२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

एक नेपाली बराबर ३६ हजार ५ सय २५ रुपैयाँ सार्वजनिक ऋण


२८७४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २४, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । नेपालको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ नजिक पुगेको छ । चालु आवको पहिलो तीन महिना १८ अर्ब रुपैयाँभन्दा बढीले सार्वजनिक ऋण बढ्दा कुल ऋण ११ खर्ब नजिक पुगेको हो ।

    महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार साउनदेखि असोज मसान्तसम्म तीन महिनामा सरकारले कुल २३ अर्ब ३९ करोड ४१ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको छ । यसै अवधिमा ६ अर्ब ३२ करोड १२ लाख रुपैयाँ ऋण तिरेको पनि छ । यसअनुसार तीन महिनामा १८ अर्ब ११ करोड रुपैयाँ सार्वजनिक थपिएको हो । अब नेपालको कुल सार्वजनिक ऋण १० खर्ब ८४ अर्ब ९३ करोड पुगेको छ ।

    यसमध्ये ४ खर्ब ५३ अर्ब ४९ करोड सार्वजनिक ऋण हो भने ६ खर्ब ३१ अर्ब ४७ करोड रुपैयाँ वैदेशिक ऋण हो । कुल सार्वजनिक ऋणलाई तथ्यांक विभागले सन् २०१९ का लागि प्रक्षेपण गरेको जनसंख्या २ करोड ९७ लाख ४ हजार ५ सय १ जनालाई भाग लगाउँदा एक नेपाली बराबर ३६ हजार ५ सय २५ रुपैयाँ सार्वजनिक ऋण पुगेको छ ।

    चालु आवको तीन महिनामा सरकारले बहुराष्ट्रिय निकायबाट १८ अर्ब ९ करोड ३७ लाख रुपैयाँ ऋण लिएको छ । द्विपक्षीय दाता (देशहरु)बाट ५ अर्ब ३ करोड ९८ लाख रुपैयाँ ऋण लिइएको छ । यस अवधिमा सरकारले कुल २६ करोड ५ लाख रुपैयाँ आन्तरिक उठाएको छ । यसरी तीन महिनामा मात्र कुल २३ अर्ब ३९ करोड ४१ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको हो ।

    अर्थ मन्त्रालयको तथ्यांक अनुसार सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ३१.३२ प्रतिशत पुगेको छ । अहिले नेपाली अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब ३१ करोड ९० लाख रुपैयाँ रहेको छ । कुल सार्वजनिक ऋण कूल ग्रार्हस्थ उत्पादनको ३१.३२ प्रतिशत हो । सार्वजनिक ऋणमध्ये विदेशी ऋण कुल ग्रार्हस्थ उत्पादनको १८.२३ र आन्तरिक ऋणको हिस्सा १३.०९ प्रतिशत रहेको तथ्यांक छ । अघिल्लो आवको अन्तिम (असार २०७६) सम्म सार्वजनिक ऋण कुल ग्रार्हस्थ उत्पादनको ३०.०६ प्रतिशत रहेको थियो ।

    कहाँबाट कति ऋण ?

    तीन महिनाको अवधिमा नेपालले सबैभन्दा बढी ऋण विश्व बैंकबाट लिएको छ । विश्व बैंक ग्रुपअन्तर्गतको इन्टरनेशनल डेभलपमेन्ट एशोसिएन (आइडीए)बाट ११ अर्ब ८७ करोड रुपैयाँ ऋण प्राप्त गरेको हो । एसियाली विकास बैंकबाट ६ अर्ब २१ करोड रुपैयाँ ऋण प्राप्त भएको छ । द्विपक्षीय मुलुकमध्ये सबैभन्दा बढी भारतबाट २ अर्ब ३३ करोड ९१ लाख ऋण प्राप्त भएको छ ।

    · विश्व बैंक : ११ अर्ब ८७ करोड

    · एसियाली विकास बैंक : ६ अर्ब २१ करोड

    · भारत : २ अर्ब ३३ करोड ९१ लाख

    · जापान : १ अर्ब ४४ करोड १६ लाख

    · चीन : ९० करोड ८८ लाख

    · कोरिया : २९ करोड ७९ लाख

    · साउदी अरेबिया : ५ करोड २२ लाख

    अनुदान समेत बढ्यो

    सरकारलाई विभिन्न निकायले दिने अनुदानमा समेत उल्लेख वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार तीन महिनामा सरकारले ७ अर्ब ४२ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको छ ।

    यस्तो रकम अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा १२३.४ प्रतिशतले धेरै हो । उक्त आवको तीन महिनामा ३ अर्ब ३२ करोड रुपैयाँ अनुदान प्राप्त भएको थियो । यस अवधिमा १५ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिवद्धता आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार