२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

पाँचखाल उपत्यकामा झरनै- झरना!!!


४३५८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र १९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौबाट करिब ४५ कि.मि पुर्व काभ्रे जिल्ला स्थित पाँचखाल उपत्यका तरकारी उत्पादनको राजधानी हो। यो उपत्यका पश्चिममा धुलिखेल,नाला र नगरकोट, दक्षिणमा फुलबारी, उत्तरमा थुम्का र मण्डन तथा पुर्वमा पलान्चोक र तिमाल डाँडाहरुले घेरिएको छ। यसको मलिलो बेँसी भुभाग समुन्द्र सतहबाट ९३७ मि. उचाइमा रहेको छ। धान दुई वा तरकारी चार बाली सम्म रोप्न सकिने हावापानी रहेको यो उपत्यकामा सिँचाईका लागि पानीको अभाव छ।

    पश्चिमी भेगबाट बहने झिँकु खोला, डाँफे खोला र साना खोल्सा खोल्सी हरुले ६ महिना मात्र सिँचाईलाई धान्दछन्। यहि पानीको अप्ठेरो स्थितिलाई सम्बोधन गर्न विचारकहरुले सोच्नै पर्ने बेला आएको छ। चिनले आफ्नो दक्षिणी भेगको अथाह पानी सुरुङ खोपेर उत्तरी भेग सिँचित गर्न लगेको बेला, भारतले आफ्नो उत्तरी भेगको अथाह पानी नदि जडान गर्दै दक्षिणी भेग लगेको बेला र नेपालले पनि खानेपानीका लागि मेलम्ची खोलाको पानी सुरुङ मार्फत सुन्दरिजल खसालेको बेला यो आलेख भने केही कृतिम झरना बनाई पाँचखाल उपत्यकालाई सिँचित गर्ने परिकल्पना मात्र हो।

    १.  इन्द्रावती -ढोडखोला झरना: सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजार भन्दा माथी इन्द्रावती नदिमा बाँध बाँधेर सिमेन्टेड नहर बनाई फटकसिला-देउपुर-कोट्याङ-ज्यामिरकोट हुँदै इन्द्रावतीको पानी ढोडखोलामा झारिने छ। नहर बनाउँदै आउँदा भौगोलिक दुरि छोट्याउन सुरुङ र पाइपको प्रयोग पनि गर्न सकिनेछ। सिँचाईका लागि पानीको आवश्यकता परेमा मण्डन देउपुर उपत्यकालाई पनि केही पानी छोड्न सकिनेछ। ज्यामिरकोटबाट ढोडखोलाको शिरविन्दुमा पानी झर्ने ठाउँमा झरनाको प्राकृतिक संरचना जस्तै संरचना बनाइनेछ। ढोडखोलाको शिरवन्दुबाट पानी ढलो अनुसार दायाँ-बायाँ दुबै दिशामा पहाडको भित्तो हुँदै सिमेन्टेड नहर बनाइनेछ।एकातर्फ टाँकेडिहिबाट पाइप द्वारा रगेले तारी जनताडिही-काफ्लेडिही हुँदै तिनपिप्ले मुनि सम्म नहर लम्बाइने छ भने अर्को तर्फ खोक-दुधेश्वर-शिखरपुर-श्रीरामपाटी हुँदै नहर तल्लो भेग जानेछ।नहरको माथिल्लो भुभागमा भने वाटर पम्पले पानी तानी सिँचाई गर्न सकिन्छ। यसरी यस कृतिम झरनाले पाँचखाल उपत्यकामा सिँचाईका लागि योगदान दिन सक्छ।

    २.  इन्द्रावती-चाखोला-थुम्का झरना:  भौगोलिक दुरि र जटिलताको कारण इन्द्रावती-ढोडखोला झरना बनाउन सकिएन भने इन्द्रावती नदिको पानी पाँचखाल उपत्यका ल्याउन बनाउनै पर्ने झरना यहि हो। यो झरना बनाउँदा इन्द्रावतीको पानी विद्युतीय शक्तिले लिफ्ट गरि हिउँवापाटी तानिने छ। त्यसपछी थोरै भुभागमा नहर बनाइ चाखोलामा मिसाइने छ। पुनः उक्त पानीलाई फेदिबाट थुम्कासम्म लिफ्ट गरि दुग्धेश्वर विद्यालय आसपास झारिने छ। त्यसपछी दायाँ-बायाँ पानी ढलो र आवश्यकता अनुसार नहर बनाई सिँचाई गरिने छ।

    ३.  सुनकोशी-पलान्चोक झरना:  यो झरना निर्माण गर्न पलान्चोक डाँडाको बिचोबिच भागमा सुरुङ खोपिने छ। त्यसपछी सुनकोशी नदिको पानी विद्युतीय शक्तिले लिफ्ट गरि उक्त सुरुङको पाइप हुँदै गुप्तेश्वर गुफा नजिक झारिने छ।एकातर्फ आँपघारी-खट्टार हुँदै श्रीरामपाटी तिर नहर लम्बाइने छ भने अर्कोतर्फ काँस्कोटे-बाँस्कोटे हुँदै बोहोरे दोभानसम्म नहर बनाइ सिँचाइ गरिने छ।

    ४.  रोसि-फुलबारी झरना:  यो झरना निर्माण गर्न फुलबारी डाँडाको पिँधमा सुरुङ खोपिने छ। त्यसपछी खोपासिको पावरहाउस मुनि रोसि खोलामा बाँध बाँधेर नहर बनाइ दाप्चा भेग हुँदै उक्त सुरुङको मुखबाट उत्तरतर्फ कल्से नजिक पानी खसालिने छ। रोसि खोलाको बाँधमुनी जलचर र सिँचाइका लागि आवस्यक पानी छोडिने छ भने दाप्चा भेगमा पनि सिँचाइका लागि पानी छोड्न सकिनेछ। कल्सेबाट एकातर्फ तिनपिप्ले हुँदै काफ्लेडिही सम्म नहर तन्काउन सकिने छ भने अर्कोतर्फ बेला- भेडाबारी मुनि हुँदै बोहोरेदोभानसम्म नहर बनाउन सकिने छ। यसरी पाँचखाल उपत्यकाको दक्षिणी भेग पनि सिँचित गर्न सकिनेछ।

       पाँचखाल उपत्यकाको केन्द्रीय भुभाग पाँचखाल नगर हो। पाँचखाल नगरको मुख्य भनाइ नै ‘पाँचखाल नगर-कृषि शहर’ हो। यहि भनाइलाई सार्थक बनाउन वैकल्पिक स्रोतको खोजी नै यो आलेख हो। माथिका कृतिम झरनाहरुले वर्षै भरी भुमी सिँचाई गरि धान र तरकारी बाली उत्पादनमा वृद्धि ल्याउनुका साथै माछा पालन, स्विमिङपुल, पर्यटन र जमिन रिचार्ज व्यवस्थामा समेत सघाउने छन्। समस्या नजिकिँदै गर्दा समाधानको उपायतर्फ सरकार र जनता सबैले ध्यान दिने हो कि?
    र अन्त्यमा,
    तानेर इन्द्रावती, सुनकोसी, रोसि
    धान दुई, तरकारी चार बाली
    पाँचखाल उपत्यका सधैँ हरियाली।

          (लेखक पुर्वशिक्षक हुन्।)
          -सिताराम शिपखान
          पाँचखाल,काभ्रे
            011-499135

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार