२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आज पार्टी एकताको घोषणा हुने , यसरी हुदैछ एमाले,माओवादी पार्टी एकता


४००४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ ३, बिहिबार मा प्रकाशित ६ साल अघि
  • काठमाडौं-मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवसको अवसर पारेर आज नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हिजो बुधबार भएको वार्तामा एकतामा सहमति जुटेको हो ।

    बिहीबार नै एकता घोषणा हुनेछ । बिहीबार नै निर्वाचन आयोगमा एकीकृत पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्ने सहमति पनि भएको छ । एमाले स्थायी कमिटी र माओवादी सचिवालयको विस्तारित बैठकले पार्टी एकता सहमति अनुमोदन गरेको छ । एमालेले बिहीबार केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ ।

    मदन आश्रित स्मृति दिवसको अवसरमा एमालेले गर्ने कार्यक्रममा माओवादी शीर्ष नेताहरु पनि सहभागी हुनेछन । लगतै पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ । अपरान्ह पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा हुने दुबै दलका नेताहरुले बताएका छन ।

    केन्द्रीय कमिटीमा माओवादीलाई ४५ प्रतिशत

    एमाले स्थायी कमिटीमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको ब्रिफिङअनुसार एकीकृत पार्टीको केन्द्रीय कमिटी ४४१ सदस्यीय हुनेछ । जसमा एमालेबाट २४१ जना हुनेछन भने बाँकी २०० जना माओवादी केन्द्रबाट आउनेछन् ।

    कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको थियो । माओवादीले ५०(५० को माग गरेपछि विवाद पनि भयो तर, नयाँ सहमतिअनुसार केन्द्रीय कमिटीमा माओवादीले ४५ प्रतिशत पाएको छ । पोलिटब्यूरो तत्काल नबन्ने भएको छ । स्थायी कमिटी ४३ सदस्यीय बनाउने सहमति जुटेको छ । नेताहरुका अनुसार स्थायी कमिटीमा एमालेबाट २५ जना हुनेछन् भने माओवादीबाट १८ जना ।

    केन्द्रीय कमिटी र स्थायी कमिटी मिलाउँदा एमालेका हालका नेताहरु घटुवा हुने छैनन् । तर, माओवादीमा नेताहरु छान्न मुस्किल छ । बुधबारको बैठकले यसबारे निर्णय गर्ने अधिकार तीन नेता प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’लाई दिएको छ ।

    चुनाव चिन्ह सूर्य

    एकतापछि पार्टीको चुनाव चिह्न सूर्य हुनेछ । यो हाल एमालेको चुनाव चिह्न हो । माओवादीको चुनाव चिह्न गोलाकारभित्र हसिया हथौडा छ । दुवैलाई मिलाएर नयाँ चुनाव चिह्न राख्ने छलफल पनि भएको थियो । तर, त्यसो गर्दा अर्को कुनै दलले सूर्य लिएर आफ्नो भोट तान्न सक्ने भएकाले सूर्य रोज्नुको विकल्प नभएको नेताहरुले बताएका छन् ।

    पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद लेलिनवाद हुने छ । राजनीतिक कार्यदिशा ‘समाजवाद उन्मुख समावेशी लोकतन्त्र’ छ । एमालेले भन्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीले भन्ने गरेको २१ औं शताब्दीको बहुदलीय जनवादलगायतका वैचारिक मान्यताहरुबाट छलफल गर्दै जाने सहमति पनि दुई दलबीच भएको छ ।

    यसरी सुरु भएको थियो एकता प्रक्रिया

    एमाले र माओवादीको सम्वन्ध उतारचढावपूर्ण रहृयो । शान्ति प्रक्रियामा आएपछि पनि एमाले र माओवादीबीच कहिले सहकार्य त कहिले प्रतिस्पर्धा मात्र होइन, एकाअर्काका विरोधीसम्म भए ।

    तर, १७ असोज २०७४ मा गठबन्धन बनाएर चुनाव लड्ने सहमति गर्दै सहकार्यको सुरुवात गरे । एमालेमा विष्णु पौडेल र माओवादीमा जनार्दन शर्मा ‘प्रभाकर’लाई एकताको सूत्रधार मानिन्छ । प्रदेश र प्रतिनिधिसभा चुनावमा ६०र४० को भागवण्डाका आधारमा उम्मेदवार उठाए । प्रतिनिधिसभामा बहुमत पाएको वाम गठबन्धनले ६ वटा प्रदेशमा पनि सरकार बनायो ।
    केन्द्रमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गरे लगतै ७ फागुनमा दुई दलका शीर्ष नेताहरुले पार्टी एकतासम्वन्धी सात बुँदे सहमति गरे । एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त ‘माक्र्सवाद(लेलिनवाद’ हुने सहमति छ । दुई दलले कार्यदल बनाएर अन्तरिम राजनीतिक प्रतिवेदन र विधान पनि बनाएका छन् । तर, केन्द्रीय समितिको भागवण्डा लगायतमा सहमति हुन सकेन । बरु बेलाबेला दुई दलबीच खटपट देखियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार