२०८१ अषाढ १०, आईतबार | Sun, 23, Jun, 2024

संस्कृति संरक्षणको लागि पलाञ्चोक भगवतीमा सांस्कृतिक कार्यक्रम


७३०७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ बैशाख १५, शनिबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं ९ मा पलान्चोकमा ऐतिहासिक धरोहरको रुपमा रहेको पलाञ्चोक भगवती हातामा वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

    भगवतीको मन्दिरमा लाग्ने मेलाहरू मध्यको चण्डे पूणिर्मा ९ बुद्ध जयन्ती ० को दिनमा वृहत मेला लाग्ने गर्दछ । सोही मेलालाई मध्य नजर राख्दै आगामी जेठ १० र ११ गते सो सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको पाँचखाल नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी गराउनु भयो ।

    विक्रम संवत ४२५ मा मानदेव प्रथमको शासनकालमा स्थापना भएको भगवती मन्दिरमा परम्परादेखि मनाउँदै आएको संस्कृतिको संरक्षण गर्दै भक्तजनहरूलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सञ्चालन गर्न लागेको सांस्कृतिक कार्यक्रमको आयोजकमा कालिका क्लब ‚ एकता युवा क्लब ‚ एकीकृत पहरी युवा क्लब ‚ पलाञ्चोक गैरीगाउँ युवा क्लब र धन्देखोला नेवा समाज रहेका छन् भने पाँचखाल नगरपालिका प्रवर्दक रहेको छ । तीन दिन सम्म चल्ने जात्राको पहिलो दिन ( चण्डे पूणिर्माको )अघिल्लो दीन साँझमा बत्ती बाल्ने ‚ दोस्रो दिन चण्डे पूणिर्मा जात्रा र तेस्रो दिन रथ यात्रा गरिने परम्परा देखिको चलन रहेको छ । सोही परम्परालाई निरन्तरता दिँदै यस वर्ष थप सांस्कृतिक कार्यक्रमको आयोजना हुने तयारी गरेको आयोजकले जानकारी गराएका छन् ।

    साविक भगवती गा.वि.स. (हाल पाँचखाल नगरपालिका वडा नं ९) अन्तर्गत साठी घर भन्ने ठाउँ पलाञ्चोक भगवतीको मन्दिर अवस्थित छ । यो मन्दिरको स्थापना वि.सं. ४२५ मा राजा मानदेवको पालामा भएको हो भन्ने त्यहाँ रहेको लिच्छविकालीन अभिलेखबाट ज्ञात हुन्छ मन्दिरमा अन्य अभिलेख‚ शिलालेख र ताम्रपत्रहरू पनि रहेका छन् । तीनतले नेपाली (प्यागोडा) शैलीमा बनेको यो मन्दिर पश्चिम फर्केर रहेको छ। मन्दिरका चारैतफर्बाट सत्तलहरू रहेका छन् ।

    ईंटा‚ माटा गाएका र सुर्कीले निर्माण यस मन्दिरका दुवै छाना धातुका छन् । स्वर्णसहित तामाको गजुरले मन्दिरको शोभा बढाएका छ । मन्दिरवरिपरि बत्ती बाल्न काठको आडमा लहरै पाला (दियो) हरू राखिएका छन् । मन्दिरका काठका सबै टुँडाल र झ्यालहरू राम्रा कलात्मक कालिगडीले कुँदिएका छन् ।

    ढोका र चौकोसहरू धातुले मोडिएका छन् । धातुकै तोरणले मन्दिरको चारैतिर सजाइएको देखिन्छ । मित्र गर्भगृहमा पित्तलले मोडेको चौकोसे आसनमा अठार हात भएको विविध आयतले युक्त करिब साढे तीन फीट उचाइ भएको कालो ( शालिग्राम‚ शिलाको अति सुन्दर‚ कलात्मक एवं भव्य भगवती देवीको मूर्ति विराजमान छ । देवीको बायाँ खुट्टाले महिषासुरलाई कुल्चिएको र एक हातमा रहेको तीर ( शूल) दैत्यमा रोपिएको देखिन्छ । दायाँ खुट्टाले टाउको छिनिएको राँगोको ढाडलाई कुल्चिएको र देवीका दुवै पाउ नजिकै शुम्भ‚ निशुम्भ लाई भगवतीको आसनको प्रतिरूप उत्कीर्ण गरिएको प्रतीत हुन्छ ।

    चाँदीका कलात्मक गरगहनाबाट देवीलाई सजाइएको देखिन्छ । मूर्तिको बायाँतर्फ सानो घण्ट र दायाँतर्फ एक फुट जतिको ढुङ्गामा कुदिएको सानो भगवतीको मूर्ति छ । प्रस्तुत भगवतीको मूर्तिलाई फलामको सटर लगाई सुरक्षित पारिएको छ । मन्दिरको ढोकाको दाया बायाँ धात्री प्रस्तरका सिंहहरू छन् । मन्दिरको पूर्वतफर्को पेटीमा एउटा विशाल घण्ट छ ।

    नजिकै ’ॐ अनन्त देवी’ लेखिएको लिच्छविकालीन मानिने भकुण्डो आकारको ढुङ्गो छ । उत्तरतर्फ गणेश र सरस्वतीका एक फुटजति उचाइका राम्रा शिलामूर्तिहरू छन् । संगै भैरव, महादेव र पार्वतीका शिलामूर्तिहरू पनि रहेका देखिन्छन् । ’अनन्त देवी’ उत्कीर्ण शिलाको उत्तरतर्फ रहेका सरस्वती र गणेशका आसनका ढुंगामा लिच्छविकालीन अभिलेखहरू उत्कीर्ण गरिएका छन् । दक्षिणतर्फका सत्तलमा रहेको मन्दिर प्रवेश गर्ने द्वारको भित्री दायाँ–वायाँ दुवै भागमा क्रमशः ने.सं. ८७७ र ८८८ का शिलालेखहरू पनि दृष्टिगोचर हुन्छन् । मन्दिरको पश्चिमतर्फ साढे सात फीट अग्लो शिला–स्तम्भमा वि.सं. १९७३ र वि.सं. १९८३ उल्लेख भएका ताम्रपत्रहरू जडान गरिएका देखिन्छन् ।

    यहाँ वज्राचार्य जातिका गुभाजुहरू मन्दिरका पुजारी हुन्छन् । भाइ भाइहरूले आलो–पालो गरी भगवतीको नित्य पूजा गर्ने गर्छन् । राजा मानदेवकै पालादेखि नै यी गुभाजुहरू यहाँ पुजारी रहँदै आएका छन् भन्ने बुझिन्छ चण्डी पूर्णिमा र बडा दशैंमा भगवतीको विशेष पूजा हुन्छ, धार्मिक जात्रा लाग्ने गर्छ । भगवतीको पूजा र मन्दिर सञ्चालनका लागि गुठीको व्यवस्था रहेको छ । गुठीको जग्गा र खर्चको व्यवस्थापन हाल गुठी संस्थानबाटै हुने गरेको बुझिन्छ ।गुठीको केही जग्गा कमाए वापत पहरी जातिका मानिसले नित्य पूजा र विशेष पूजाका लागि फूलपाती ल्याउने गर्छन्।

    यथार्थमा पलाञ्चोक भगवतीको मन्दिर एक प्रख्यात ’शक्ति–पीठ’ हो । यहाँको भगवतीको प्रस्तर मूर्ति तत्कालीन कलाकृतिको अनुपम नमुना हो । काठमाडौं उपत्यका बाहिरको लिच्छविकालीन प्रस्तुत देवीको मूर्ति, उत्कृष्ट कलाकारिताको चिनारी एवं राष्ट्रकै महत्त्वपूर्ण सांस्कृतिक सम्पदाको रूपमा रहेको छ । पलाञ्चोक भगवतीको दर्शन गर्न टाढा–टाढाबाट असङ्ख्य नरनारी आउने गर्छन् । देवीको प्रत्यक्षतामा ठूलो जनविश्वास रहेको पाइन्छ ।अन्ततः मूर्तिको अद्भुत कलाकारिता देखेर मुग्ध नहुने व्यक्ति विरलै होलान् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार