२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

रक्षक नै भक्षक, ठगे प्रहरीले बैक


२९१६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १, आईतबार मा प्रकाशित ४ साल अघि
  • रक्षामा खटिएका एक प्रहरी जवानले बैंकलाई नै झुक्याएर बढी भुक्तानी लिएको खुलेको छ । पर्सा जिल्ला घर भई जिल्ला प्रहरी कार्यालय जलेश्वरमा कार्यरत प्रज राजेश द्विवेद्वीले चेक किर्ते गरी बैंकबाट बढी रकम झिकेको कसुरमा उनलाई निलम्बन गरिएको छ ।

     

    महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार घटनापछि द्विवेद्वीलाई हिरासतमा राखी कारबाही सुरु गरिएको छ । उनले राष्ट्रिय वाणिज्य बैंकमा आफ्नै नाममा रहेको खाताबाट आफनै नाममा काटिएको चेकले कसरी ६३ हजार ठगी गरे ? घटना रोचक र अनौठो छ । उनको खाता नम्वर १२७००००१८५१ डी हो । यो खातामा प्रहरीले तलब पठाउने गर्छ । बिहीबार जलेश्वरस्थित राबा बैंकमा उनले आफ्नै नाममा काटिएको ३ र ४ हजारको २ चेक भुक्तानी लिन गए ।

    बैंक प्रबन्धक शिवशंकर यादवका अनुसार द्विवेद्वी युनिफर्ममा बैंक पुगेका थिए । ड्युटीमा रहेको ठानी बैंककर्मीले उनको सहुलियतका लागि प्रशासन काउन्टरमा पठाए । बैंकमा सामान्य ग्राहकको जेनरल काउन्टर र बिरामी लगायत विशेष अवस्थाका ग्राहकको सहुलियतका लागि प्रशासन काउन्टरबाट चेक भुक्तानी दिने व्यवस्था मिलाइएको हुन्छ । जेनरल काउन्टरमा ग्राहकको भिड रहन्छ । यो काउन्टर पुगेको चेक कम्प्युटर मिलान र भुक्तानी एकै ठाउँबाट हुन्छ ।

    तर, प्रशासन काउन्टरले भने चेकलाई कम्प्युटर रुजु गरी भुक्तानीका लागि अर्को काउन्टरमा पठाउँछ । यसमा भिड नहुँदा सहज भुक्तानी हुन्छ । यहींबाट द्विवेद्वीले बदमासी गरेको प्रबन्धक यादवको भनाइ छ । प्रशासन काउन्टरले उनको खाताबाट चेक रकम अनुसारको ३ र ४ हजार रुपैयाँ कम्प्युटर मिलानसहित सही पनि गर्‍यो । त्यो चेक लिएर भुक्तानी काउन्टरमा जाने बेला द्विवेद्वीले अंक र अक्षर थपे ।

    ‘अर्थात् द्विवेद्वीको खाताबाट ३ र ४ हजार रुपैयाँ मात्र घटाइयो तर भुक्तानी भने ३० र ४० हजार लिए,’ प्रबन्धक यादवले भने । साँझ हिसाब मिलान गर्ने बेला मात्र ६३ हजार बढी भुक्तानी भएको देखियो । छानबिन गर्दै जाँदा यसको रहस्य खुलेको प्रबन्धक यादवले जनाए ।
    यादवले भने, ‘बढी गएको रकम मिलान गर्न प्रशासन काउन्टरका अमरकान्त झाको नाममा कर्जा लेखियो । छानबिन गर्दा द्विवेद्वीको चेक अंकमा शून्य र अक्षरमा मात्रा थपेर ३० र ४० हजार बनाएको भेटिएपछि प्रहरीमा खबर गर्‍यौं ।’ प्रहरी उपरीक्षक अधिकारीले घटना जानकारीपछि बैंकसँग उजुरी लिई द्विवेद्वीलाई हिरासतमा राखी बैंक कसुर अपराधमा कारबाही सुरु गरिएको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार