउँबासीको समक्ष पुयाइनेछ।

    १०. कर्मचारीहरुको कार्य सम्पादनमा अधारित प्रोत्साहन प्रणाली यसै श्रावण महिना देखि लागु गरिने छ। कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कन पद्दतिलाई प्रभावकारी र वैज्ञानिक बनाई सेवामुखी एवम् जवाफदेही बनाइनेछ।

    ११. पारदर्शिता एवम् सुशासनका लागि गाउँपालिकासँग सम्बन्धित सूचनाहरुलाई विद्युतीय तथा सञ्चार माध्यमबाट सार्वजनिकीकरण गरिनेछ। राजपत्रको नियमित प्रकाशनको व्यवस्था गरिनेछ।

    १२. गाउँपालिकाले तर्जुमा गरेका सबै नीति तथा कानुनहरु गाउँपालिकाको वेवसाइटमार्फत सार्वजनिक गरिनेछ। वेवसाईट नियमित रुपमा अद्यावधिक गर्ने व्यवस्थामिलाएको छु।

    १३. गाउँपालिकाको संगठनात्मक संरचना तथा आवश्यक कर्मचारी दरबन्दी गत परिषदबाटस्वीकृत भई सञ्चालन हुँदै आएकोमा स्थानीय पुनःसंरचना पश्चात्को संगठनात्मक स्वरुप बमोजिम दरवन्दी व्यवस्थामा पुनरावलोकन गरिनेछ।

    १४. वडा तथा गाउँपालिकामा कार्यरत कर्मचारीको क्षमता विकास गर्न कार्य क्षमता तथा रुचीको आधारमा  सरुवा तथा जिम्मेवारी हेरफेरको नीति अवलम्बन गरिनेछ।

    १५. गाउँपालिकाको संस्थागत क्षमता अभिबृद्धि तथा मानव संसाधन विकासका लागि गाउँ क्षमता विकास योजना तर्जुमा गरिनेछ। वडा कार्यालयलाई नागरिकहरुको पहिलो र नजिकको सरकारको रुपमा विकास गरिनेछ।

    १६. वडा कार्यालयहरुलाई भौतिक सुविधा सम्पन्न गरिदै लगिनेछ र आवश्यक जनशक्तिको व्यवस्था गरिनेछ। प्रत्येक कार्यालयहरुमा रहेका नागरिक वडापत्र नियमित अद्यावधिक गरिनेछ।

    १७. गाउँपालिकामा आवश्यक र उपयुक्त थप कानूनहरुको तयार गरी गाउँवासीहरुलाई सरल, सहज र प्रभावकारी सेवा प्रदान गरिनेछ।

    १८. यस गाउँपालिका क्षेत्रलाई सुशासन मैत्रीगाउँ Good Governance Friendly City बनाउन आवश्यक कार्यारम्भ विगत वर्षबाट सुरुवात गरिएकोमा उक्त कार्यलाई प्रभावकारी बनाउन निरन्तरता दिई सुशासनको अनभूति दिलाउने गरी सेवा तथा कार्यक्रम सञ्चालनको नीति लिइनेछ।

    १९. गाउँपालिकाबाट सम्पादन हुने हरेक आयोजना तथा कार्यक्रमहरुको सार्वजनिक परीक्षण, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण जस्ता कार्यहरुबाट पारदर्शिता एवम् स्थानीय सुशासन कायम गरिनेछ।

    २०. गुनासो सुन्ने र समाधान गर्ने परिपाटीको विकास गरिनेछ। सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाइनेछ। गुणस्तर मापदण्ड बनाई लागू गरिनेछ।

    २१. विकास कार्यहरुको व्यवस्थित अनुगमन नीति तथा प्रणाली स्थापना गरी कार्यान्वयन गरिनेछ।

    २२. आर्थिक पारदशिताको लागि वडा कार्यालयमा कार्यरत विषयगत शाखाका कर्मचारी, वडा सचिव तथा उपभोक्ता समिति सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी अभिमुखीकरण तालिम उपलब्ध गराईनेछ।

    अन्त्यमा, नीति तथा कार्यक्रमको समयवद्ध एवं सफल कार्यान्वयनबाट तेमालको समाबेशी र दीगो विकासमा सघाउ पुग्ने, आर्थिक विकासमा प्रत्यक्ष प्रभाव पर्ने, रोजगारीको क्षेत्रमा बृद्धि भई जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने देखिन्छ साथै सामाजिक सदभाव र समन्वय तथा भातृत्व विकासमा समेत टेवा पुग्छ भन्नेमा म पूर्ण विश्वस्त छु । नीति तथा कार्यक्रम तयार गर्न प्रत्यक्ष र परोक्ष रुपमा सहयोग पुर्याउनु हुने सवैमा धन्यवाद दिन चाहन्छु । उपस्थित सवै महानभावहरुमा हार्दिक कृतज्ञता अर्पण गर्दछु ।

    चन्द्र बहादुर तामाङ
    अध्यक्ष तेमाल गाउँपालिका
    २०७९।०३।१०

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार