२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

नमोबुद्ध नगरपालिकाले सार्वजनिक गर्यो १ वर्षको उपलब्धि , कामका बारेमा विपक्षीले पनि गरे प्रशंसा  – जिसस प्रमुख गौतम


९२८३ पाठक संख्या
  • २०८० जेष्ठ ११, बिहिबार मा प्रकाशित १0 महिना अघि
  • काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधीले १ बर्षमा गरेको काम र कार्यशैलीकको जिल्ला समन्वय समिति, राजनीतिक दल, नागरिक समाज लगायत सरोकारवालाले प्रशंसा गरेका छन् ।

    २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधीले जनताको सेवामा विताएको १ बर्षको अवधीको काम सार्वजनिक गर्न आयोजित कार्यक्रमका वक्ताले नमोबुद्ध नगरपालिकामा जनप्रतिनिधीले १ बर्षको अवधीमा गरेको काम र प्रयास सह्रानीय भएको प्रतिकृया दिए ।

    जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले नमोबुद्धमा जनप्रतिनिधीले गरेका कामका बारेमा विपक्षीले पनि विरोध गरेको सुनिएन प्रशंसा मात्रै सुनियो बताउनु भयो । ‘नमोबुद्ध नगरमा हुने कार्यक्रममा देखिने उपस्थिती साथै समर्थन देख्दा यहाँका जनप्रतिनिधीले गर्नुभएको काम र कार्यशैली राम्रो भएको प्रष्ट देखिन्छ, प्रमुख गौतमले भने, ‘एक बर्ष अघि आजकै दिन नगर प्रमुख कुन्साङ लामा, उपप्रमुख रत्नबहादुर लामा लगायत जनप्रतिनिधीलाई पेश्की बधाई दिएको थिए, १ बर्षको अवधीमा गरेका काम देख्दा र सुन्दा त्यो पेश्की फच्र्यौट भयो । ’ जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले नमोबुद्ध नगरपालिकाको कार्यशैलीबाट सबैले सिक्नुपर्ने प्रतिकृया दिए ।

    नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले सुशासन र पारदर्शितामा नमोबुद्धले जोड दिएको पाइएको भन्दै सामाजिक विकासको क्षेत्रमा अन्य स्थानीय तहको भन्दा बढी समन्वय नमोबुद्धले गरेको भन्दै प्रशंसा गरे । नेकपा एमाले नमोबुद्धका अध्यक्ष कृष्णप्रसाद खनालले हालको नेतृत्वले राम्रो काम गरिरहेको भन्दै प्रशंसा गरे । ‘नराम्रो गरेका भए त हामी नराम्रो नै भन्थ्यौ, तर अहिलेको नेतृत्वले राम्रो काम गरेको छ,’ उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति पुष्कर न्यौपानेले कृषक लक्षित कार्यक्रम ल्याउन नगरलाई अनुरोध गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष नवराज सत्यालले वर्तमान नेतृत्वले पारदर्शितामा जोड दिदै राम्रो काम गरिरहेको पाएको प्रतिकृया दिए ।

    कार्यक्रममा नगर प्रमुख कुन्साङ लामाले नगरपालिकाले सामाजिक विकासलाई मुख्य प्राथमिकता निर्धारण गरी सुशासनयुक्त नगरको परिकल्पना सहित कृषि, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकूद, पर्यटन, जेष्ठ नागरिक, युवा तथा महिला सशक्तीकरण, उद्यमशीलताका साथै भौतिक पूर्वाधार विकासको कार्यहरु अघि बढाएको बताए । हरेक योजना र कार्यक्रमलाई उत्पादन र उत्पादकत्व वृद्धि, रोजगार प्रवद्र्धन र आय बृद्धिसंग जोड्दै वितरणमुखी भन्दा उत्पादनमुखी कार्यक्रम संचालन गरिरहेको भन्दै उनले आहतमा परेका नगरवासीलाई राहत हुनेगरी राहत, रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा विशेष जोड दिएका बताए ।

    उपप्रमुख रत्नबहादुर लामाले एक बर्षमा जनताको सेवा र हितको लागि अधिकतम प्रयास गरिएको भन्दै केही कमजोरी भए सच्याउदै लैजाने प्रतिकृया दिए । प्रवक्ता टिकाबहादुर केसीले १ बर्षको अवधीमा जनताले अनुभूती हुने काम गरेको प्रतिकृया दिए । वडा नं ७ का अध्यक्ष धर्मसिं लामाले नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न प्रकृया अघि बढाइसकेको प्रतिकृया दिए । निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिराज अर्यालले पु“जीगत खर्च बृछि गर्दै विकासमा योगदान गर्न लागिएको बताए ।

    एक बर्षको प्रगति प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा जनप्रतिनिधीका अलावा नगर भरका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विद्यालय, स्वास्थ्य संस्थाका प्रमुख, प्रतिनिधीको सहभागिता थियो ।

    एक बर्षे अवधिमा नगरको तर्फबाट भएको उपलब्धि यस्ता छन्

    बजार क्षेत्रमा निशुल्क वाइफाइ
    नमोबुद्ध नगरपालिकाको बजार क्षेत्रमा निशुल्क इन्टरनेटको व्यवस्था गरिएको छ । वल्र्ड लिकं कम्युनिकेशन्ससंगको सहकार्यमा नमोबुद्ध नगरपालिकाले वी.पी. राजमार्गको नौबिसे चोक, भकुण्डे बजार देखि बुच्चाकोट सम्मका ६ स्थानमा फ्रि वाइफाइको व्यवस्था गरिएको हो । जनप्रतिनिधी निर्वाचित भएको १ बर्ष पुगेको उपलक्ष्यमा सो घोषणा गरिएको हो । बिहिबार एक कार्यक्रमका विच जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, नगर प्रमुख कुनसाङ लामा र वल्र्ड लिंकका बागमती प्रदेश म्यानेजर निकेश अधिकारीले सेवा शुभारम्भ गरे । नमोबुद्ध देखि काक्रे बजार सम्मको क्षेत्रमा पनि छिट्टै व्यवस्था गर्ने नगरपालिकाले जनाएको छ ।

    निशुल्क स्वास्थ्य परिक्षण निशुल्क औषधी

    नमोबुद्ध नगरपालिकामा १८ बर्ष माथिका नागरिकको निशुल्क स्वास्थ्य परिक्षण सुरुवात गरिएको छ । नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले रक्तचाप, मधुमेह (सुगर), अल्कालिन, प्रोटिन परिक्षण निशुल्क र एक बर्षसम्म निशुल्क औषधीको व्यवस्था मिलाइएको हो । परिक्षण गर्दा स्वास्थ्य समस्या देखिएकालाई नमोबुद्ध–४ स्थित मेथिनकोट अस्पतालबाट थप परिक्षण गरी एक बर्षसम्म औषधी समेत निशुल्क उपलव्ध गराइने छ । नगरपालिकाका ११ वटै वडाका विभिन्न १०७ स्थानबाट स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

    बालमैत्री स्थानीय नगर अभियान

    नमोबुद्ध नगरपालिकामा बालमैत्री स्थानीय शासन सुरुवात गरिएको छ । नगरपालिकाको टोली बालमैत्री स्थानीय शासन अध्ययन गर्न नेपालको पहिलो बालमैत्री नगर सुनवल पुगेर बालमैत्री नगर घोषणाको तयारी, यसको दिगोपना लगायतका विविध पक्षबारे जानकारी लिएको छ । फर्किए लगत्तै नगरपालिका स्तरीय बाल सञ्जालको बैठक बसेर विभिन्न कार्यक्रम तय गरिएका छन् । सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएको र ११ वटा वडामा बालमैत्री वडा समिति र बाल अधिकार वडा समिति पुनर्गठन भइसकेका छन् । नगरपालिकाले हालै ४० सामुदायिक विद्यालय र ६ संस्थागत विद्यालयमा बालमैत्री सूचकहरुको अनुगमन समेत गरेको छ । सामुदायिक विद्यालयका बालमैत्री शिक्षक र नगरका कर्मचारीलाई बालमैत्री अभियान बारेमा अभिमुखिकरण सञ्चालन गरिएको छ । जनप्रतिनिधी र वडा सचिव, बाल क्लव सञ्जाल र समूहका बालबालिकालाई बालमैत्री अभियानबारे अभिमुखिकरण गरिसकिएको छ ।

    नगरपालिकामा पहिलो शीत भण्डारण

    नमोबुद्ध नगरपालिकामा कृषि उत्पादन भण्डारणका लागि कोल्ड स्टोर (शीत भण्डारण) निर्माण थालिएको छ । वडा नं ३ स्थित दाहालचौरमा निर्माण भएको उक्त शीत भण्डार सो क्षेत्रकै पहिलो हो । नमोबुद्धका अलाबा, छिमेकी रोशी, तेमाल, महाभारत गाउ“पालिकाका कृषक समेत लाभान्वित हुनेछन् । ८ करोड ३६ लाख ४६ हजार ९ सय ९९ रुपैंया लागत अनुमान तयार भएको भण्डारलाई बहुबर्षीय योजनामा समावेश गरिएको छ । प्रति च्याम्बर ३० मेट्रिकटनका दरले ६ च्याम्बरमा १ सय ८० मेट्रिकटन तरकारी, फलफुल र अन्न भण्डारण गर्न सकिन्छ ।

    घरदैलोमा नै सामाजिक सुरक्षा भत्ता

    नमोबुद्ध नगरपालिकाले घरदैलोमा नै सामाजिक सुरक्षा वितरण थालेको छ । नगरले पूर्ण अशक्त वर्ग, वैकिङ सेवासम्म पुग्न नसक्ने लाभग्राहीहरुलाई चौमासिक रुपमा भत्ता वितरण गर्न वित्तीय संस्थाहरुस“ग समन्वय र सहकार्य गरी घरदैलोमा नै घुम्ती बैंकिङ सेवा उपलब्ध गराउदै आएको छ ।

    राजमार्गमा फोहोर फाले कार्वाही

    नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने वीपी राजमार्गमा फोहोर फाल्ने सवारी साधन र यात्रुलाई कार्वाही गर्न थालेको छ । नेपाल प्रहरीसंगको सहकार्यमा नगरपालिकाले सो राजमार्ग प्रयोग गर्दा फोहोरजन्य सामाग्री फाले कार्वाही गर्ने निर्णयसहित सचेत गराएको छ । नगरपालिकाले वीपी राजमार्ग सरसफाई अभियान सञ्चालन गरिरहेको छ ।

     योजनावद्ध विकास प्राथमिकतामा

    नमोबुद्ध नगरपालिकाले योजनावद्ध विकासलाई प्राथमिकतामा राखेको छ । आवद्यिक योजना योजना बैंक तयार गरेर विकास आयोजनाहरु सञ्चालन गर्न लागेको हो । रणनैतिक कृषि योजना पनि तयार गरेको छ । ‘कृषि, व्यापार र पर्यटन ः हाम्रो शसक्त अभियान’ भन्ने नारा बोकेको नगरपालिकाले दीर्घकालीन योजनासहितका कृषि रणनीति तय गरेको हो । रणनैतिक कृषि योजनामा भूगोल सुहाउँदो कृषि, उत्पादन र उत्पादकत्व बढाउने, लागत घटाउने लगायतका योजना समावेश हुनेछन् ।
     एक घर एक धारा अभियानकै रुपमा

    नगरवासीलाई स्वच्छ खानेपानीको व्यवस्था गराउने उद्धेश्य अनुरुप एक घर एक धारा अभियान सञ्चालन गरिएको छ । सुनकोशी खानेपानी आयोजना, भकुण्डेबेसी दाप्चा काशीखण्ड वृहत खानेपानी आयोजना, खनालथोक वृहत खानेपानी आयोजना, काशीखण्ड वृहत खानेपानी आयोजना, पार्कोट–टटलेटार खानेपानी आयोजना, ग्वाला डाँडा खानेपानी आयोजना, फ्याङ्ग खोला वृहत खानेपानी आयोजना, बासखर्क लाकईने कुईकेलगाउँ खानेपानी योजना, नमोबुद्ध वृहत खानेपानी आयोजना, कालिकादेवी भेडाबारी खानेपानी आयोजना, भष्मे खानेपानी आयोजना, छत्रेबाँझ दाप्चा खानेपानी आयोजना संचालन गरिएका छन् ।

    महिला उद्यमीलाई उद्योग दर्ता निशुल्क

    स्थिर पूँजी पाँच लाख सम्म भएका लघु उद्यमहरुलाई नगरपालिकामा व्यवसाय दर्ता गर्दा कानुन बमोजिम लाग्ने दस्तुर वा शुल्कमा पूर्ण रुपमा छुट गर्ने साथै महिला उद्यमीको मात्र स्वामित्व रहने गरी उद्योग वा फर्म दर्ता गराएमा त्यस्तो उद्योग वा फर्म नगरपालिकामा दर्ता गर्दा कानुन बमोजिम लाग्ने दस्तुर वा शुल्कमा पूर्ण छुट दिने कार्यको सुरुवात गरिएको छ । हाल सम्म सो नीति अनुसार ६९ वटा विभिन्न व्यवसायहरु दर्ता भएका छन् ।

     स्थानीय पाठ्यक्रम निर्माण
    नमोबुद्ध नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण शुरुवात गरेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार