२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

११ जनाको हत्या, ५७ जनाले गरे आत्महत्या


२१६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २९, सोमबार मा प्रकाशित ४ साल अघि
  • २९ वैशाख, जनकपुरधाम । धनुषाको शहीद नगरपालिका-९ बिर्ता निवासी सौंखी सदालाई उनकै छोरा नथुनीले खन्ती -माटो खन्ने घरेलु हतियार) प्रहार गरी वैशाख ७ गते राति हत्या गरे ।

    २९ वर्षीय नथुनीले ५५ वर्षीय पिता सौंखीसँग रकम मागेका थिए । सौंखीले ‘म तिमीलाई रकम दिन्छु कि तिमी मलाई दिने हो’ भनेपछि दुवैबीच विवाद हुँदा नथुनीले सौंखीको टाउकोमा खन्ती प्रहार गरेका थिए । एकै पटकको प्रहारबाट उनको घटनास्थलमै मृत्यु भयो ।

    वैशाख ७ गते साति नै रौतहटको कटहरिया नगरपालिका-१ भसेडबामा २५ वर्षीय संजीव रायको उनकै समूहका केही व्यक्तिले कुटपिट गर्दा मृत्यु भयो । राति ९ बजेतिर घर नजिकैको टोलमा गएका उनलाई केही व्यक्तिले लालबकैया नदी किनारमा लगेर कुटपिट गरेका थिए ।

    वैशाख ८ गते पर्साको वीरगन्ज महानगरपालिका २५ मौजेसिर्सिया टोलका २६ वर्षीय रवि पटेलको शव हत्या गरिएको अवस्थामा वीरगन्जको सुख्खा बन्दरगाहाको टाउन प्लानिङ्ग क्षेत्रमा फेला पर्‍यो । बिहान शौच गर्न निस्किएका स्थानीय महिलाले शव देखेपछि गाउँमा जानकारी गराएका थिए ।

    त्यसअघि, चैत ३० गते सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका-१ भारदहस्थित सडक छेउमा स्थानीय ज्ञानु साहका १७ वर्षीय छोरा सुरज साहको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । लागूऔषध प्रयोगकर्ता उनलाई उनकै साथीले टाउकोको पछाडिको भागमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको अनुसन्धानबाट खुल्यो ।

    आइतबार मात्रै महोत्तरीको गौशाला नगरपालिका-४ बिर्ताका दिलीप ठाकुरको हत्या गरिएको अवस्थामा बिर्ता बस्तीकै मकै बारीमा शव फेला परेको छ । ४५ वर्षीय उनको टाउकोमा गम्भीर चोट लागेको र टाउकोमा चिर्पट प्रहार गरेको देखिएको प्रदेश प्रहरी कार्यालय जनधपुरधामले जनाएको छ ।

    लकडाउन सुरु भएको दिन २०७६ चैत ११ गतेदेखि हालसम्म प्रदेश २ मा ११ जनाको हत्या भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार सबैभन्दा बढी पर्सामा पाँच जनाको हत्या भएको छ । महोत्तरीमा दुई जना, सप्तरी, धनुषा, रौतहट र बारामा एक/एक जनाको हत्या भएको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

    लकडाउनको अवधिमा प्रदेश २ मा ११ जनाको हत्या प्रयास भएको छ । धनुषा र सर्लाहीमा तीन/तीन, पर्सामा दुई, सप्तरी, रौतहट र बारामा एक/एक जनाको हत्या प्रयास भएको भन्दै प्रहरीमा ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा दायर भएको छ ।

    यो अवधिमा भवितव्य ज्यान शीर्षकामा प्रदेश २ मा ३२ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये सिरहामा १०, धनुषा र पर्सामा ६/६, सप्तरी, सर्लाही र बारामा ३/३ तथा रौतहटका एउटा मुद्दा रहेको छ ।यस्तै, फुटकर ज्यान सम्बन्धी पाँचवटा मुद्दा दर्ता भएकोमा ३ वटा सप्तरीमा र धनुषा र बाराका एक/एक वटा मुद्दा रहेको प्रहरीले जनाएको छ ।

    १७ वटा बलात्कारका घटना

    डेढ् महिनाको अवधिमा महिला र बालबालिकामाथि हुने हिंसा र अपराधका घटनामा पनि प्रदेश २ मा कमी आएको छैन ।

    प्रहरीको तथ्यांकमा यो अवधिमा १७ वटा बलात्कार र दुईवटा बलात्कार प्रयासका घटना भएका छन् भने एउटा बाल यौनदुराचारको घटना भएको छ ।

    बलात्कारका सबैभन्दा धेरै बारा ५ वटा घटना भएका छन् । सर्लाहीमा ३, सिरहा, धनुषा र रौतहटमा २/२ तथा सप्तरी, महोत्तरी र पर्सामा १/१ वटा त्यस्ता घटना भएको प्रहरीले जनाएको छ ।

    महोत्तरी र बारामा एक/एकवटा बलात्कार प्रयासका घट्ना भएका छन् भने सर्लाहीमा एउटा बाल यौनदुराचार सम्बन्धी मुद्दा परेको छ ।

    बारा जिल्लामा जबरजस्तीकरणी तथा गर्भपतन शीर्षकमा एउटा मुद्दा दर्ता भएको प्रद्श प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

    ५७ जनाले गरे आत्महत्या

    लकडाउन लगाइएको डेढ् महिनाकै अवधिमै प्रदेश २ मा ५७ जनाले आत्महत्या गरेका छन् ।

    सबैभन्दा धेरै सिरहा र बारामा आत्महत्या भएको तथ्यांक प्रहरीसँग छ । यी दुई जिल्लामा १०/१० जनाले आत्महत्या गरेका छन् । धनुषामा ९ जना, सर्लाही र रौतहटमा ७/७ जना, पर्सामा ६, सप्तरीमा ५ र महोत्तरीमा ३ जनाले आत्महत्या गरेका छन् । ५७ जना मध्ये ती मध्ये ५३ जनाले झुण्डिएर, ३ जनाले विष सेवन गरेर र एक जनाले हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

    सुरक्षाकर्मीलाई छल्दै लागूऔषध कारोबार

    लकडाउनलाई कडाई गर्न सीमा क्षेत्रदेखि गा्रमीण क्षेत्रसम्म सुरक्षा व्यवस्था कडाई गरिएको छ । तर, स्ुरक्षाकर्मीलाई छलेर लागूऔषध कारोबार भइरहेको छ ।

    लकडाउनको डेढ महिना अवधिमा प्रदेश २ का आठ जिल्लामध्ये सात जिल्लाबाट लागूऔषधसहित मानिसहरु पक्राउ परेका छन् । रौतहटबाहेक सातवटा जिल्लाबाट लागूऔषधसहित केही व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।

    यो अवधिमा ३४ वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ । सबैभन्दा बढी सिरहामा १० वटा, धनुषामा ८, सर्लाहीमा ५, पर्सामा ४, महोत्तरीमा ३ तथा सप्तरी र बारामा २/२ वटा मुद्दा दर्ता भएका छन् ।

    सामाजिक अपराध पनि रोकिएन

    प्रदेशमा लकडाउनको समयमा पनि सामाजिक अपराध रोकिन सकेको छैन् । सामाजिक अपराध अन्तर्गतको विभिन्न शीर्षकमा ८४ वटा मुद्दा दर्ता भएका छन् ।

    प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक -एसपी) जयराज सापकोटाका अनुसार केही सार्वजनिक अपराधमा २८ वटा, सार्वजनिक शान्तिविरुद्वको अपराधमा २२ वटा, सार्वजनिक हित स्वास्थ्य सुरक्षा विपरीतको कसुरमा ३१ वटा, अभद्र व्यवहारमा २ वटा तथा कुटपिट अंगभंग शीर्षकामा एउटा मुद्दा दर्ता भएको छ ।

    केही सार्वजनिक अपराध शीर्षकामा रौतहटमा १०, धनुषामा ८, सिरहामा ७, सप्तरीमा २ र महोत्तरीमा १ वटा दर्ता भएको छ ।सार्वजनिक शान्तिविरुद्वको अपराध सम्बन्धी सबैभन्दा धेरै पर्सामा १४, धनुषामा ६ तथा सर्लाही र रौतकटमा १/१ वटा मुद्दा दर्ता भएको छ । सार्वजनिक हित स्वास्थ्य सुरक्षा विपरीत कसुरमा बारामा २९ र पर्सामा २, अभद्र व्यवहार शीर्षकामा सर्लाहीमा २ र कुटपिट अंगभंग मुद्दा सप्तरीमा एउटा मुद्दा दर्ता भएको छ ।

    प्रहरी भन्छ-सबै सतर्क हुनु जरुरी

    डेढ महिनामा ११ जनाको हत्या भए पनि प्रहरी पहिलाको अवस्थामा भन्दा अपराधका घटनामा कमी आएको बताएको छ । ‘जुन हत्या भएको छ, त्यो घरायसी र सामाजिकस्तरमा भएको देखिएको छ,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी जयराज सापकोटाले भने, ‘घरायसी र सामाजिक अपराध देखिए पनि खुला अवस्थाभन्दा कम हो ।’

    यद्यपि, आत्महत्याको दर भने बढेको उनले बताए । ‘आत्महत्या बढे पनि अरु घट्ना कम नै हो,’ उनले थपे, ‘अपराधिक घटना हुन नदिन सबैलाई सतर्क रहनु जरुरी छ ।’लकडाउनको समयमा बालबालिकालाई एकान्त कुनामा जान नदिने, कसैलाई विश्वास नगर्ने, घरपरिवारसँगै बस्ने, अपराधिक कृयाकलापमा नलाग्न सुझाव दिन्छन् उनी ।

    कसैले अपराध गर्न लागेको थाहा पाए लगत्तै प्रहरीको सहयोग लिन आग्रह गर्दै उपरीक्षक सापकोटाले सम्बन्धित जिल्लाको १०० मा फोन गरेर सूचना दिन सबैसँग आग्रह गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार