२०८१ अषाढ ११, मंगलबार | Tue, 25, Jun, 2024

दशैको महत्व र प्रमुख शक्ति पिठहरु


७०७९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १५, बुधबार मा प्रकाशित ४ साल अघि
  • आश्विन र कार्तिक महिनामा नेपालीहरुले मनाउने दशैं ठूलो चाडको रुपमा लिइन्छ । दशै सबैभन्दा लामो र देशभर सबै जातजाति र धर्मलाई अवलम्बन गर्ने नेपाली समदुायले मनाउने गरेको पाइन्छ । मुख्य रुपमा देवी दुर्गाको उपासना र पूजा अर्चना गरी यो पर्व मनाउने गरिन्छ । अझ विभिन्न दुर्गा शक्ति पीठहरुमा पूजाआजा गरी पशुबली समेत दिइने गरिन्छ । दशैंलाई दुष्टमाथि सत्यको विजयका उत्सवका रुपमा समेत लिने गरिन्छ ।

    आसुरी शक्तिमाथि विजय प्राप्त गरेको दिनका रुपमा समेत लिने गरिएकोले कतिपयले यसलाई विजया दशमीका रुपमा समेत बुझ्ने गर्दछन् । घटस्थापनादेखि सुरु हुने दशैं कोजाग्रत पूर्णिमाका दिनमा गएर समापन हुने गर्दछ । घटस्थापनादेखि पहिलो ९ दिनसम्म नवरात्री पूजा गर्ने प्रचलन गरेको छ । जहाँ विभिन्न शक्तिपीठहरुको महिमाको चर्चा गरिन्छ र अनि पूजा पाठ पनि गर्ने गरिन्छ । दशैंको पहिलो दिन घटस्थापनाको दिन हरेक घरघरको पूजा कोठामा पवित्र स्थानमा घटस्थापना गरिन्छ ।

    जहाँ दियो कलस थपना गरी जमरा राख्ने गरिन्छ । देवी दुर्गाको प्रतीकका रुपमा यसलाई प्रतिस्थापना गरिएको हुन्छ । पवित्र स्थानबाट ल्याएको बालुवामा जौ, मकै, गहुँ लगायतका बीज छर्ने गरिन्छ । यसरी स्थापना गरिएको स्थानलाई जमरा घर पनि भन्ने गरिन्छ । जमरा घरमा उमारिएको जमरालाई हरेक दिन पूजा आराधान गर्ने गरिन्छ । दशैंको सातौ दिन फूलपाती भित्रउने प्रचलन रहेको छ । परम्परदेखि चल्दै आएको गोरखाको दरबारबाट ल्याएको फूलपाती काठमाण्डौको बसन्तपुरको जमरा घरमा भित्रउने चलन छ ।

    यसको निम्ति विभिन्न वाजा गाजासहित तोप पड्काउने चलन छ । नागरिकहरुले पनि आफ्नो घरमा फूल, उखू, केरा र अदूवासहितको फूलपाती भित्रउने चलन रहेको छ । दशैंको आठौं दिन महाअष्टमी हो । यो दिन देवी देवताको पूजा अर्चना गरी घर–घरमा बली चढाउने प्रचलन पनि रहेको छ । मीठा मीठा खानेकुरा खाने अनि नयाँ लुगा लगाउने चलन पनि छ । सँगै वरिपरि हालिएको पिङ खेल्ने चलन पनि छ । त्यसको साथै पूजाघरमा दुर्गा स्थापना गर्ने चलन पनि छ ।

    नवौं दिन नवमी पर्वका रुपमा मनाउने गरिन्छ । यो दिन विशेष गरेर काठमाण्डौको तलेजु भवानीको पूजा अर्चना गरिन्छ भने घर–घरमा देवी माताको पूजा आराधना गर्ने प्रचलन पनि रहेको छ । आफूले वर्षभरि प्रयोगमा ल्याउने सवारी साधनहरुको समेत पूजा गर्ने प्रचलन पनि छ । दशौं दिन विजया दशमी हो । यो दिन बिहानै सबेरै शुभसाइतमा दशैंको आठौंं दिन स्थापना गरिएको दुर्गा विसर्जन गर्ने र त्यसपश्चात मान्यजनबाट टीका आशिष थाप्ने प्रचलन रहेको छ । यो दिन दशैंको मुख्य दिनका रुपमा समेत लिने गरिन्छ । आफ्ना मान्यजनबाट टीका ग्रहण गर्नका लागि विभिन्न स्थानाहरुमा जानेहरुको घँुइचो पनि देखिन्छ ।

     दशैंका प्रमुख शक्तिपीठहरू

    हिन्दूहरूको महान् पर्व बडादसैँमा घटस्थापनाको दिनदेखि नै विभिन्न शक्तिपीठहरूमा पूजा अर्चना गरिन्छ । यी पीठहरूमा पूजा गर्नुको पछाडि पनि अनेकौँ धार्मिक विश्वास एवं किंवदन्तीहरू जोडिएका छन् । घटस्थापनाको दिनदेखि सुरुवात गरिने मठमन्दिरको संक्षिप्त परिचयः श्री गुहृयश्वरी काठमाडौँ उपत्यकामा बागमती नदीको दक्षिणी किनारामा यो मन्दिर अवस्थित छ । यो स्थानमा सतीदेवीको गुहृय पतन भएको विश्वास गरिन्छ । यो स्थानमा सर्वप्रथम तेत्तीसकोटी देवताहरू पूजा आराधना गरेको विश्वास पनि छ । घटस्थापनादेखि नै गुहृयश्वरीमा विशेष पूजा आराधना गरिन्छ । यहाँ देवीहरूको कुनै मूर्ति छैन । सतीदेवीको गुहृय पतन भएको स्थानमा मन्दिरको गर्भगृह छ ।

    त्यहाँ एउटा सानो दुलो मात्र छ जहाँ भक्तजनहरूले कलश स्थापना गरी पूजा आराधना गर्छन् श्री जालपादेवी नुवाकोट जिल्लाको सदरमुकाम बिदुरदेखि आठ किलोमिटर दक्षिणमा त्रिशूली नदीको किनारामा रहेको देवीघाटमा यी देवीको मन्दिर रहेको छ । यस स्थानमा सतीदेवीको तल्लो ओठ पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम कामधेनु गाईले पूजा आराधना गरेको मानिन्छ । पृथ्वीनारायण शाहको दाहसंस्कार यही मन्दिरको घाटमा गरिएकोले नेपालको इतिहासमा यसको विशेष महत्व रहेको छ । यहाँ घटस्थापनादेखि नै भक्तजनहरूको घुइँचो लाग्छ । श्री भैरवी काठमाडौँ जिल्लाको गोकर्ण क्षेत्रमा यस मन्दिर रहेको छ । यस स्थानमा सतीदेवीको बायाँ कान पतन भएको विश्वास गरिन्छ ।

    यस स्थानमा सर्वप्रथम विषकुम्भहरूले पूजा आराधना गरेको मानिन्छ । बडादसैँको अवसरमा घटस्थापनादेखि नै श्रीभैरवीको विशेष पूजाआजा गरिन्छ । श्री दन्तकाली यो मन्दिर सुनसरी जिल्लाको धरानमा रहेको छ । यहाँ सतीदेवीको दाँत पतन भएको विश्वास गरिन्छ । यस स्थानमा पनि बडादसैंको अवसरमा घटस्थापनादेखि नै विशेष पूजा आराधना गरिन्छ । श्री छत्रेश्वरी सल्यान जिल्लाको छायाछत्रमा अवस्थित यस मन्दिर रहेको स्थानमा सतीदेवीको शेष रहेको सबै अंग पतन भएको मानिन्छ । यहाँ सर्वप्रथम अष्टभैरवले पूजा आराधना गरेकाले यहाँ कुनै अवसरमा पनि बली चढाइँदैन । यो नेपालका सबै शक्तिपीठहरूमध्ये बली नचढाइने एकमात्र शक्ति पीठ हो ।

    कमलाक्षी सल्यान जिल्लाकै लक्ष्मीपुरमा श्री कमलाक्षीको मन्दिर रहेको छ । यस स्थानमा सतीदेवीको बायाँ करङ पतन भएको विश्वास गरिन्छ । यस स्थानमा सर्वप्रथम योगमार्गीहरूले पूजा आराधना गरेको मानिन्छ । एउटा पहाडको रूपमा रहेको यो मन्दिरमा करङका आकृतिहरू देखिन्छ । श्री गलेश्वरी म्याग्दी जिल्लाको राहुघाटमा कालीगण्डकीको किनारमा रहेको यस स्थानमा सतीदेवीको गला पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम पृथ्वीले पूजा आराधना गरेको मानिन्छ ।

    श्री ज्वालापादेवी यो मन्दिर दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकादेखि पाँच किलोमिटर पश्चिम र छामगाम खोलाको किनारमा अवस्थित छ । यस स्थानमा सतीदेवीको निधार पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम हनुमानले पूजा आराधना गरेको मानिन्छ । श्री वागेश्वरी बाँके जिल्लाको नेपालगञ्चमा अवस्थित यस मन्दिर रहेको स्थानमा सतीदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ । यस स्थानमा सर्वप्रथम किन्नरगणहरूले पूजा आराधना गरेको मानिन्छ ।

    एउटा ठूलो तलाउको किनारामा रहेको यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको हो । यसबाहेक काठमाडौँ शोभा भगवती दक्षिणकाली भद्रकाली नुवाकोटको भैरवी, गोरखाको मनकामना, काभ्रेको पलाञ्चोक भगवती आदि मन्दिरहरूमा पनि घटस्थापनादेखि नै भक्तजनहरूले देवीहरूका पूजा आराधना गर्दछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार