२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँच किलो चामल राहत बोक्दै गर्दा घरमा २४ लाखको विटोमा आगलागी


३४३३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र २४, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । सामुदायिक वनको छेउमा बासको टाटीले बेरेको फुसको घर, झापाको कनकाई नगरपालिका-३, सुरुङ्गामा रहेको यही घरमा शनिबार दिउँसो एक्कासी आगो लाग्यो । घरमा आगो दन्किरहँदा घरधनी अन्दाजी ५० वर्षीय ठाकुरसिंह राई भने कनकाई नगरपालिकाको कार्यालयमा थिए ।

    विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९) नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि उनलाई हातमुख जोड्न समस्या हुनसक्ने स्थानीयले कल्पना गरेका थिए । कनकाईकी उपमेयर मञ्जु प्रसाईंका अनुसार त्यही सोचेर उनलाई राहत लिन बोलाइएको थियो । तर, राहत स्वरुप पाँच किलो चामल, एक किलो दाल र तेल लिएर फर्किन नपाउँदै उनको झुपडीमा दमकल र प्रहरी प्रशासन आगो नियन्त्रणमा जुटेको थियो ।

    दैनिक मजदुरी गरेर छाक टार्ने उनलाई देखेका स्थानीय प्रहरीले कुनै सामान जोगाउन सकिन्छ कि भनेर बाहिर पनि निकाल्दै थिए । तर, जब घरभित्र रहेको टिनको बाकस सार्दा प्रहरी अधिकारीले हजार रुपैयाँको नोट देखेर उठाउने प्रयास गरे, त्यतिबेला एउटा नोट मात्र होइन, बण्डलैबण्डल फेला परे ।

    इलाका प्रहरीका कार्यालय, सुरुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) पदम लिम्बुका अनुसार बाल्टी र बाकस मुनि राखिएको गरी ठाकुरसिंह राईको झुपडीबाट ९ लाख रुपैयाँ बरामद भएको थियो । कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली र उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरिया समेतको रोहबरमा गणना गर्दा आधा जलेका पुराना नोट ५ देखि ६ लाख रुपैयाँ पनि भेटिएको लिम्बु बताउँछन् ।

    ‘अहिलेको समयको चल्ने नोट चाहिँ ९ लाख हो, अरु जलेका छन्’, उनले भने, ‘नम्बर चाहिँ देखिने भएकाले ती नोट पनि चल्छन् भन्ने हिसाबमा जम्मा १५ लाख हुन सक्ने अनुमान गरेका हौं ।’ राईले घरमा २४ लाख रुपैयाँ रहेको दाबी गरेका छन् । धेरै नोटहरु जलेकाले उनको दाबी पुष्टि हुन सकेको छैन । घरमा कति रकम थियो भन्ने प्रहरी अनुसन्धानको अर्को पाटो होला ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार