२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कम्युनिष्ट सरकारले राम्रो काम गर्न नसके पाँच बर्ष पछि काँगे्रस छंदैछ-प्रचण्ड


२३२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २०, बुधबार मा प्रकाशित ४ साल अघि
  • बाँके – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पछिल्लो समय आफू सरकार र पार्टीको प्रचारक जस्तो भएको बताउनुभएको छ ।

    विजयादशमी, तिहार, नेपाल सम्वत् ११४०, छठ, ल्होसार, क्रिसमस डे र मोहम्मद डेको अवसरमा नेकपा बाँकेले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई मंगलबार नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी कार्यक्रममा देशभर पुगेर नागरिकका गुनासा सुन्ने मौका पाएको बताउनुभयो ।

    विभिन्न तह र तप्काबाट प्राप्त सुझाव र गुनासोहरु प्रधानमन्त्री र सचिवालयका वरिष्ठ नेतासँग राख्ने गरेको भन्दै प्रचण्डले आफू प्रधानमन्त्री नभए पनि प्रचारक हुन पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । इतिहासले आफूलाई विभिन्न कालखण्डमा महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै उहाँले अहिले प्रचारकको जिम्मेवारी पाएको बताउनुभयो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘५ वर्ष राम्रो गरे ५० वर्षसम्म पनि जनताको साथ र समर्थन हुन्छ । राम्रो काम गर्न नसके ५ वर्षपछि कांग्रेस छँदैछ ।’

    उहाँले प्रदेश ५ को राजधानी बहुसङ्ख्यक जनतालाई पायक पर्ने स्थानमा हुने भन्दै यसबारेमा पार्टीभित्र सहमति भइसकेको जानकारी दिनुभयो । नेकपा बाँकेका अध्यक्ष आईपी खरेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सभामुखसमेत रहनुभएकी नेकपा प्रदेश ५ कमिटीका अध्यक्ष ओनसरी घर्ती, सचिव जगप्रसाद शर्मा, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा, नेकपाका केन्द्रीय सदस्य दिनेश यादव, बाँके जिल्ला सचिव अशोक कोइराला, नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला लगायतले शुभकामना व्यक्त गर्दै चियापानको राजनीतिले सहमतिको राजनीतिलाई बल पुग्ने बताउनुभयो ।

    नेपालगञ्जका मेयर डा. राणाले कार्यक्रममा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्ने माग गर्नुभयो । ‘दाङसम्म राजधानी भए चित्त नबुझे पनि स्वीकार गरौँला’, राणाले भन्नुभयो, ‘बुटवल कुनै पनि हालतमा मान्दैनौँ, राजधानी घोषणा हुनासाथ आन्दोलन सुरु हुुन्छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार