२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

स्थानिय तहले गरेको कार्य तीन तीन दिनमा सार्वजनिक, पनौतीमा परिक्षणको लागि बिरुवा बितरण


२४६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ १७, आईतबार मा प्रकाशित ५ साल अघि
  • पनौती- पनौती नगरका प्रमुख भिम न्यौपानेले नगरको बिभिन्न स्थानमा के कस्ता प्रकारको खेती हुन्छ भनि नगरले पहिचान गर्ने बताउनु भयो । पहिचानको आधारमा आधुनीक तरीकाले खेती गरी कृषकहरुलाई अगाडी बढाउने नगर प्रमुख न्यौपानेको भनाई रहेको थियो । ४ सय ३० कागती, २ सय बोट अम्बाका बिरुवपा र ५० बोट रुद्राक्षका बिरुवा पहिलो पटक परीक्षणको लागि बितरण गरेको उहाँको तर्क थियो ।

    नगर प्रमुख न्यौपानेले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन अन्तर्गत जिल्ला वन कार्यालय काभ्रेको सहयोगमा कृषकलाई शनिबार बिरुवा वितरण कार्यक्रममा उक्त धारणा राख्नु भएको थियो । प्रमुख न्यौपानेले पनौतीका १ सय ३८ बस्ती रहेको र सो बस्तिहरुमा के कस्तो प्रकारका फलफुल तथा अन्य खेतीको लागि उपयुक्त हुन्छ सोही अनुसारको खेती गर्ने वातावरण तयार पार्ने बताउनु भयो । नगरले गर्ने कुनै प्रकारको काम जनताले थाहा पाउनुपर्छ भनेर हरेक हप्ता वडा कार्यालय र हरेक ३ दिनको फरकमा नगरले गरेका कामहरु पारदर्शी गर्न सूचना पाटीमा टाँस गरिँदै आएको नगर प्रमुख न्यौपानेले बताउनु भयो ।

    राज्यमा तीन चरणको सरकार बनिसक्यो अब आर्थिक सम्बृद्धितिर लाग्न एकीकृत भावना अनुरुप हामी नगरमा अगाडि बढ्नेछौं र कृषि क्षेत्र बढि ओगटेको नगर भएकाले कृषि सहकारी, सुपरजोन र पशु विकास कार्यक्रमहरु अगाडि बढाउने कृषि सहकारी र अन्य सम्बन्धित क्षेत्रका सहकारी एवं संघसंस्थालाई प्रस्ताव आह्वान गरि कार्यक्रमहरु बाँडफाँड गरिने नगरप्रमुख न्यौपानेले बताउनु भयो ।

    कार्यक्रममा पनौती नगरका उपप्रमुख गीता बन्जारा, जिल्ला समन्वय समितिका सदस्य एवं कृषि संयोजक सन्तनु के.सी., जिल्ला वन अधिकृत शिवराम थापा, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, वडाध्यक्ष चण्डिका परियार, सुपरजोन सञ्चालक समितिका उपाध्यक्ष सुमित्रा बन्जारा, सदस्य प्रदिप के.सी., कांग्रेस वडा सभापति प्रकाश के.सी. लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो ।

    सुपरजोन वन कृषक समुहले १ घर २ कागतीका बिरुवा र १ अम्बाको बिरुवा वितरण गरेको थियो । कार्यक्रममा वन अधिकृत शिवराम थापाले नगरप्रमुख भिम न्यौपानेलाई वातावरण स्वच्छ राख्ने रुद्राक्षको बिरुवा हस्तान्तरण गर्नु भएको थियो । सोही अवसरमा नगरप्रमुखले पनौती ८ को वडा कार्यालय प्राङ्गणमा रुद्राक्षको बिरुवा रोपण गर्नु भएको थियो । कृषकहरुलाई सोही फलफूलका बिरुवाहरु नगरप्रमुखले वितरण गर्नु भएको थियो । कार्यक्रम सुपरजोन वन कृषक समुहका संरक्षक वडा नं. ८ वडाध्यक्ष केशव बन्जाराको सभापतित्वमा सम्पन्न भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार