२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

स्व. त्रिभुवनको सालिक बनाउन जुटे बनेपाली


१३६५१ पाठक संख्या
  • २०८० जेष्ठ २४, बुधबार मा प्रकाशित १0 महिना अघि
  • आई.आर.के मैनाली
    काभ्रेपलाञ्चोक । प्रजातन्त्रको पिता मानिने स्व.त्रिभूवनको सालिक पन निर्माणको लागि बनेपा नगरवाशिहरु जुटेका छन् । सालिक बनेपाको ईतिहास भएकोले त्यसको संरक्षण गर्नुपर्ने नगरवासिहरुको धारणा रहेको छ ।

    नगरले आयोजना गरेको सरोकारवालाहरूसँग छलफल तथा नगरको वजेट , नीति तथा कार्यक्रम तयारीको लागि सुझाव संकलन कार्यक्रममा उपस्थित नगरवासिहरुले सालिक निर्माणको बिषयलाई प्राथमिकता दिएको थियो ।

    कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यले नगरपालिकाले निर्माण गर्ने योजना‚ नीति तथा कार्यक्रम नगरवासीको सुझावको आधारमा बन्ने बताउनु भयो । उक्त कार्यक्रममा प्रमुख शाक्यले थप्नुभयो “ नगरवासीले भोग्नुपरेको समस्यालाई गहन ढंगबाट लिएका छौं । ” नगरमा पिउने पानीको कारण काकाकुलको अवस्था झेल्दै आएका नगरवासीको लागि काभ्रे एकीकृत खानेपानीले गर्दा राहत मिलेको बताउनु भयो । नगरमा रहेको चार सामुदायिक विद्यालयलाई नमुना विद्यालय बनाउने साथै फोहर मैला व्यवस्थापनमा सहज भएको छ । नगरको प्रमुख स्थानको रुपमा ( चार दोबाटो ) रहेको त्रिभुवनको सालिक पुनः निर्माणको विषयमा नगरमा पत्र प्राप्त भएको छ ‚ सो विषयमा नगरवासीको सुझावको आधारमा अगाडि बढ्ने प्रमुख शाक्यले बताउनु भयो ।

    कार्यक्रममा नगर उप प्रमुख विमला सापकोटाले भन्नुभयो “गत बर्स आन्तरिक आम्दानी ३३ करोडको प्रक्षपण गरेका थियौं ‚ आर्थिक मन्दीको कारण ९ करोड मात्रै संकलन भयो ।” मन्दीले गर्दा बजेट ल्याउन निकै समस्या छ तरपनि नगरको हितको खातिर कार्य गर्ने विषयमा निरन्तर लागि रहने बताउनु भयो । बिषयगत विज्ञताले दिएको सुझावको आधारमा अगाडि बढ्छौ र सोही आधारमा बजेट‚ नीति तथा कार्यक्रम बनाउने बताउनु भयो ।

    कार्यक्रममा पूर्व सुरक्षा कर्मी नेपाल काभ्रेका अध्यक्ष हेम शंकर गिरीले प्रजातन्त्रको पिता त्रिभुवनको बनेपा चार दोबाटो ( त्रिभुवन चोक ) मा रहेको सालिक भत्काउनु न्यायोचित नहुने बताउनु भयो । सालिक बनाउँदैमा राजतन्त्र पुन आउने र सालिक मास्दैमा राजतन्त्र निमिट्यान्न हुने होइन । राजनीतिक फेरबदल आन्दोलनमा उत्तेजनाको क्रममा सालिक तोडियो होला तर सो सालिक बनेपाको इतिहास भएको बताउँदै तत्काल पुन निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।

    उद्योग वाणिज्य संघ केन्द्रिय उपाध्यक्ष शूर कृष्ण वैद्यले बनेपा नगरको लागि शिर मेमोरियल अस्पताल इतिहास हो यसको सम्रक्षण गर्नु नगरको कर्तव्य रहेको बताउनु भयो । उहाँले थप्नुभयो बनेपाको पहिचान स्व .त्रिभुवनको सालिक पनि भएकोले सो सालिकलाई पुनर निर्माण गर्न जरुरी रहेको बताउनु भयो । जिल्लाको पहिलो नगरले गर्ने कार्यहरु पुरातन शैलिको नभई नमुना ढंगको साथै दिर्घकालिन योजनाहरुलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभएको थियो ।

    त्यसैगरी श्रीकृष्ण श्रेष्ठले बनेपाका लब्ध प्रतिष्ठित व्यक्तिहरूले २०२२ सालमा निर्माण गरेको प्रजातन्त्रको पिता त्रिभुवनको सालिक पुन निर्माणमा जोड दिनुभयो । उहाँले भन्नुभयो— सालिक पुन निर्माणको लागि नगरलाई बजेट बिनियोजन गर्न गारो लाग्छ भने बजेट व्यवस्थापन नगरेपनि अनुमति दिन सुझाव दिनुभयो । “ अनुमति दिनोस् बनेपाको इतिहासलाई जीवित राख्नको लागि हामी १/१ रुपैयाँ संकलन गरेर भएपनि बजेटको व्यवस्थापन गर्छौ ।”

    छलफल तथा सुझाव संकलन कार्यक्रममा राप्रपा नेता भवनाथ दाहालले काभ्रेको जेठो नगरले विकास निर्माणमा फड्को मार्न नसकेको बताउनु भयो । नगरले विकास निर्माणमा दीर्घकालिक ढङ्गको विकास निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । नगरमा रहेको स्वास्थ्य चौकीले कुनै पनि सेवा दिन नसकेको दुखेसो पोख्नुभयो । उहाँले थप्नुभयो स्वास्थ्य चौकी व्यवस्थापन साथै कर्मचारीका लागि करोडौं खर्च हुन्छ तर कर्मचारीहरू घाम तापेर समय बिताइने गरेको दुखेसो पोख्नुभयो । सामान्य सिटामोल समेत नपाउने स्वास्थ्य चौकीहरूमा ५ ÷५ जना कर्मचारी पालेर नगरको बजेट ध्वस्त पार्ने कार्य राम्रो नभएको सुझाव दिनुभयो ।
    आगामी दिनमा नगरको हितको खातिर नगरवासीको तफर्बाट सुझाव संकलन गरी सोही आधारमा अगाडि बढ्ने योजना बनाई आयोजना गरेको उक्त कार्यक्रममा सहभागीहरूले सालिक निर्माणलाई प्राथमिकता दिएको थियो । दलीय प्रतिनिधिहरू तथा वडा अध्यक्षहरूको उपस्थिति कम रहेको थियो । कार्यक्रममा सालिक निर्माणको विषयमा जोड बलले कुरा उठाउँदै अनुमतिको लागि निर्णय गर्न सहभागीहरूले अनुरोध गरेपछि तत्काल सर्वदलीय बैठक बोलाउने र सोही आधारमा निर्णय गर्ने नगर प्रमुख शाक्यले बताउनु भएको छ । अन्य विकास निर्माणको कार्यमा नगरवासीहरूमा फरक मत भएपनि स्व. त्रिभुवनको सालिक पुन निर्माणको विषयमा फरक मत भएको पाइएन ।
    वाइ.सि.एल काभ्रेले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रमको अवसरमा बनेपाको त्रिभुवन चोकमा शहीद मुकेश कायस्थको सालिक निर्माण गर्ने धारणा राखेको थियो । सो धारणा सार्वजनिक भए लगतै नगरवासीले स्व. त्रिभूवनको सालिक भएको स्थानमा सोही सालिक निर्माण गर्नुपर्ने विषयलाई जोड दिदै आएका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार