काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश उपसभापति तथा काभ्रेका प्रभावशाली नेता दिनेश हुमागाईंले पार्टी परित्याग गरेका छन्। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उनले औपचारिक प्रेस विज्ञप्ति जारी गर्दै उपसभापति पदसहित साधारण सदस्यताबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
हुमागाईं यसअघि प्रतिनिधिसभा निर्वाचन २०७९ मा रास्वपाबाट उम्मेदवार बनेका थिए। त्यतिबेला पार्टीको संगठन पूर्ण रूपमा सुदृढ नभइसकेको अवस्थामा पनि उनले १० हजार ५ सय ७३ मत प्राप्त गरी उल्लेखनीय उपस्थिति देखाएका थिए। त्यसयता उनी काभ्रेमा पार्टी संगठन विस्तार र सुदृढीकरणमा सक्रिय रूपमा लागिरहेका थिए।
जारी विज्ञप्तिमा उनले आफ्नो निर्णय व्यक्तिगत स्वार्थ, क्षणिक आवेग वा निजी असन्तोषका कारण नभएको स्पष्ट पारेका छन्। बरु पार्टीभित्र देखिएको संरचनागत विकृति, आन्तरिक लोकतन्त्रको ह्रास, आर्थिक अपारदर्शिता तथा नेतृत्व तहमा देखिएको नैतिक विचलनप्रति गम्भीर असहमति जनाउँदै राजीनामा दिन बाध्य भएको उल्लेख गरेका छन्।
विशेषगरी उम्मेदवार छनोट प्रक्रियाप्रति उनले तीव्र आपत्ति जनाएका छन्। उम्मेदवार छनोट गर्दा पार्टी विधान, निर्धारित मापदण्ड र आन्तरिक लोकतान्त्रिक अभ्यासको पालना नगरिएको उनको आरोप छ। लामो समयदेखि पार्टीमा समर्पित भएर काम गरिरहेका कार्यकर्तालाई पाखा लगाएर अन्य दलबाट हालसालै प्रवेश गरेका व्यक्तिलाई प्राथमिकता दिइएको दाबी उनले गरेका छन्।
काभ्रे क्षेत्र नम्बर २ मा उम्मेदवारका आकांक्षी रहेका हुमागाईं, जिल्ला सभापति प्रविण ढकाल र अर्का नेता ताराबहादुर कुँवर टिकटको प्रतिस्पर्धामा थिए। तर अन्तिम समयमा बदन भण्डारीले टिकट पाएपछि जिल्लाभित्र असन्तुष्टि चुलिएको थियो। हुमागाईंले टिकट वितरण प्रक्रियामा आर्थिक चलखेल भएको आशंका सार्वजनिक रूपमा व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत समेत असन्तोष प्रकट गरेका थिए।
हुमागाईंको राजीनामाले काभ्रेमा रास्वपाको संगठनात्मक अवस्था र निर्वाचन रणनीतिमा असर पार्ने विश्लेषण गरिएको छ। चुनाव नजिकिँदै गर्दा प्रभावशाली नेताको बहिर्गमनले पार्टीभित्र थप ध्रुवीकरण र मत विभाजनको सम्भावना बढाएको राजनीतिक वृत्तमा चर्चा छ।
हालसम्म पार्टीका केन्द्रीय नेतृत्वबाट हुमागाईंको आरोप र राजीनामाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। निर्वाचनको मुखमा आएको यो घटनाक्रमले काभ्रेको राजनीतिक समीकरणमा नयाँ तरंग ल्याएको छ।
दिनेश हुमागाईले टिकट नपाई बदन भण्डारीले टिकट पाएपछि काभ्रेली बौद्धिक वृत्तमा व्यापक चासो र अचम्म व्यक्त गरिएको थियो। धेरैको तर्क थियो—रास्वपाको संगठन मजबुत नभएको समयमा जोखिम मोलेर निर्वाचनमा होमिँदै काभ्रेमा पार्टीको पहिचान स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेका हुमागाईले किन टिकट पाएनन्?
हुमागाई रास्वपामा प्रवेश गरेयता निरन्तर रूपमा पार्टी हितमा सक्रिय रहँदै आएका थिए। संगठन विस्तार, कार्यकर्ता परिचालन र जनसम्पर्क सुदृढीकरणमा उनले महत्वपूर्ण योगदान दिएका समर्थकहरूको दाबी छ। यस क्रममा उनले विभिन्न आन्तरिक र बाह्य चुनौतीको सामना गर्दै अघि बढ्नुपरेको थियो।
निरन्तर संघर्ष र मेहनतबाट जिल्लामा पार्टीको अवस्था सुदृढ बनाउन योगदान पुर्याएको दाबी गर्दै आएका हुमागाईले टिकट वितरण प्रक्रियाप्रति सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएका थिए। पार्टीले आफूलाई न्याय नगरेको संकेत उनले टिकट वितरणको समयदेखि नै गर्दै आएको उनका निकटवर्तीहरू बताउँछन्।
प्रतिक्रिया दिनुहोस