२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बैंक कर्मचारीको आईडी बाट ५ करोड लुट,कसरी लुटीयो त रकम ?


२८८४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ८, बुधबार मा प्रकाशित ४ साल अघि
  • चिनियाँ ह्याकरहरुले एटीएम प्रणाली ह्याक गरेर झण्डै २ करोड चोरी भएको महिना नपुग्दै नेपाली बैंकिङ प्रणालीमा अर्को आक्रमण भएको छ । र, सरकारी बैंक कृषि विकासबाटै झण्डै ५ करोड रुपैयाँ चोरी भएको छ ।

    यो घटनामा भने भारतको मुम्बई बस्ने अफ्रिकी मुलका नागरिकलाई योजनाकार मानिएको छ । उनका सहयोगीका रुपमा नेपालमा काम गर्ने १२ जना भने पक्राउ परेका छन् ।

    यो चोरीको सुरुवात भने पानस रेमिटबाट भएको थियो । नयाँ बानेश्वरको पानस रेमिटका कर्मचारीले आइतबार रेमिट्यान्स प्रणालीमा अनौठो प्रकृतिको घटना सामना गर्नुपर्‍यो । रेमिटकी कर्मचारी सुमिना धितालको नामबाट आएको ६०/६० हजार रुपैयाँ एकैदिन ६ जनाले निकालेका थिए ।

    उनीहरुमध्ये लीला तामाङ र लेबिस घलेले सुमिना काम गर्ने बानेश्वर शाखाबाटै पैसा निकालेका छन् । प्रहरीकाअनुसार सातौं व्यक्ति पनि धितालकै नामबाट आएको ६० हजार निकाल्न आएपछि भने पानस रेमिटका कर्मचारीलाई शंका लाग्यो । सिस्टममा चेक गर्दा २० जनालाई धितालको आईडीबाट एकैदिन एउटै परिणामको रकम ट्रान्सफर भएको भेटियो ।

    यसबारे सुमिनालाई भने कुनै जानकारी थिएन । ‘सम्बन्धित कर्मचारीलाई थाहै नभई भएको अस्वभाविक रकम ट्रान्सफरबारे हामीलाई खबर आएको थियो’, महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुल थापा भन्छन्, ‘त्यसपछि हामीले रकम पठाउने र झिक्नेको सूची मगाएर अनुसन्धान थालेका थियौं ।’

    रकम निकाल्ने कार्यमा संलग्न मध्ये काभ्रेस्थली, काठमाडौंका सञ्जय घले, उनकी माइजु लक्ष्मी लामा तामाङ, बहिनी निर्मला तामाङ र उनका छोरा निमा तामाङ पक्राउ परे । रकम निकालेकै दिन साँझ पक्राउ परेका सञ्जयले खुलाए, ‘चिनजानकै लवाङ तामाङले भनेपछि रकम निकाल्न गएका थियौं ।’

    लवाङसँग लक्ष्मीको आर्थिक कारोबार पनि थियो । त्यसैले रेमिट्यान्सबाट निकाल्ने रकम कुन प्रयोजन र कसरी आएको थियो भन्नेबारे उनीहरुले सोधेनन् । लगत्तै, लवाङलाई पक्राउ गरेर अनुसन्धान टोलीले रेमिटबाट निकालिएको रकमबारे सोधीखोजी थाल्यो ।

    उनले हड्बड्मा आफूसँग ३१ लाख भएको फुस्काए । प्रहरीले चार जनाले निकालेको २ लाख ४० हजारबारे सोधीखोजी गरिरहेको थियो, ३१ लाख भनेपछि थप शंका उत्पन्न भयो । सोधपुछका क्रममा लवाङले सर्लाहीका पुष्पराज खड्काको नाम लिए, जसको साथबाट पनि ३१ लाख नै बरामद भयो । दुवै जना जडिबुटी व्यापारी हुन् ।

    उनीहरुलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा नै पानस रेमिट मात्र होइन, सरकारी स्वामित्वको कृषि विकास बैंकबाट पनि अनधिकृत रुपमा रकम चोरी भएको खुल्यो ।

    लवाङको खातामा ५० लाख

    अनुसन्धानका क्रममा प्रहरीले लवाङको बैंक खातामा भएको रकम पनि परीक्षण गरेको थियो । त्यसक्रममा उनको खातामा ५० लाख देखिएको एक अधिकृत बताउँछन् ।

    त्यसपछि प्रहरी टोली बैंकबाट पनि रकम चोरिएको निष्कर्षसहित कृषि विकास पुग्यो । सुरुमा त बैंकले प्रहरीलाई पत्याएन । अनुसन्धानमा संलग्न एक प्रहरी निरीक्षकले भने, ‘जब लाहान शाखाबाट १२ जनाको खातामा पैसा गएको भेटियो, उहाँहरुको सातो गयो ।’ नजाओस् पनि किन ? लाहान शाखामा भएको ४ करोड ७३ लाख रुपैयाँ ११ जना व्यक्तिको खातामा गएको थियो ।

    जसमध्ये १५ लाख रुपैयाँ कैलाश विकास बैंक, पालुङ शाखामा गएको भेटियो भने त्रिसुली, भजनी र बालाजुमा यही प्रायोजनका लागि खाता खोलेको समेत देखियो । प्रहरीको अपराध महाशाखाले दुबै बैंकको सहयोग लियो र रकम पठाइएको बाँकी खाता रोक्का गर्‍यो । खातावाला ठिमीकी सुनिता श्रेष्ठ, तनहुँका श्रवणकुमार श्रेष्ठ, कैलालीका विजय शाह र चन्द्रबहादुर बुढा पनि पक्राउ परे ।

    न्यूरोड शाखामा रकम लिन गएका वेला श्रवणकुमार श्रेष्ठ पनि सुनिताको साथमै थिए । उनी पनि नियन्त्रणमा छन् । विजय र चन्द्रले कृषि विकास बैंकको कैलाली शाखामा खाता खोलेका थिए, जसमा अज्ञात व्यक्तिले रकम हालेको भेटिएको छ ।

    एक महिना अघिबाटै भइरहेको थियो चोरी

    लवाङमार्फत रेमिटमा कसरी पैसा आयो ? सिराहा शाखाबाट कसरी १२ जनाको खातामा पैसा गयो ? प्रहरीको अनुसन्धान टोली यसको जवाफ खोजीमा जुटेको थियो ।

    यतिञ्जेल कृषि विकास बैंकको विभिन्न शाखाबाट एक महिनादेखि रकम निकालिएको भेटियो । यहीवेला बैंकका अधिकारीबाट सूचना आयो, ‘बैंकको सिराहा शाखाका दुई जना कर्मचारीकै आईडीको प्रयोग गरेर रकम ट्रान्सफर गरिएको छ ।’

    पानस रेमिट र कृषि विकास बैंकबाट रकम चोरी भएको घटना लगभग एउटै समयमा भएको थियो । र, दुई घटनामा कर्मचारीको पासवर्ड प्रयोग भएको पाइएको थियो । त्यसैले सम्बन्धित कर्मचारीकै संलग्नता वा पासवर्ड ह्याक भएको हुनसक्थ्यो ।

    अनुसन्धानका क्रममा पानस रेमिटकी कर्मचारी सुमिनाको इमेलमा आएको अपरिचित लिंक खोल्दा उनको सम्पूर्ण डाटा ह्याकरको हातमा पुगेको देखाएको छ । ‘यो विषयमा हामी अझै अनुसन्धान गरिरहेका छौं’, प्रहरी भन्छ ।

    कृषि विकास बैंकको हकमा भने पासवर्ड कसरी ह्याकरसम्म पुग्यो भन्ने खुलेको छैन । बैंकका उपमहाप्रबन्धक तथा मानव स्रोत म्यानेजर दीर्घ अर्यालका अनुसार सिराहा शाखाबाट पनि पैसा ट्रान्स्फर गर्दा अन्यत्र जस्तै दुई चरण पार गर्नुपर्थ्यो ।

    पहिलो, एसिस्ट्यान्ट तहको ‘चेकर’ले रकम ट्रान्स्फरका लागि विवरण इन्ट्री गर्नुपर्थ्यो र दोस्रो चाहिँ ‘मेकर’ले त्यसलाई एप्रुभ गरेपछि रकम सम्बन्धित व्यक्ति कहाँ पुग्थ्यो । सिराहामा रामसेवक यादव शाखा म्यानेजर मेकरको भूमिका थिए । तर घटनामा हालसम्म उनको संलग्नता नदेखिएको प्रहरीले बताएको छ ।

    आफ्ना कर्मचारीले पासवर्ड चुहाएको हुनसक्ने सम्भावनालाई पनि बैंकका अधिकारीहरुले अस्वीकार गरेका छन् । तर कहिले काहीँ आफू बाहिर हुँदा विश्वास गरेका व्यक्तिलाई पासवर्ड दिएर एप्रुभ गर्ने गरिएको बैंकका एक कर्मचारीले स्वीकार गरे ।

    ५ अर्ब लुट्ने कालेको योजना

    घटनाको अनुसन्धान गरिरहेको प्रहरीले यसलाई बैंकिङ प्रणालीमा साइबर आक्रमण गरेर भएको चोरी मानेको छ । र, यसको योजनाकार विदेशी नागरिक भएको ठहर गरेको छ । उनी काले भनिने पिटर भएको प्रहरीको दाबी छ ।

    तर उनको विषय थप बताएको छैन । प्रहरीकाअनुसार उनले नै नेपाली बैंक तथा वित्त संस्थाहरुको एटीएम प्रणाली ह्याक गरेर ५० मिलियन डलर अर्थात ५ अर्ब नेपाली रुपैयाँ चोरी गर्ने योजना बनाएका थिए । र, १० प्रतिशत कमिसन दिने गरी नेपाली नागरिकहरुलाई प्रयोग गरेको प्रहरीले बताएको छ ।

    पक्राउ परेका लवाङ, सुनिता, विजय र चन्द्रले भारतमा रहेका काले भनिने पिटरले दिएको निर्देशनअनुसार काम गरेको बयान दिएका छन् । बैंक तथा रेमिटबाट निकालेको रकमको १० प्रतिशत आफूसँग राखेर ९० प्रतिशत फिर्ता गर्ने गर्थे ।

    पक्राउ परेका शुबन्कर पन्चा चाहिँ हुण्डी कारोबारी हुन् । उनले लवाङको समूहले निकालेको रकम हुण्डीमार्फत कालेलाई भारत पठाउने गरेको पाइएको छ ।

    ‘योजनाकार’ भनिएका काले केही वर्ष पहिले नेपालमा बसेको पक्राउ परेकाहरुको बयान छ । नेपालमै रहँदा चिनजान भएकाले सहकार्य गरेको चार जनाको दाबी छ । पिटरकै योजनामा लवाङले रेमिट्यान्सबाट पैसा झिक्ने व्यक्ति खोजेको बताएका छन् । उनलाई १० जनाको जिम्मा दिइएको थियो भने बाँकी १० वटा पिन नम्बर कसलाई दिइएको थियो भन्ने खुलेको छैन ।

    ‘केही व्यक्तिको पहिचान भएपनि हामी अनुसन्धानमै छौं’, प्रहरी अधिकृत भन्छन् । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार यो समूहका सदस्यबीच वी च्याटमार्फत कुराकानी हुने गरेको थियो । मुम्बईमा बस्ने भनिएका कालेले ‘राम्रोसँग काम गर्दै गए, ५ अर्बसम्म पठाउने’ म्यासेजमा लेखेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार