२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

राजपासंगको सहमति बिरुद्धमा उत्रीय नेकपाका नेताहरु


३१५९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ३, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ —  बुधबार साँझ राजपासँग भएको दुई सहमतिलाई लिएर नेकपाभित्रै प्रश्न उठेको छ । पार्टीको स्थायी समिति बैठकमा नेताहरुले के प्रयोजनका लागि राजपासँग अचानक सहमति गरेको भनेर प्रश्न उठाएका छन् ।

    राजपासँग भएको सहमतिप्रति नेता माधवकुमार नेपाल, वामदेव गौतम, घनश्याम भुसाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त र भीम रावललगायतका नेताहरुले असन्तुष्टि राखेका थिए।

    पार्टीको महत्वपूर्ण बैठक बसेको बेला मनपरी निर्णय किन गरेको भनेर नेता गौतमले आपत्ति जनाएका थिए। बैठकमा पहिला नै आफ्नो धारणा राखेका गौतमले बिहीबार राजपासँग भएको सहमतिबारे बोल्न समय मागेर धारणा राखेका थिए। ‘रातारात सहमति गर्ने तरिका पटक्कै ठीक भएन’ नेता गौतमको भनाई उद्धृत गर्दै एक सदस्यले भने।

    बिहिबारको बैठकमा केही मिनेट समय मागेर बोलेका रावलले नेकपा–राजपाबीचको दुई बुँदे सहमतिमा आपत्ति जनाए। स्थायी समितिका ती सदस्यका अनुसार रावलले पार्टीको महत्वपूर्ण बैठक चलेकै बेला जानकारी नगराई राजपासँग सहमति गरेर पार्टी नेतृत्वले विधि र पद्धति मिचेको आरोप लगाए।

    ‘पार्टी विधि र पद्धतिमा छैन भनेर आफै प्रतिवेदन लेख्ने अनि पार्टीको महत्वपूर्ण बैठक छलेर सुटुक्क सहमति गर्ने?’ बैठकमा रावलले उठाएको प्रश्न उद्धृत गर्दै एक सदस्यले भने। नेता रावलले सहमतिबारे बैठकलाई जानकारी दिनुपर्ने र यसको औचित्य पुष्टी गर्न माग गरे। उनले यो विषयमा एउटा कविता पनि सुनाएका थिए।

    बुधबार साँझ नेकपा र राजपाबीच भएको दुई बुँदे सहमति अनुसार राष्ट्रिय सभाको चुनावमा प्रदेश २ का ४ सीट मध्ये २–२ सीटमा नेकपा र राजपाले एक अर्काका उम्मेद्वारलाई सहयोग गर्ने छन्। यसबाहेक नेकपा–राजपाबीच ‘राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित रुपमा छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अगाडि बढाउने’ सहमति छ।

    सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको राजपासँग नेकपाले गरेको दुई बुँदे सहमतिले अनेकौ प्रश्न उठाएका बेला नेकपाभित्रै यसको आलोचना भएको हो।

    सम्भवत शनिवारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले यस विषयमा बैठकलाई जानकारी दिनेछन्। मंसिर २९ बाट शुरु भएको नेकपाको स्थायी समिति बैठकमा महासचिव विष्णु पौडेलबाहेक अरु नेताको धारणा राख्नेक्रम सकिएकाले बैठक शनिवार सक्ने तयारी छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार