२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सैनिकको मृत्यु, प्रहरी जवान पक्राउ


२३७१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ३, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-५, मुग्लिनमा भएको नेपाली सेनाका जवान राम कँडेलको मृत्यु रहस्यमय बनेको छ ।

    प्रहरीले हिरासतबाट भाग्ने क्रममा भिरबाट लडेर कँडेलको मृत्यु भएको दाबी गरेको छ । तर मृतकका आफन्तले कुटपिट गरेर कँडेलको हत्या गरिएको दाबी गर्दै आन्दोलन गरिरहेका छन् । नेपाली सेनाको बर्दबहादुर गण, सिन्धुलीमा कार्यरत् जवानको शुक्रबार बिहान मृत्यु भएको थियो ।

    प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसूरमा पक्राउ गरेर उनीविरुद्ध अनुसन्धान थालेको जनाएको थियो । जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताइअनुसार मदिरा सेवन गरेका उनले प्रहरीलाई समेत अभद्र व्यवहार गरेका थिए । ‘प्रहरीलाई पनि कुट्न थालेपछि नियन्त्रणमा लिएर प्रहरी पोष्ट, फिस्लिङमा ल्याएका थियौं’, उनले भनेका थिए ।

    कँडेल परिवारले भने प्रहरीको दाबीलाई अस्वीकार गर्दै आइतबार र सोमबार मुग्लिनमा सडक अबरुद्ध पारेको छ । मृतकका मामा विनोद घिमिरेले प्रहरीको दाबी झुठो भएको बताए । उनले भने, ‘मेलाबाट फर्किएर आउँदा कुनै पनि नराम्रो व्यवहार गरेको थिएन । प्रहरीले झुठो बोलेको हो ।’

    प्रहरीले कँडेलको हत्या गरेको दाबी गर्दै आफन्तले किटानी जाहेरी समेत दिएका छन् । जाहेरीपछि प्रहरी जवान ठाकुर ढकाललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकदेव कोइरालाले बताए । उनले भने, ‘विस्तृत कुरा थप अनुसन्धानपछि मात्रै खुल्छ ।’

    प्रदेश ३ का प्रहरी प्रमुख डीआईजी शेरबहादुर बस्नेतले पनि एक जना प्रहरी जवानलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताउँदै सम्पूर्ण तथ्य बाहिर आइनसकेकाले अहिल्यै निष्कर्ष निकाल्न नसकिने बताए

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार