गाउँपालिकाको बैठकले वडा कार्यालयबाट दिइने सिफारिश सेवाको शुल्कबाहेक अन्य कुनै पनि प्रकारको कर नलिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष कर्ण थापाले बताए ।

कार्यालयबाट दिइने सेवामा कागज, मसी, प्रिन्टरलगायत वस्तुको प्रयोग हुने भएकाले त्यसका लागि मात्र शुल्क लिइएको थापाको भनाइ छ । ‘गाउँपालिकाले करको विषयमा गम्भीर छलफल गरी दीर्घकालीन रूपमा अन्य स्रोत पहिल्याउने तर कृषक वर्गलाई प्रत्यक्ष असर पर्ने वा भार पर्ने कुनै पनि वस्तुमाथि कर नलगाउने निर्णय गरेको हो,’ उनले भने ।

कृषक श्रमिक वर्ग भएकाले उनीहरूले उत्पादन गरेको वस्तुमा कर लगाउँदा अन्य उत्पादन महँगो हुने र आयातित कृषि उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन भई कृषक नै निराश हुने भएकाले कृषि उत्पादनमा कर लगाउने विषयमा गाउँपालिका पछि हटेको उनले बताए ।

गत आवमा गाउँपालिकाले निकासी कर तथा ढुंगा, गिट्टी, बालुवा लगायतका वस्तुमा कर लगाएको थियो । त्यस्तै अदुवा, अलैंची लगायतका कृषि उत्पादनमा प्रतिकिलो १ रुपैयाँ कर लगाइएको थियो । तर, गाउँपालिकाले कर लगाउँदा कृषकलाई मर्का परेको गुनासो बढेपछि यस वर्ष कृषि उत्पादनलगायत विभिन्न वस्तुको निकासी तथा पैठारीमा कुनै किसिमको कर नलगाइने थापाले बताए ।

गाउँपालिकाले गत आवमा अलैंची तथा अदुवा निकासी शीर्षकमा मात्रै करीब १४ लाख रुपैयाँ कर संकलन गरेको थियो । विभिन्न शीर्षकबाट गरी गाउँपालिकाले ४०/५० लाख रुपैयाँ आन्तरिक कर संकलन गरेको तथ्यांक छ । गाउँपालिकाका सबै वडामा अदुवा खेती हुने गरेको र वडा नम्बर ८ र ७ मा अलैंची खेती हुने गरेकोले यी खेतीलाई व्यवस्थित गर्न सके गाउँपालिकालाई प्रशस्त आम्दानी हुन सक्ने अध्यक्ष थापाले बताए ।