१६ फागुन, काठमाडौं।इजरायल र इरान बीच सैन्य तनाव तीव्र बनेपछि खाडी क्षेत्रका मुलुकहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्। इजरायलले इरानका विभिन्न सहरहरूलाई लक्षित गर्दै हवाई आक्रमण सुरु गरेपछि क्षेत्रीय सुरक्षालाई मध्यनजर गर्दै कदम चालिएको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम Al Jazeera का अनुसार आक्रमणपछि कतार, कुवेत र संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्। यस निर्णयसँगै अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् भने कतिपय उडानहरू रद्द तथा मार्ग परिवर्तन गरिएको छ।
शनिबार इजरायलले इरानका सैन्य तथा रणनीतिक संरचनालाई लक्षित गर्दै हवाई आक्रमण गरेको जनाएको छ। त्यसको जवाफमा इरानले पनि इजरायलमाथि प्रतिआक्रमण सुरु गरेको दाबी गरेको छ। दुवै पक्षबीच आक्रमण–प्रतिआक्रमण जारी रहेकाले मध्यपूर्व क्षेत्रमा सुरक्षा चुनौती थपिएको विश्लेषण गरिएको छ।
क्षेत्रीय अस्थिरताका कारण अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र कूटनीतिक संवादमार्फत तनाव समाधान गर्न आह्वान गरेका छन्। यस घटनाक्रमले विश्व ऊर्जा बजार, हवाई यातायात र क्षेत्रीय स्थायित्वमा प्रभाव पार्ने संकेत देखिएको छ।
स्थिति थप जटिल बन्दै जाँदा सम्बन्धित मुलुकहरूले आफ्ना नागरिकलाई सतर्क रहन र आवश्यक सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस