२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

पाँचखालमा बन्ने भो शहरी विकास आयोजना‚ मुलुककै नमुना शहर बन्दै 


७४८८१ पाठक संख्या
  • २०८० आश्विन १२, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • आई.आर.के.मैनाली 

    काभ्रेपलाञ्चोक । मुलुकमा संघीयता लागू भएसँगै शहरीकरणको विकासमा समेत तिव्रता आएको छ । काठमाडौं उपत्यकामा बढ्दो शहरीकरणले गर्दा निकै कष्टकर बन्दै उकुस मुकुसकै अवस्थाले गर्दा उपत्यका बाहिर शहरीकरण बढ्दो छ । सोहि क्रममा भक्तपुर ‚ काभ्रेपलाञ्चोक जिल्लाको बनेपा ‚ पनौती ‚ भकुन्डेबेँसी ‚ धुलिखेल समेत शहरीकरणले भरिभराउ भएको छ । अव्यवस्थित तरिकाले शहरीकरण बढ्दै जाँदा आवासको लागि असहज हुँदा कृषि नगरीको रुपमा चर्चित पाँचखाल तफर् स्थाई आवासको लागि आकर्षण बढ्दो छ ।

    काभ्रेपलाञ्चोक जिल्लाको पालिकाहरू मध्यको क्षेत्रफलमा दोस्रो ठुलो नगरपालिका ‚ ऐतिहासिक धरोहर मठमन्दिरले भरिपूर्ण ‚ लेक र बेसीमा उत्पादन हुनै सबै प्रकारका फलफूल ‚ तरकारी तथा खाद्यान्न पाइने उर्वरा भूमिको रुपमा चर्चित मानव बसोवासको लागि उपयुक्त हावापानी रहेको पाँचखालमा हरित बसोवास योग्य शहरी विकास आयोजना सुरु हुँदैछ । जुन कार्यले गर्दा सहरी जैविक विबिधताले भरिपूर्ण ‚ घरजग्गाको मूल्यमा बृद्धि ‚ राम्रो हावापानी ‚ असल सम्बन्धको विकास ‚ सुविधायुक्त सुरक्षित बसोवास ‚ स्थानीय उत्पादनको बजारीकरण लगायतको फाइदा पुग्ने छ । त्यसैगरी खेती तथा बसोवासको लागि अयोग्य साथै बाटोघाटो नभएको जग्गाको समेत सहज व्यवस्थापनले गर्दा खेर गइरहेको जग्गाको उपयोग नहुनेभएको छ शहरी विकासले गर्दा ।

    पाँचखाल नगरपालिका वडा नं ६ ‚ ३ र ५ मा रहेको करिव ५ हजार रोपनी पाखो जग्गामा शहरी विकास आयोजना लागू हुदैछ । जुन स्थान आवासको लागि अति उत्तम मानिदै आएको छ । गर्मी मौसममा कम गर्मी हुने ‚ चिसो मौसममा कम हुस्सु लाग्ने ( कम चिसो हुने ) नजिकै रहेको सामुदायिक बनबाट पाइने स्वच्छ हावापानी साथै मनोरम दृश्यले गर्दा त्यस क्षेत्रमा बसोवास गर्नेहरूका लागि वरदान नै सावित हुने उक्त स्थानमा बन्दै गरेको शहरी विकास आयोजनाले गर्दा पाँचखाल र आसपासकै स्थानहरूको लागि अवसर सावित हुन्छ ।

    मित्र राष्ट्र चीनसँग जोडिने अरनिको राजमार्ग उक्त आयोजना स्थलको केन्द्र विन्दु हुँदै सञ्चालन हुने हुदा थप आकर्षक हुने सुनिश्चित छ । हालको अवस्था सम्ममा निर्माण भएका शहरी विकास आयोजनामा राजमार्ग केन्द्र बिन्दुमा रहेको पाँचखालमा बन्दै गरेको आयोजना मात्रै हो । पाँचखालमा रहेको ऐतिहासिक मठ मन्दिर ‚ सञ्चालनको तयारीमा रहेको मदन भण्डारी विश्वविद्यालय ‚ हालै सञ्चालनमा आएको काठमाडौँ विश्वविद्यालय ‚ उर्वरा भूमि ‚ निर्माण सम्पन्न हुन लागेको वृहत सुनकोसी खानेपानी आयोजना ‚ सेज लगायतले आयोजनको लागि थप आकर्षणको पक्ष हो ।

    उर्वरा भूमिमा उत्पादन हुने विषादी रहित ताजा तरकारी ‚ फलफूल ‚ दलहन ‚ तेलहन ‚ खाद्यान्न ताजा साथै सुपथ मूल्यमा उपभोग गर्न पाउने साथै कृषकहरूका लागि भरपर्दो बजारको व्यवस्था हुने अर्को सहज पक्ष हो । मुलुकको राजधानी काठमाडौँबाट ३५ देखी ४५ ( अरनिको राजमार्ग ) किलोमिटरको दूरीमा रहेको आयोजना राजधानीवाट डेड घण्टाको यात्रामा सहजै पुग्न सकिने छ । जसको कारण उपत्यकामा रोजगारी वा व्यवसाय गर्नेहरू सहज ढंगबाट पाँचखालबाट ओहोर दोहोरौ गर्न सकिने छ ।

    नगर विकास ऐन २०४५ ‚  स्थानीय सरकार सञ्चालन ऐन २०७४  ‚ जग्गा प्राप्ति ऐन २०३४ ‚मालपोत ऐन २०३४ ‚ नगर विकास कोष ऐन २०५३ ‚ शहरी विकास नीति ‚ राष्ट्रिय आवास नीति २०६८ को परिधिमा रहेर नमुना शहरको विकासको साथै सामाजिक समानता र स्थानीय रोजगारीको सिर्जना गर्ने उद्देश्यले सुरु गर्न लागेको आयोजना सहज ढंगबाट निर्धारित समयमा सम्पन्न हुने हो भने पाँचखालको लागि ठुलो अवसर हो । नेपाल इन्स्ट्रक्टर बैंक ( निफ्र ) सँग २०७८ साउन ११ गते आयोजना निर्माणको लागि आर्थिक व्यवस्थापन गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर भई सम्भाव्यता अध्ययन भएको थियो । सोही अध्ययनको आधारमा शहरी विकासको लागि सहज ठहर गर्दै कार्य अगाडि बढेको छ ।

    शहरी विकास आयोजनाको बारेमा विस्तृत छलफलको लागि विहीबार पाँचखाल नगरपालिका हलमा स्थानीयसँग छलफलको लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा पाँचखाल नगर प्रमुख महेश खरेलले पाँचखालको विकासको लागि प्रयास गर्दा नहुने असम्भव भन्ने छैन भन्दै बृहत पाँचखाल सुनकोसी खानेपानी आयोजनाको उदाहरण दिदै काठमाडौँ विश्वविद्यालय ‚ मदन भण्डारी विश्वविद्यालय जस्ता महत्वपूर्ण कार्यहरू सफल भएको बताउनु भयो । पाँचखाललाई नमुना नगर बनाउनको लागि आफूले अघिल्लै कार्यकालबाट प्रयास गरेको बताउनु भयो । पाँचखालको विकासको लागि नगरमा रहेका सबै दलहरू एक भएर अगाडि बढेको बताउनु भयो । पाँचखालमा हरित महिला ग्राम निर्माणको लागि अर्थमन्त्री राम शरण महतले ९६ करोड बजेट भएको बजेट भाषणमा उल्लेख भएको बताउनु भयो । नगर प्रमुख खरेलले थप्नुभयो—पाँचखालका नगरवासीहरू धन्यवादको पात्र हुनुहुन्छ नगरवासीको साथ र सहयोगले गर्दा पाँचखालमा ठूला ठूला कार्य गर्न सफल भएका हौं ।

    नगर प्रमुख महेश खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रम ‚ नगरका शाखा अधिकृत सन्तोष पौडेलले सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत इन्जिनियर सुशील ज्ञवाली ‚ काठमाडौँ उपत्यका विकास प्राधिकरणका पूर्व आयुक्त हरित योजना विज्ञ इन्जिनियर दीपक श्रेष्ठ ‚ नेपाल पूर्वाधार विकास बैंकका प्रमुख कार्यकारी अधिकृत राम कृष्ण खतिवडा लगायतका वक्ताहरूले शहरी विकासको बारेमा आ—आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा उपस्थित अतिथि तथा नगरवासीलाई  पाँचखाल नगर उपप्रमुख सुर्य मायाँ दनुवारले मन्तव्य वाट स्वागत गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १०%१७%५%३%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार