२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

५० स्थानको नतिजा सार्वजनिक हुंदा नेकपाको २९ काँगे्रसको १२


२३५८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १६, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । देशभरका ५२ स्थानमा भएको उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर र धरानकै वडा नम्बर ७ को वडाध्यक्ष बाहेक अन्य ५० स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

    एकमात्र प्रतिनिधिसभा कास्की क्षेत्रनम्बर २ सहित २९ स्थानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार बिजयी भएका छन् । नेकपाले उपचुनावबाट यसअघि हारेका ३ गाउँपालिका थप्दा यसअघि जितेको एक प्रदेशसभा गुमाएको छ ।

    प्रदेशसभाका ३ सिटमध्ये भक्तपुर क्षेत्रनम्बर १ (क) कांग्रेस विजयी हुँदा दाङ क्षेत्रनम्बर ३ (ख)मा नेकपा र बागलुङ क्षेत्रनम्बर २ (ख)मा नेकपा समर्थित राजमोले जितेका छन् ।यसअघि जित्दै आएको धरान उपहानगरपालिकामा नेकपा मतगणनामा शुरुदेखि नै पछि छ । करिब १० हजार मत गन्न बाँकी रहदा नेकपा एक हजार मतले पछि परेको छ । धरानको वडा नम्बर ७ पनि यसअघि नेकपाले नै जितेको थियो ।

    नेकपाले प्रतिनिधिसभासहित दाङको प्रदेशसभा र उपनिर्वाचन भएका सबै गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष जितेको छ । उपनिर्वाचन भएका देशभरका ४३ वडामध्ये धरान गन्न बाँकी रहँदा २३ वडाध्यक्ष नेकपाले जितेको छ ।

    बागलुङको प्रदेशसभा सदस्यमा नेकपा समर्थित राष्ट्रिय जनमोर्चाले जितेको छ भने प्युठानको ऐरावत गाउँपालिका ३ को वडाध्यक्षमा स्थानीय नेकपा नेताहरुको समर्थनमा उम्मेदवार बनेका बागी उम्मेदवारले जितेका छन् । मतगणना सम्पन्न भएका ५० स्थानमध्ये नेकपा र नेकपा समर्थित उम्मेदवार सहित ३१ स्थानमा वामपन्थीले जितेका छन् । यसअघि कांग्रेसले जितेको फाल्गुनन्द गाउँपालिका अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष र यसअघि राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष उपचुनावबाट नेकपाले जितेको छ ।

    उपचुनावमा कांग्रेसले दुई गाउँपालिका गुमाए पनि भक्तपुरको प्रदेशसभा सदस्य थप गर्न सफल भएको छ । उपचुनावको मतगणना सकिएका ५० मध्ये कांग्रेसले एक प्रदेशसभा सदस्यसहित ११ वडाअध्यक्ष जितेर १२ स्थान आफ्नो पक्षमा पार्न सफल भएको छ ।

    त्यस्तै समाजवादी पार्टीले चार वडाध्यक्ष जितेको छ भने राष्ट्रिय जनता पार्टी नेपालले ३ वडाध्यक्ष जितेको छ । समाजवादीले एउटा वडा थप गरेको छ भने राजपाले एउटा गाउँपालिका अध्यक्ष गुमाएको छ ।

    मतगणनाको पछिल्लो परिणाम अनुसार दाङको क्षेत्र नम्बर ३ ‘ख’प्रदेशसभामा नेकपाकी विमला कुमारी खत्री ५ हजारभन्दा बढीको फराकिलो मतान्तरसहित प्रदेशसभा सदस्य निर्वाचित भएकी छन् । यसअघि सो क्षेत्रमा नेकपाकै उत्तरकुमार ओली निर्वाचित भएका थिए ।

    त्यस्तै बागलुङको क्षेत्र नम्बर २ ‘ख’ मा वाम गठबन्धनका खिमविक्रम शाही करिब २ हजार मतान्तरसहित प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । देशका तीनवटा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा भक्तपुर १ ‘क’मा यसअघि नै कांग्रेसका कृष्ण भँडेल निर्वाचित भएका थिए । उपचुनाव भएको एकमात्र प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर २ मा नेकपाकी विद्या भट्टराई ८ हजार ४ सय मतको फराकिलो अन्तरसहित विजयी भएकी छन् ।

    उपचुनाव भएका तीन गाउँपालिका अध्यक्षमध्ये पाँचथरको फाल्गुन्द गाउँपालिकामा नेकपाका वीरवहादुर कुरुम्बाङ विजयी भएका छन् । यसअघि त्यहाँ नेपाली कांग्रेसका अमर नेम्वाङ विजयी भएका थिए ।त्यस्तै संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा नेकपाकै तेजबहादुर पोखरेल विजयी भएका छन् । यसअघि पनि सो गाउँपालिकामा नेकपाले नै जितेको थियो । नेकपाले यसअघि राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा पनि विक्रम चौधरीलाई निर्वाचित गराउन सफल भएको छ ।

    हुम्लाका खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपाकी दीपा शाही निर्वाचित भएकी छन् । यसअघि सो गाउँपालिकामा नेपाली कांग्रेसले जितेको थियो । कांग्रेसले दुई गाउँपालिका र राजपाले एक गाउँपालिका गुमाउँदा नेकपाले तीन गाउँपालिका थप गरेको छ । वडाध्यक्षतर्फ भने नेकपा र कांग्रेसले आ-आफ्नो संख्या कायम राख्न सफल भएका छन् । तर नेकपाले यसअघि कांग्रेसले जितेका ७ वडामा आफ्नो जित निकालेको छ भने नेकपाले यसअघि जितेका ५ वडामा कांग्रेसले जितेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार