२४ फागुन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका दुई निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ४२ उम्मेदवारमध्ये ३५ जनाको जमानत जफत भएको छ। धेरै उम्मेदवारले १० मतसमेत कटाउन नसकेको सार्वजनिक मतपरिणामले देखाएको छ।
निर्वाचन कानुनअनुसार कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ। सोही प्रावधानका आधारमा काभ्रे क्षेत्र नम्बर १ र २ मा अधिकांश उम्मेदवारले धरौटी जोगाउन सकेनन्।
काभ्रे क्षेत्र नम्बर २ मा २४ उम्मेदवारमध्ये २१ जनाको जमानत जफत भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका बदन भण्डारी, नेपाली कांग्रेसका मधु आचार्य र नेकपा एमालेका अशोक व्याञ्जु बाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको हो।
यस क्षेत्रमा रास्वपाका बदन भण्डारी ५३ हजार ३४४ मतसहित विजयी भए। कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ तथा एमालेका अशोक व्याञ्जुले १३ हजार ९४० मत प्राप्त गरे। नेकपाका उम्मेदवार बसुन्धरा हुमागाईंले ८ हजार १०७ मत प्राप्त गरे पनि जमानत जोगाउन सकेनन्। उज्यालो नेपाल पार्टीका ज्योत्सना सैंजुले ३ हजार ७४९ र राप्रपाका रञ्जिव श्रेष्ठले १ हजार १२५ मत प्राप्त गरे।
यस क्षेत्रमा धेरै उम्मेदवारले ५० मतसमेत कटाउन सकेनन्। सबैभन्दा कम मत स्वतन्त्र उम्मेदवार केशवराज तिमिल्सिनाले ४ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार लेनिन विष्टले ८, मितेरी पार्टी नेपालका हरीबहादुर थापाले १०, स्वतन्त्र उम्मेदवार गणेशप्रसाद अधिकारीले ११ र विष्णुकुमार श्रेष्ठले १३ मत प्राप्त गरेका छन्।
त्यस्तै नेसनल रिपब्लिकन नेपाल पार्टीका सुकमान तामाङले १५, सीताराम मैनालीले २१, उमेश थापाले २६, मंगोल नेसनल अर्गनाइजेसनका उमेश लामाले २८, नेकपा संयुक्तका राजन थापा र जसपाका रकम लामाले ३२–३२ मत प्राप्त गरेका छन्। राष्ट्रिय जनमोर्चाका सुवर्णविक्रम थापाले ३९ र आशा तामाङले ५९ मत पाएका छन्।
काभ्रे क्षेत्र नम्बर १ मा १८ उम्मेदवारमध्ये १४ जनाको जमानत जफत भएको छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका उम्मेदवारबाहेक सबै उम्मेदवारको जमानत जफत भएको हो।
यस क्षेत्रमा रास्वपाका मधुकुमार चौलागाईं २९ हजार ६९८ मतसहित विजयी भए। कांग्रेसका गुणराज मुक्तानले १९ हजार १६६, नेकपाका दिनानाथ गौतमले १४ हजार १८४ र एमालेका अमि तामाङले १३ हजार ८१४ मत प्राप्त गरे।
उज्यालो नेपाल पार्टीका योगेन्द्र लामाले ७ हजार ४०३ मत पाए पनि जमानत जोगाउन सकेनन्। यस क्षेत्रमा पनि धेरै उम्मेदवारले १०० मतसमेत कटाउन सकेनन्। जसपाका मानबहादुर तामाङले ७१, नेपाल मजदुर किसान पार्टीका राजु तामाङले ५२, प्रगतिशील लोकतान्त्रिक पार्टीका ज्ञानेन्द्रकुमार श्रेष्ठले ५६ मत प्राप्त गरे।
समावेशी समाजवादीका विनोद लामा (यौनिक अल्पसंख्यक उम्मेदवार) ले ५०, नेसनल रिपब्लिकन नेपालका भरत तामाङले ३५, स्वतन्त्र उम्मेदवार जीवन लामाले ९४ तथा युवराज चौलागाईंले ७ मत प्राप्त गरेका छन्।
काभ्रेपलाञ्चोकका दुवै निर्वाचन क्षेत्रमा १० हजार ३९ मत (करिब ५ प्रतिशत) बदर भएका छन्। क्षेत्र नम्बर २ मा १ लाख ६५ हजार ५११ मतदातामध्ये १ लाख ४ हजार ६४२ जनाले मतदान गरेका थिए। त्यसमध्ये ९९ हजार ५८० मत सदर र ५ हजार ६२ मत बदर भएको छ।
त्यस्तै क्षेत्र नम्बर १ मा १ लाख ६१ हजार १०० मतदातामध्ये ९१ हजार १०१ जनाले मतदान गरेका थिए। त्यसमध्ये ८६ हजार १२४ मत सदर र ४ हजार ९७७ मत बदर भएको निर्वाचन तथ्यांकमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस