सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको तत्कालीन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७) मा २०३९ साल फागुन ७ गते जन्मिएका युवराज दुलाल ‘शरद’ माओवादी आन्दोलनबाट उदाएका एक प्रभावशाली नेता हुन्। जनयुद्धकालमा ‘शरद’ उपनामबाट चिनिएका उनी अहिले पनि त्यही नामले बढी परिचित छन्।
पिता गुरुप्रसाद दुलाल र माता झम्कमायाँ दुलालको कोखबाट जन्मिएका शरद परिवारका जेठा सन्तान हुन्। निम्न–मध्यम वर्गीय किसान परिवारमा हुर्किएका उनले गाउँकै सिद्धिगणेश उमाविबाट २०५५ सालमा तत्कालीन एसएलसी (हाल एसईई) प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए। उच्च शिक्षाका लागि पाटन संयुक्त क्याम्पसमा भर्ना भए पनि २०५६ सालदेखि जनयुद्धमा सक्रिय भएपछि पढाइ बीचमै रोकियो। शान्ति प्रक्रियापछि उनले पुनः अध्ययनलाई निरन्तरता दिँदै आरआर क्याम्पसबाट स्नातक तथा २०७३ सालमा पाटन संयुक्त क्याम्पसबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर (एम.ए.) पूरा गरेका हुन्।
उनले २०६९ सालमा विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर अर्को उपलब्धि पनि हासिल गरेका थिए।
माओवादीले २०५२ सालमा जनयुद्ध सुरु गर्दा शरद किशोर अवस्थामै थिए। राजनीतिक गतिविधिमा सक्रिय उनी २०५५ सालमा अखिल क्रान्तिकारी सिन्धुपाल्चोकका क्षेत्रीय अध्यक्ष बने। त्यसको एक वर्षपछि २०५६ सालमा जिल्ला उपाध्यक्ष भए। राज्यको निगरानी बढेपछि उनी सोही वर्ष भूमिगत भई पूर्णकालीन कार्यकर्ताका रूपमा जनयुद्धमा होमिए।
पार्टीको सैन्य संरचनामा उनले स्क्वायड कमाण्डरबाट सुरु गर्दै प्लाटुन सह–कमाण्डर, कम्पनी कमाण्डर, बटालियन सह–कमाण्डर हुँदै जनमुक्ति सेनाको ब्रिगेड कमाण्डरसम्मको जिम्मेवारी सम्हाले। सोलुखुम्बुको सल्लेरी, संखुवासभाको चैनपुर, ओखलढुंगाको रुम्झटार, बन्दीपुर ब्यारेक, काभ्रेको पनौती, चरिकोट, सिराहाको लाहान र थानकोटलगायतका थुप्रै युद्ध मोर्चामा उनी सहभागी भएका थिए।
युद्धका क्रममा उनले पटक–पटक गोली लागेको अनुभव गरेका छन्। काभ्रेको पनौती आक्रमणमा ढाडबाट लागेको गोली पेटबाट निस्किएको थियो भने अन्य मोर्चामा पनि घुँडा, छाती र ढाडमा गोली लागेका घटना उनले भोगेका छन्। उनका शरीरमा अझै पनि बम र गोलीका छर्रा रहेको बताइन्छ।
उनको नेतृत्वमा जनमुक्ति सेनाको वासुस्मृति ब्रिगेडअन्तर्गत ११औँ बटालियनको स्पेशल ट्र्याक्स फोर्सले थानकोट प्रहरी चौकीमा आक्रमण गरी २४ थान हतियार कब्जा गरेको घटना चर्चित मानिन्छ।
जनयुद्धपछि शरद माओवादीको विभिन्न संगठनात्मक जिम्मेवारीमा रहे। उनी वाइसीएल नेपालको केन्द्रीय सदस्य, ताम्सालिङ राज्य इन्चार्ज, केन्द्रीय उपाध्यक्ष तथा माओवादी केन्द्रको केन्द्रीय सदस्य बने।
२०६३ देखि २०६८ सालसम्म उनले माओवादी अध्यक्ष Pushpa Kamal Dahal लगायत शीर्ष नेताहरूको सुरक्षा टोलीको मुख्य कमाण्डरको जिम्मेवारी पनि सम्हालेका थिए।
शरदलाई सिन्धुपाल्चोकमा ‘नआत्तिने तर समय पर्खने’ नेताका रूपमा चिनिन्छ। २०७४ को स्थानीय तह निर्वाचनमा उनले चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरको टिकट पाए पनि पार्टी एकताका लागि भन्दै उक्त टिकट अर्का नेता अमानसिंह तामाङलाई सुम्पिएका थिए।
त्यो निर्णयपछि उनलाई ‘त्यागी नेता’ का रूपमा चर्चा गरियो। उनले चुनावमा पार्टी उम्मेदवारको पक्षमा सक्रिय भएर प्रचारसमेत गरेका थिए।
शरद यसअघि दुई पटक बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। प्रदेश सरकारमा उनले सामाजिक विकास मन्त्री (२०७४ फागुन–२०७७ पुस) तथा भौतिक पूर्वाधार विकास मन्त्री (२०७९ माघ–२०८१ श्रावण) को जिम्मेवारी सम्हालेका थिए।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनले सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट विजय हासिल गरे। प्राप्त मतपरिणामअनुसार शरदले २१ हजार ६९९ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी बंशलाल तामाङलाई पराजित गरेका हुन्, जसले १९ हजार १४६ मत प्राप्त गरेका थिए।
सिन्धुपाल्चोकका स्थानीयवासीबीच शरद ‘विकासको बाक्सा’ नामले पनि चिनिन्छन्। मन्त्री हुँदा गाउँ–गाउँमा पूर्वाधार विकासका काम अघि बढाएको भन्दै उनी चर्चित बनेका हुन्। यसपटकको चुनावमा पनि उनले “बाकस भरी भोट, गाउँ भरी विकास” भन्ने नारा लिएर घरदैलो अभियान चलाएका थिए।
विजयपछि उनले भनेका छन्, “मलाई जनताले जिताएर यहाँसम्म ल्याएका छन्। जनताको हितका लागि काम गर्नेछु, जनताको हितविपरीत एक इन्च पनि दायाँ–बायाँ गर्दिन।”
प्रतिक्रिया दिनुहोस