२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

सरकारले श्रमको वातावरण सिर्जना गरिदिने हो- प्रमुख घिमिरे


२४३३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ५, मंगलबार मा प्रकाशित ४ साल अघि
  • बनेपा/दक्ष जनशक्ति उत्पादनमा आफूलाई अग्र स्थानमा उभ्याउँदै आएको भ्यू एक्टिभ कन्सल्टेन्सी प्रालिको सम्पर्क कार्यालय बनेपा काभ्रेद्वारा सञ्चालित १० महिने डकर्मी व्यवसाय लेभल २ तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं कार्यक्रमका प्रमुख अतिथि भोजराज घिमिरेले सरकारले श्रमको वातावरण बनाइदिने हो, अवसर जुटाइदिने हो, त्यसको उपयोग गर्ने क्षमता दक्ष जनशक्तिले राख्नुपर्ने बताउनुभएको छ ।

    यो तालिम पश्चात यो मुलुकमा मात्र नभई विश्वका १ सय ५८ वटा मुलुकमा दक्ष जनशक्तिको रुपमा बिक्न सक्ने क्षमता राख्दछ भन्नुहुँदै प्रमुख अतिथि घिमिरे थप्नुहुन्छ– तालिम प्राप्त जनशक्तिले आत्मनिर्भर बन्न क्रियाशील हुनुपर्नेछ । विदेशीने संस्कारबाट माथि उठ्न आवश्यक छ । दक्ष जनशक्तिले यही मुलुकमा अधिकृत स्तरको पारिश्रमिक प्राप्त गरिरहेको तथ्य हाम्रा अगाडी छ । राज्यले यस्ता किसिमका तालिमहरुमा गरेको लगानी फिर्ता माग्दैन मात्रै उसले आफ्ना नागरिकहरु दक्ष भएको हेर्न चाहन्छ । त्यसैले यो जनशक्ति यही मुलुक निर्माणमा समर्पित होस् भन्ने चाहना छ भन्नुहुँदै यो अवस्थामा विदेशीनुको कुनै तुक नभएको बताउनुहुन्छ । विदेशीन तयार हुन्छौं, ज्वाइँ जसरी सम्मान गर्ने यही मुलुकमा गएर काम गर्न लाज लाग्छ भन्नुहुँदै महाभारत गाउँपालिकासम्म गएर काम गर्ने हो भने त्यहाँ यो जनशक्तिलाई ज्वाइँ जसरी सम्मान दिएर काम गराइन्छ तर हामी नेपालीलाई यो पच्दैन । त्यसैले आफ्नो पसिना आफ्नै भूमिमा खर्चने जमर्काे गरौं । हामी कर्मचारीहरुको एउटा मात्र रोजगारदाता छ भने तपाईं दक्ष जनशक्तिहरुको सयौं रोजगारदाता छन् ।

    नेपालको शिक्षा नीतितर्फ इन्कित गर्दै प्रमुख घिमिरेको तर्क थियो– मास्टर गरेको प्रमाणपत्रले मकै भुट्ने क्षमता राख्दैन हाम्रो शिक्षा नीति, ऊ भोकै बस्न विवश हुन्छ तर एउटा प्राविधिक ज्ञान हासिल गरेको मजदुरले आफ्नो जीविकोपार्जन सरल र सहज ढंगबाट अगाडि बढाउन सक्छ । त्यसैले मास्टरको प्रमाणपत्रले खाना पकाउने क्षमता राख्दैन । यसले कागजी ज्ञान मात्र दिने हो तर प्राविधिक शिक्षाले बाँच्न र बचाउन सिकाउँछ । त्यसैले यो सीपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्दै सीपको सदुपयोग हुने अपेक्षा प्रमुख घिमिरेले राख्नुभएको थियो । कार्यक्रममा बनेपा नगरपालिकाका सामाजिक विकास अधिकृत चिरञ्जीवि अर्यालले बेरोजगार युवायुवतीका लागि यस्ता खालका सीपले दक्ष जनशक्तिको रुपमा स्थापित गर्नुको साथै दिगो विकासका लागि अनुकरणीय भूमिका खेल्ने धारणा राख्नुभएको थियो ।

    नेपाल शिक्षक संघका केन्द्रीय केशव खनालले राज्यले लिएको समृद्ध मुलुकका लागि यस्ता खाले तालिमहरु कोशेढुंगा सावित हुने र राज्यबाट बेरोजगार अन्तका लागि ठूलो महत्व रहने बताउनुभयो । यस किसिमका सीपले सुखद जीविकोपार्जनमा महत्वपूर्ण योगदान पु¥याउने खनालको राय थियो ।

    कार्यक्रमका बारेमा १० महिनासम्म प्रशिक्षकको भूमिकामा रहेका विजय सिंजाली मगरको तर्क थियो– राज्यबाट सञ्चालित यस्ता खाले तालिमले मुलुकमा व्याप्त रहेको बेरोजगार अन्तका लागि महत्वपूर्ण भूमिका रहने बताउनुभएको थियो ।
    त्यसैगरी प्रशिक्षार्थीहरुको तर्फबाट प्रिन्स घिमिरेको धारणा थियो– सिटीईभिटीले दिएको यस्ता खाले तालिमहरु व्यवहारिक र उपयोगी रहेको धारणा राख्दै आफूले स्नातकसम्मको ज्ञान हासिल गरेता पनि यो तालिम आफ्ना लागि मास्टर्स गरेभन्दा बढी भएको अनुभव सुनाउनुहुँदै यो व्यवसायिक तालिमले आयआर्जन र जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

    त्यस्तै अर्का प्रशिक्षार्थी सुधा परियार– महिलाहरु पनि समान कामको समान श्रम लिन सक्छन् भन्ने उदाहरण यो तालिम पश्चात आफूलाई अनुभूति प्राप्त भएको बताउनुहुँदै महिलाहरु सधैं भारी बोक्ने मात्रै हो त ? के उनीहरु दक्ष जनशक्तिको रुपमा आउन सक्दैनन् ? भन्ने जिज्ञासालाई चिर्ने जमर्काे सहित सामाजिक कुसंस्कारका विरुद्ध आफूले यो तालिम लिएको बताउनुहुँदै समान कामको समान ज्यालाबाट अब कसले छेक्दो रहेछ हेर्न मन लागेको खुलासा समेत परियारले गर्नुभयो । यो तालिमबाट आफूले छुट्टै किसिमको अनुभूति र अनुभव संगाल्ने मौका पाएको र यो तालिम पश्चात वैधानिक रुपमा हिजोको कुल्लीबाट आजको दक्ष जनशक्तिको रुपमा स्थापित हुने अवसर दिएकोमा नेपाल सरकार, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्प्रति आभार व्यक्त गर्दछु भन्नुभयो ।

    कार्यक्रमको अध्यक्षता भ्यू एक्टिभ कन्सल्टेन्सी प्रालिका मेनेजिङ डाइरेक्टर अर्जुन सापकोटाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रालिका अधिकृत मञ्जु शाहले गर्नुभएको थियो ।१० महिनासम्म चलेको उक्त तालिममा काभ्रे र काभ्रे आसपास जिल्लाका ४० जना, १६ वर्षदेखि ३५ वर्षभित्रका युवायुवतीहरुले सहभागिता जनाएका थिए । जसमा ३१ जनाले सिटीईभिटीको लेभल २ को परीक्षा उत्तीर्ण गरेका थिए । उनीहरुलाई प्रमुख अतिथि भोजराज घिमिरेबाट राष्ट्रिय सीप प्रमाणपत्र प्रदान गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार