२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

ठूला ठूला घरहरू बनाउन प्रतिस्पर्धा गर्दा समस्या आएको हो —गौतम ( भिडियो सहित)


९९८५ पाठक संख्या
  • २०८० माघ २, मंगलबार मा प्रकाशित ३ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा २६ औं भूकम्प सुरक्षा दिवस मनाइएको छ । काभ्रेपलाञ्चोक जिल्ला विपद व्यवस्थापन मुल समितिको आयोजना तथा सशस्त्र प्रहरी वल १५ नं गणको प्रदर्शनमा पाँचखालमा उक्त दिवस मनाइएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले भन्नुभयो “ हामी प्रतिस्पर्धा गर्छौ ठूला ठूला घरहरू बनाउनको लागि तर भूकम्प प्रतिरोधि नहुँदा नागरिकहरूले ज्यान गुमाउनु परेको हो । ” विश्वको भूकम्प जोखिमको ११ औं स्थानमा रहेको नेपालमा जबसम्म भूकम्प प्रतिरोधी भवन बनाउने कार्यलाई प्राथमिकता दिइदैन तव सम्म समस्या जिउका तिउँ रहने बताउनु भयो ।

    कार्यक्रममा प्रमुख अतिथि गौतमले विगतको समयमा भूकम्पले पुर्‍याएको क्षतिलाई स्मरण गर्दै भन्नुभयो “ मापदण्ड पुर्‍याएर हाम्रा संरचनाहरू बनायौँ भने मात्रै भूकम्पबाट हामीले ज्यान गुमाउन पर्दैन ।” हामिले २६ औं भूकम्प सुरक्षा दिवस मनाई रहनुको कारण भूकम्पबाट ज्यान गुमाएकाहरूलाई सम्झने साथै अबको दिनमा भूकम्पका कारण कुनैपनि नागरिकले आफ्नो जीवन गुमाउनु नपरोस् भन्नका निमित्त भूकम्प दिवस मनाएको बताउनु भयो । पाँचखालमा रहेको सशस्त्र प्रहरी १५ नं गणको प्राविधिक सहयोगमा जुन प्रदर्शन भयो सो दृश्यले भूकम्पको विपत्तिबाट जोगिने र जोगाउने भन्ने विषयमा चेतना प्रदान गर्ने कार्य भएको प्रमुख अतिथि गौतमले बताउनु भयो ।

    हामी अप्ठेरोमा पर्दा मात्रै चिन्तित हुने र भोलिपल्टबाट त्यस्ता अप्ठेरो परेका कुराहरू बिर्सने गरेका छौं । समस्याहरू स्मरण गर्दै मापदण्डहरूका आधारमा संरचनाहरू निर्माण गर्ने  साथै अप्ठेरो पर्दा नअताल्लिकन कसरी सुरक्षित हुने भन्ने विषयमा ध्यान दिन जरुरी रहेको प्रमुख अतिथि गौतमले बताउनु भयो ।

    कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति एवं प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले नेपालमा गएका ठुला भूकम्प बाट भएका क्षतिको बारेमा स्मरण गराउंदै भन्नुभयो “विगतका भूकम्पबाट भएका क्षतिलाई हेर्दा सरकारी संरचना तथा निजी आवासहरु पूर्ण रुपमा क्षतिभएको छ । ” भूकम्पमा मृत्यु भएका व्यक्तिहरू भौतिक संरचनाहरू पल्टिएर थिचेर धेरैको मृत्यु भयो । ०७२ को भूकम्प पछि संरचनाहरू निर्माण गर्न नीतिगत पहलहरू भए ‚ संरचना नै बलियो बनायौँ भने धनजनको क्षतिमा कमी आउने छ । भवन संहिताको पालना पूर्ण रुपमा नहुँदा घटनाहरू दोहोरिन सक्ने सम्भावना प्रबल रहेको छ ।

    पाँचखाल नगरपालिका उपप्रमुख सूर्य माया दनुवारले स्वागत मन्तव्य राखी सुरुभएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी वल १५ नं गणले भूकम्पबाट हुने क्षति र जोगिने तथा उद्धारको बारेमा जानकारी गराउने उद्देश्यले प्रदर्शनी गरिएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका सभापति रघु हुमागाईँ पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिनाले आ—आफ्नो धारण राख्नुभएको थियो ।

    कार्यक्रममा नेपाली सेना‚ नेपाल प्रहरी ‚ सशस्त्र प्रहरी ‚ रेडक्रस कर्मीहरू ‚ विद्यार्थीहरू ‚ पाँचखाल नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी ‚ वडा नं ४ का वडा अध्यक्ष सुन्दर तमाङ लगायतका जनप्रतिनिधिहरू साथै स्थानिय हरुको सहभागिता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार