१८ फागुन, काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका क्रममा रामेछापमा मतदान सामग्री र कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। सोमबार बिहान रामेछाप नगरपालिका–२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी सिरुबारी क्षेत्रमा दुर्घटनामा परेको हो।
दुर्घटनामा प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार गम्भीर घाइते मतदान अधिकृत डोरप्रसाद घिमिरेको उपचारका क्रममा निधन भएको छ। उनको मन्थली अस्पतालमा उपचार हुँदै गर्दा मृत्यु भएको हो।
घिमिरेलाई रामेछाप–२ अन्तर्गत वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटाइएको थियो। उनी रुद्राक्षश्वर माध्यमिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत थिए। निर्वाचनको संवेदनशील जिम्मेवारी सम्हाल्दै मतदान केन्द्रतर्फ जाँदै गर्दा भएको दुर्घटनाले जिल्लामा शोकको वातावरण सिर्जना गरेको छ।
प्रमुख जिल्ला अधिकारी थापाका अनुसार दुर्घटनामा घाइते सात जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ। गाडीमा निर्वाचन कर्मचारीसहित आवश्यक मतदान सामग्रीहरू पनि रहेका थिए। दुर्घटनापछि केही समय सो क्षेत्रमा आवागमन प्रभावित भएको थियो भने सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य तीव्र रूपमा सञ्चालन गरिएको थियो।
दुर्घटनामा घाइते हुनेहरूमा भीमबहादुर मानन्धर (शिक्षक), सम्बरबहादुर मानन्धर (चालक), कृष्णप्रसाद घिमिरे (शिक्षक), दुर्गा कार्की, सविना खड्का, केदारकुमार रोका र पूजादेवी सुनुवार रहेका छन्। उनीहरूको अवस्था सम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुमानमा सडकको भौगोलिक अवस्था र मौसमीय प्रभाव हुन सक्ने देखिए पनि यकिन कारण खुल्न बाँकी छ।
निर्वाचनको पूर्वसन्ध्यामा भएको यस दुःखद घटनाले जिल्लावासीलाई स्तब्ध बनाएको छ। प्रशासनले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने र निर्वाचन कार्यक्रमलाई निर्धारित समयमै सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस