२०८१ जेष्ठ १०, बिहिबार | Thu, 23, May, 2024

दशैंमा जमरा, टिका र आर्शीवादको महत्व यस्तो छ


८८५५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २१, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ – दशैँ, नेपालीहरुको सबैभन्दा महान चाड मात्र नभएर सर्वाधिक लामो समयसम्म मनाइने चाड पनि हो । सोह्र श्राद्ध शुरु हुँदानहुँदै दशैं लागेको अनुभूति हुन्छ । घरआँगन सफा गर्नेदेखि आवश्यक सामाग्रीहरु जोहो गर्नेसम्मका कार्यहरु हुन थाल्छन् । घरका ठूलाबडा सटहि पैसा, खसीबोका, अन्न, खाद्यन्न सामाग्री, पूजाआराधना लगायत आवश्यक कुराहरु व्यवस्थापन गर्नमा व्यस्त हुन्छन् भने बालबालिकालाई पिङ, चङ्गा, नयाँ लुगा, दक्षिणा र मीठो खानेकुराकै रौस हुन्छ । जे होस् दशैंमा रमाइलो गर्ने सबैको आआफ्नै तरिका छ ।

    तर, दशैँमा सबैका लागि उत्तिकै महत्व राख्ने तीन अपरिहार्य तत्त्व हुन् ः अक्षता, जमरा र आशीर्वाद । यी तीनविना दशैं खल्लो लाग्छ । बेरसिलो जस्तो । सरल भाषामा भन्दा, दशैं शुरु भएदेखि गरिने सम्पूर्ण क्रियाकलापको निकाश हुन् यी तीन तत्त्व । मान्यजनको हातबाट टीका, जमरा र आर्शीवाद थापेपछि मात्रै दशैं मनाएझैं लाग्छ । हुन त, हिन्दू परम्परा अनुसार अक्षता र आर्शीवाद हरेक शुभकार्य वा धार्मिक कार्यमा प्रयोग गरिन्छ । तर, दशैंको अक्षता र आर्शीवादको कुरै वेग्लै । जमराको उपस्थितिले झन् सुनमा सुगन्ध थपिदिए जस्तो लाग्ने । जे होस् अक्षता, जमरा र आशीर्वादले इतिहासदेखि नै छुट्टै विशेषता प्रतिबिम्बित गरिरहेका छन् ।

    जमरा
    धान, मकै, गहुँ, विशेषतः जौ आदिजस्ता अन्नबाट उम्रिएका ससाना पहेँलो टुसा नै जमरा हो । यसको प्रयोग दशैंमा मात्रै गरिने भएकाले पनि नेपाली संस्कृतिमा यसको महत्त्व झनै बढी भएको हुनसक्छ ।
    घटस्थापनाको दिन विधिवत् रुपमा माटोमा अन्न छरेर, सूर्यको प्रकाशभन्दा टाढै राखेर उमारिने जमरालाई सो दिनदेखि दशमीसम्म हरेक दिन पानी हालेर हेरविचार गरिन्छ ।

    अन्नबाट अंकुरित जमराले सांस्कृतिक महत्त्व त बोकेकै छ, यसका अतिरिक्त स्वास्थ्यको दृष्टिकोणले हेर्दा पनि यसको उपयोगिता कम छैन । हेर्दा सामान्य घाँसजस्तो लाग्ने जमरा मानव स्वास्थ्यका लागि अत्यन्तै लाभदायी मानिन्छ ।
    अंकुरित खानेकुरा स्वास्थ्यका लागि उपयागी हुन्छन् । जमरा पनि जौ, मकै, धान, आदिबाट अंकुरित हुने भएकाले यसको सेवनबाट भिटामिन, आइरन, कार्बोहाइड्रेट आदिजस्ता पौष्टिक तत्त्व प्राप्त गर्न सकिन्छ ।

    अक्षता
    ‘क्षत नभएको’ – अक्षता । नटुक्रिएको अन्न वा चामललाई अक्षता भनिन्छ । त्यसैले पहिला, धानबाट चामल निकाल्दा नटुक्रियोस् भनेर चन्दन घोट्ने काठले घोटेर चोखै सग्लो चामल निकालिन्थ्यो ।
    विस्तारै, सिलौटाको ढुंगाले घोटेर अक्षता बनाउन शुरु गरियो । अहिले भने धेरैजसोले खाने प्रयोजनका लागि मिलमा कुटाइएको चामललाई नै अक्षताका रुपमा प्रयोग गर्छन् । टुक्रिएको, नटुक्रिएकोसँग खासै मतलब राखिँदैन ।
    अक्षतामा दही र रङ्ग हालेर टीका तयार गरिन्छ । जुनसुकै रङ्ग प्रयोग गर्दा पनि हुन्छ तर, विशेषगरी दशैंमा रातो र सेतो रङ्ग बढी प्रचलित छ ।

    दशैँको आशीर्वाद
    दशैँमा दिइने आर्शीवाद छुट्टै र विशेष छ । अन्य अवसरमा टिका लगाइदिँदा सो आशीर्वादको उच्चारण गरिँदैन । विभिन्न देवता, आदिम युगका राजाहरुलाई सङ्केत गर्दै दिइने आशीर्वाद यसप्रकारको छ ः

    आयु द्रोणसुते, श्रीयं दशरथे
    शत्रुक्षयं राघवे, ऐशवर्यं नहुषे
    गतिश्च पवने, मानं च दुर्योधने
    सौर्यं सान्तनवे, वलं हलधरे
    सत्यंच कुन्तीसुते, विज्ञानं विदुरे
    भवन्तु भवतां कीर्तिश्च नारायणे ।
    अर्थात्…
    आयु द्रोणसुते
    द्रोणाचार्यको छोराको जस्तो आयु
    श्रीयं दशरथे
    दशरथ राजाको जस्तो सम्पत्ति
    शत्रुक्षयं राघवे
    रामले जस्तो शत्रु नाश गर्न सक्ने
    ऐशवर्यं नहुषे
    नहुष राजाको जस्तो ऐशवर्य
    गतिश्च पवने
    वायु देवताको जस्तो गति
    मानं च दुर्योधने
    दुर्योधनको जस्तो मान
    सौर्यं सान्तनवे
    सान्तनवेको जस्तो सौर्य (सान्तनु अर्थात् भीष्मपितामह)
    वलं हलधरे
    वलरामको जस्तो वल
    सत्यं च कुन्तीसुते
    कुन्तीका छोरा युधिष्ठिर जस्तो सत्यवादी
    विज्ञानं विदुरे
    विदुरको जस्तो ज्ञान
    भवन्तु भवतां
    त्यो सबै जस्तो तपाईं पनि हुन सक्नुस्
    कीर्तिश्च नारायणे
    नारायणको जस्तो कीर्ति

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार