२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नवरात्रमा नवमीको महत्व


५५८४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २०, सोमबार मा प्रकाशित ४ साल अघि
  • विविध जात, जाति, भाषा, धर्म र संस्कार संस्कृतिको साझा चौतारीका रुपमा रहेको नेपाली समाज यति बेला बडा दशैंको संघारमा छ । बडा दशैं नेपालीहरुको प्रमुख चाड हो । यस चाडलाई धार्मिक तथा संस्कृतिक पर्वको रुपमा मानाईन्छ । माया, प्रेम र सद्भावको त्रिवेणीका रुपमा हेरिने दशैंलाई मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने चाडको रुपमा पनि हेरिन्छ । पौराणिक धार्मिक ग्रन्थहरुका अनुसार असत्य माथि सत्यको विजय प्राप्त भए पश्चातको खुशियालीबाट यो चाडको सुरुवात भएको मानिन्छ । वैदिक युगमा मातादुर्गाले दानव महिसासुरको बध गरी देवगणहरुको रक्षा गरेको हुनाले यस पर्वलाई मातृशक्तिका रुपमा पनि मनाउने गरिन्छ । यसरी हेर्दा शोषित, पिडित र दुखिहरुलाई शक्ति दिई अन्यायी, अत्याचारीहरुलाई परास्त गरी सत्यको विजय गराउने मातृशक्तिको मुख्य रुप दुर्गामातालाई मानिन्छ ।
    बडा दशैं आश्विन शुक्लपक्षको प्रतिपदा अर्थात घटस्थापनाबाट सुरु भई दशमीको दिन समाप्त हुन्छ । घटस्थापनाको दिन देखि नवमीको दिन सम्मलाई नवरात्र अर्थात नौरथाको रुपमा मनाईन्छ । बडा दशैंमा नवरात्रको छुट्टै महत्व रही आएको छ । दुर्गा भवानीले महिसासुर लगायतका दानवहरुको बध गरेको धार्मिक कथा अनुसार नवरात्रमा देवी दुर्गाका नौ रुपको व्याख्या तथा पुजा उपसनाको महत्व र महिमाको चर्चा गरिएको छ । तसर्थ नवरात्रको अवधिमा देश भरका शक्तिपिठहरुमा देवी दुर्गामाताको पुजा, आरधना र उपासना गरिन्छ ।

    नवरात्रमा देवता र दानव अर्थात विशेष गरेर देवी दुर्गा र दानव महिसासुर विच भएको युद्धको प्रकृति हेर्दा अहिलेको बैज्ञानिक युगमा गरिने अनुसन्धान मूलक कार्यको उच्चतम् विन्दु हो भन्न सकिन्छ । देवी दुर्गाले हरेक दिन आफ्नो रुप परिवर्तन गरी सोही अनुसार दानव महिसासुरको व्यवहारको अध्ययन गरी उसलाई नष्ट गरेको किम्वदन्ति धार्मिक ग्रन्थहरुमा भेटिन्छ । आश्विन शुक्लपक्षको नवरात्रमा नौ वटै रुप धारण गरी प्रकट भएकी हुनाले दुर्गामातालाई यो समयमा नवदुर्गा भनि पुकारिन्छ । यसरी नवरात्रको नौ दिनमा प्रकट हुने नवदुर्गाका नौ रुपको शक्ति र पुजा आरधनाको महत्वलाई यसरी उल्लेख गर्न सकिन्छ ।

    १. शैलपुत्री – नवदुर्गाको पहिलो रुपलाई शैलपुत्री भनिन्छ । हिमालय पर्वतकी छोरीका रुपमा उत्पन्न भएकी हुनाले यिनलाई शैलपुत्री भनिएको हो । ६ वटा हात भएकी शैलपुत्रीले शंख, चक्र, गधा, पध्म, त्रिशुल र डम्बरु बोकेकी छन् । दानवहरुले देवगण माथि आक्रमण गरे पश्चात महिसासुर नामक दानवको नष्ट गर्न प्रकट भएकी शैलपुत्रीले सोहि दिनबाट महिसास’रको बध गर्ने की नगर्ने भन्ने अध्ययन कार्यको सुरुवात गरेको हुनाले यस दिनलाई विशेष महत्वका रुपमा हेरिन्छ र सोही अनुसार पुजापाठ गरिन्छ ।

    २. ब्रम्हचारिणी – नवदुर्गाको दोस्रो रुप ब्रम्हचारिणी हो । ब्रम्ह शब्दको अर्थ आत्मा अर्थात तपश्या हो । पाँचवटा हात भएकी ब्रम्हचारिणी शंख, चक्र, गधा, पध्म, जपमाला तथा अमृतले भरिएको अमृतघडाले सुशोभित छन् । ब्रम्हचारिणी अर्थात तपश्विनी रुप धारण गरी जपमाला गन्दै ध्यानदृष्टिले दानव महिसासुरको बध गर्नै पर्ने हो कि हैन ? बध कसरी गर्ने जस्ता विषयको सुक्ष्म रुपले हेर्ने, सोच्ने वा ध्यानबाट आत्म ज्ञान प्राप्त गर्ने कार्य यस दिनमा गरिएको हुनाले नवरात्रको दोस्रो दिनलाई आफ्नो आत्मज्ञान प्राप्त गर्ने दिनको रुपमा लिईन्छ । ब्रम्हचारिणी दुर्गाको रुप पूर्ण ज्योतिर्मय छ । ब्रम्हचारिणीले आफ्नो ब्रम्हज्ञान प्राप्त गर्न हातमा जपमाला लिएबाट नै माला जप गर्ने प्रचलन रहि आएको हो । आज हिन्दु धर्मावलम्वीहरुले भन्दा बौद्ध धर्मावलम्वीहरुले बढि माला जप गर्ने गरेको पाइन्छ । त्यसबाट पनि धार्मिक सहिष्णुताको पाठ सिक्न सकिन्छ ।

    ३. चन्द्रघण्टा – नवदुर्गाको तेस्रो रुप चन्द्रघण्टा हो । चार हातमा शंख, चक्र, गधा, पध्म बोकेकी यिनको मस्तकमा घण्ट आकारको अर्ध चन्द्रछ । यसर्थ यिनलाई चन्द्रघण्टा भनिएको हो । घण्टको अर्थ सञ्चार र चन्द्रको अर्थ फैलाउनु हुन्छ । यसर्थ चन्द्रघण्टाको अर्थ कुनै पनि समाचारको सञ्चार गर्नु भन्ने हुन्छ । देवीले यस रुपमा सकरात्मक, नकरात्मक कुराको छानविन गर्ने अन्य देवगणसँग छलफल र समन्वय गर्ने काम गरी छानविनको सन्देश दिने काम गरेकी छन् । तसर्थ सम्पुर्ण शक्तिपिठ तथा देविको मन्दिरमा सन्देश बाहकको रुपमा घण्ट राख्ने प्रचलन छ ।

    ४. कुष्माण्डा – आफ्नो मन्द मुस्कानबाट अण्ड अर्थात ब्रम्हाण्ड उत्पन्न गरेकी हुनाले यिनलाई कुष्माण्डा भनिएको हो । यस रुपमा ब्रम्हाण्ड उत्पन्न गरी महिसासुरलाइृ आफ्नो बहसमा ल्याउने काम गरेकी हुनाले शक्तिशालिनी र शान्तिदायनीको रुपमा लिईन्छ । नवरात्रको चौथो दिन देवी दुर्गाका मन्दिर लगायतका शक्तिपिठहरुमा दर्शन र पुजा आरधना गर्नाले अक्षम्य शक्ति प्राप्त हुने जनविश्वास रहि आएको छ ।

    ५. स्कन्दमाता – देवता र दानवहरुको युद्धको समयमा देवताका सेनापति युद्धवाजको नाम नै स्कन्द कुमार हो । यिनै स्कन्द कुमारकी माताको रुप नै स्कन्दमाता हो । शिव पुराण लगायतका पुराणहरुमा स्कन्द कुमारलाई शक्तिधर लगायतका नामबाट पनि स्तुति गरिएको छ । देवीले यस रुपमा स्कन्दक’मार लगायतका सेनाको उत्पति गराउने र मुख्य सन्देशमा सत्य र असत्य छुट्याउने काम गरेकी छन् ।

    ६. कात्ययानी –दुर्गाको छैटौं रुप कात्ययानी हो । कतका छोरा कात्या ऋषिको गोत्रमा जन्मीएका कात्ययानले कठिन तपश्या गरी दुर्गामातालाई छोरीको रुपमा पाएको हुनाले देवीको छैटौं रुपलाई कात्ययानीको रुपमा पुकारिन्छ । यस रुपमा वा नवरात्रको छैटौं दिनमा देवीले आफ्ना सम्पुर्ण इन्द्रियहरुलाई दानव महिसासुरको बध गर्नको लागि तयार गर्ने काम गरेकी छन् । महिसासुरले भगवान विष्णुबाट आफ्नो मृत्यु जल, थल र वायु कहि पनि नहोस तथा भाला, तरवार, खुंडा तथा कुनै पनि हतियारबाट नहोस भनि बरदान पाएको हुनाले उनको मृत्यु असम्भव थियो । त्यसैले देविको यहि रुपमा महिसासुरको मृत्यु कसरी र के बाट गर्ने भनि निश्चित गरिएको हुनाले यस दिन देविको पुजा गर्नाले नयाँ नयाँ ज्ञान प्राप्त हुने जनविश्वास रहि आएको छ ।

    ७. कालरात्री – दाँया ५ र बाँया ४ हात भएकी, दाँया हातमा त्रिशुल र तरवार तथा बाँया हातमा मुसल र दण्ड बोकेकी सबैलाई जित्न सक्ने, मार्न सक्ने क्षमता भएकी हुनाले कालरात्री भनिएको हो । असत्यको विनास गर्न सक्ने भएकी हुनाले विनाशिनी पनि भनिन्छ । महिसासुर लगायतका दानवहरुले देवताहरुलाई दुख दिएको हुनाले महिसासुरको नष्ट गर्न उत्पन्न भएकी नवदुर्गाले छैटौं दिन सम्म दानवहरुको सत असत छुट्याई बध गर्ने निश्चय गरी सातौं रुपमा कालरात्रीको रुपधारण गरी महिसासुरले भगवान विष्णुबाट पाएको वरदान समेत नष्ट हुने गरी आफ्नो काखमा राखि नङले महिसासुरको बध गरी असत्य माथि सत्यको विजय गरेकी छन । त्यसैले सप्तमीको रात्री पश्चात महाअष्टमीको दिन शक्तिपिठहरुमा राँगा, बोका, भेडाहरुको बली दिने तथा मार हान्ने चलन रहि आएको छ ।

    ८. महागौरी – नवदुर्गाको आठौं रुपलाई महागौरी भनिन्छ । शंख चक्र जस्तै गोरी यिनले सबै बस्त्र तथा पहिरण सेतो धारण गरेकी छन् । आठौं रुपलाई पनि दुई अवस्थामा व्याख्या गरिएको छ । पहिलो अवस्थामा शिवशक्तिको रुपमा किरा औसा उत्पन्न गरी मरेका महिसासुर लगायतका दानव शरिर तथा अन्य चिजलाई कुहाउने र सढाउने काम गरेकी छन् भने दोस्रो अवस्थामा गौरी रुपमा शान्त गराउने, सितलता दिने वा आफुले गरेको बधको क्षय गर्ने काम गरेकी छन् ।

    ९. सिद्धिधात्री – दाँया हातमा स्वस्तिक र कमल तथा बाँया हातमा अमृतघडा लिइएको नवदुर्गाको नवौं रुप सिद्धिधात्री हो । अणिमा, महिमा, गरिमा, लधिमा, प्राप्ति, प्राकम्प, इशित्व र वशित्व नाम भएका आष्ट सिद्धि दिन सक्ने भएकी हुनाले यिनलाई सिद्धिधात्री भनिएको हो । असत्य माथि सत्यको विजय गरी आफुले गरेको कामको सिद्धि गर्न सक्ने, आफुले गरेको यज्ञलाई पूर्ण गर्ने वा शुद्ध गर्ने काम यस रुपमा नवदुर्गाले गरेकी छन् । तसर्थ नवमीको दिन शक्तिपिठ तथा देविको पुजा आरधना गर्नाले यज्ञ पूर्ण तथा शुद्ध हुने र सिद्धि प्राप्त हुने जनविश्वास रहि आएको छ ।

    यसरी नवरात्रमा नवदुर्गाले नौ रुपधारण गरी असत्य माथि सत्यको, दानवता माथि देवताको र अमानवता माथि मानवताको विजय प्राप्त गरी शान्ति र सितलता प्रदान गरेकी हुनाले असोज शुक्लपक्षको नवरात्रमा देवी दुर्गाका नौ रुपको पुजा गर्ने सर्वश्रेष्ठ समयको रुपमा लिइन्छ । नवरात्रमा नवदुर्गाको पुजा, आरधना र उपासना गर्नाले सुख, शान्ति, आरोग्य, विद्या, बुद्धि, मानसम्मान र आर्थिक लाभ हुने जनविश्वास रहि आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार