काठमाडौं – अख्तियारले गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी बनाएर जग्गा बेचबिखन गर्ने सहयोग गरेको अभियोगमा मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
नेपालको गेरमी गाविसमै मृत्यु भएको भनी नाता प्रमाणित, मृत्युदर्ता प्रमाणपत्रलगायतका गलत कागजात बनाई सम्बन्धित हकवाला व्यक्ति नै फरक पारी साविक मुलुकी ऐन अपुतालीको महलको १७ नं. तथा मुलुकी देवानी संहिता, २०७४ को दफा २४८ बमोजिम नेपाल सरकारको नाममा आउनुपर्ने क्षेत्रफल ३२.२.१७.२५ बिघा जग्गासमेत भारतीय नागरिक पिएस मेहराको छोरा अनुप मेहराबाट बिक्री वितरण गराउने कार्यमा भूमिसुधार कार्यालय, मालपोत कार्यालय, नवलपरासीका कर्मचारीहरू तथा स्थानीय निकायबाट सिफारिस दिने कर्मचारीहरू भएको प्रमाणित भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अस्तित्वमै नरहेका प्रेमशरण खत्रीका नाममा कायम रहेका जग्गाहरू सम्बन्धित सरकारी कर्मचारी र गलत प्रवृतिका व्यक्तिसँगको मिलेमतोमा अनुप मेहरा भन्ने भारतीय नागरिकलाई अनुपकुमार खत्री बनाई उनकै नामबाट उल्लिखित जग्गा विभिन्न व्यक्तिविशेषलाई बिक्री वितरण गरी हाल ती जग्गा देवेन्द्रसिंह सैथवार, आशकुमार सैथवार, बृजमनि सैथवार, इन्द्रावती सैथवार, अमनसिंह सैथवार (नाबालक), तेजप्रतापसिंह सैथवार (नावालक), रितुकुमारी सैथवार, शिवलाल चमार, प्रदीप सुनार, तेजश्व सोनकर, पूर्णिमाकुमारी बर्मा सुनार र प्रियंका कुमारी बर्मासमेतको नाममा कायम रहेको पाइएको छ ।
अख्तियारले उनीहरूलाई प्रतिवादी कायम गरी उक्त जग्गामा कायम रहेको मोहियानी हक सुरक्षित हुने गरी नेपाल सरकारको नाममा कायम हुन मागदाबी गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस