१८ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्षनेताहरुले पार्टी फुटको संघारमा पुगेको निष्कर्ष निकालेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने गरी अध्यादेश ल्याउन लागेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको आरोप छ ।
स्थायी कमिटी बैठक चलिरहेका बेला गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाटै भारतले आफूलाई पदबाट हटाउन खोजेको र नेपालकै नेताहरु त्यसमा लागेको अभिव्यक्ति दिएलगत्तै नेकपाको विवाद सघन बनेको हो । पार्टीभित्रको अन्तरविरोध साम्य हुनुको साटो झन् झन् चर्किएको छ ।
प्रधानमन्त्री ओलीले बिहीबार संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि विवाद झनै चुलिएको छ । ओलीले संसदीय दलमा ४० प्रतिशत संख्या भए दल फुटाउन सकिने अध्यादेश ल्याउने तयारी गरेको अर्को पक्षको दाबी छ । विद्यमान कानूनअनुसार पार्टी विभाजनले मान्यता पाउन केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत चाहिन्छ ।
बुधबार साँझ प्रचण्ड र नेपाल पक्षका ३० जना स्थायी कमिटी सदस्य झम्सिखेलमा भेला भएका थिए । सो भेलाले ओलीले दुबै पद छाड्नुपर्ने नेताहरुको माग अनुमोदन मात्र गरेन, पार्टीको निर्णय मान्छु भनेर आए मात्रै प्रधानमन्त्रीसँग वार्ता गर्ने शर्त राख्यो ।
त्यसको काउन्टरमा प्रधानमन्त्री ओलीले बिहीबार मन्त्रिपरिषद् बैठक बोलाए । संघीय संसद अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्रीको तयारी थाहा पाएपछि अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले टेलिफोनमा सम्वाद गरे । मन्त्रिपरिषद् बैठक नबस्ने र स्थायी कमिटी बैठकलाई नै निरन्तरता दिने सहमति भएपछि प्रचण्डले बैठक सुरु गरे । केशव बडाल र अमृत बोहोरा बोले ।
तर, सुरुमा प्रधानमन्त्री निकट र त्यसपछि अरु मन्त्रीहरु पनि क्याबिनेटमा बोलाइयो भन्दै हिँडे । गृहमन्त्री रामबहादुर थापा बादल, पर्यटनमन्त्री योगेश भट्टराईहरु पुग्दा त बैठक सकिसकेको थियो । र, संघीय संसदको चालु अधिवेशन बिहीबार साँझ ५ बजे नै अन्त्य गर्न सिफारिस गर्ने निर्णय भइसकेको थियो ।
प्रतिक्रिया दिनुहोस