२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सञ्चारमाध्यम बुर्जुवाका कब्जामा -पुष्पकमल


२५८१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १३, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले सरकार र पार्टीको विरोध सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट बढी भइरहेको बताएका छन् । सञ्चारमाध्यम र सामाजिक सञ्जालका स्रोत ‘बुर्जुवा’हरुको कब्जामा रहेको भन्दै त्यसको प्रतिकारको तयारी गर्न पनि उनले कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । नेकपा सम्वद्ध प्रेस संगठनले प्रधानमन्त्री निवासमा आयोजन गरेको कार्यक्रममा अध्यक्ष दाहालले ‘बुर्जुवाहरु’ले सूचना प्रविधिको दुरुपयोग गरिरहेको भन्दै उनीहरुलाई जित्नेगरी आफ्ना हतियार धारिलो बनाउन निर्देशन गरेका थिए।

    ‘दुर्भाग्यवश सूचना प्रविधि बुर्जुवाहरुकै हातमा छ अहिले पनि र उनीहरुले त्यसलाई नराम्रो ढंगले दुरुपयोग गरिरहेका छन्। हामीले बिस्तारै त्यो प्रविधिलाई जनताको हितमा प्रयोग गर्ने जमर्को गरिरहेका छौं। त्यसकारण यसमा मेहनत गरेर सिपालु बन्नुपर्छ। यसका प्राविधिक पक्ष, यसको प्रस्तुतिका विधि पत्ता लगाएर बुर्जुवाहरुलाई जित्नुपर्छ’, दाहालले भने, ‘यो जितका लागि तपाईंहरुको यो बटालियन कति सक्षम छ। तपाईंहरुले दिएका हतियार कति धारिला हुन्छन्। कति तिखो हुन्छन्। विरोधीको हतियारलाई काउन्टर गर्नका लागि व्यवस्थित स्रोत र साधन कति व्यवस्थित हुन्छन् भन्ने कुरा जित र हारको फैसला हुनेवाला छ।’

    वर्तमान विश्व परिस्थिति र जनमत एक लेख र समाचारकै वरिपरी घुम्न थालेको भन्दै दाहालले अग्रमोर्चाको लडाईं जित्नका लागि नयाँ मोर्चाको तयारी थाल्न निर्देशन दिए। उनले कसरी पार्टीको पक्षमा काम गर्ने भनेर तयारीसहित कार्यक्रम बनाउन आग्रह गरेका थिए। विगतमा सत्ताबाट बाहिर भएकाहरु गणतान्त्रिक सरकारलाई हटाउने खेल रच्न थाल्ने उनको भनाइ थियो।

    ‘यी दुःख पाएका गरिब, श्रमजिवीहरु धेरै धन पनि नभएका, बुद्धिपनि नभएकाहरुले मिलेर हाम्रो लडाई‌, हाम्रो राज्य उल्ट्याउन, हामीलाई गद्दीबाट गहल्त्याउलान् भन्ने उनीहरुले पत्याएका थिएनन्’, दाहालले भने, ‘उनीहरुसँग पैसाको तागत हुन्छ। उनीहरुसँग अनुभवको तागत हुन्छ। उनीहरुसँग शासनसत्ता कसरी चलाउने भन्ने अनुभव हुन्छ। यी कुराहरु प्रयोग गरेर फेरी प्रतिक्रान्ति गर्ने तानाबाना बुन्छन्।’

    तत्कालिन नेकपा एमाले र माओवादीबीच विचार मिलेर नै एकता भएको दाहालको भनाई थियो। उनले पार्टी कार्यकर्तालाई विचार मिलेर नै उपयुक्त समय रोजेर पार्टी एकता भएको बताए। पार्टी एकताका विषयमा जनतालाई राम्रोसँग बुझाउन नसकिए पार्टीलाई खतरा हुने उनले बताए। पार्टी एकताका मर्म र भावना गम्भिरतापूर्वक बुझ्न उनले आगह्र गरे। पार्टी एकता सत्ता प्राप्तिका लागि मात्रै नभएको उनको दाबी थियो।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार