२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

पाँचखाल उपत्यकामा चक्रपथ र नगरबस !


५१२८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ जेष्ठ २८, शुक्रबार मा प्रकाशित २ साल अघि
  • सिताराम शिपखान

    काठमाडौबाट करिब ४५ कि.मि. पुर्व काभ्रे जिल्ला स्थित पाँचखाल उपत्यका कृषिका लागि महत्त्वपूर्ण क्षेत्र हो। यो उपत्यका पश्चिममा धुलिखेल, नाला र नगरकोट,दक्षिणमा फुलबारी, उत्तरमा थुम्का र मण्डन तथा पुर्वमा पलाञ्चोक र तिमाल डाँडाहरुले घेरिएको छ । यसको मैदानी बेँसी भुभाग समुन्द्र सतहबाट ९३७ मि. उचाईमा रहेको छ । यश उपत्यकाको मध्य भुभाग हुँदै दक्षिणबाट उत्तरतर्फ अरनिको लोकमार्ग गएको छ।

    अहिले आएर उपत्यकाकै केन्द्रविन्दुको रुपमा भने तामाघाट बजार उदाएको छ । यहि तामाघाट बजारका आसपासमा पाँचखाल नगरपालिका कार्यालय , ३,४ र ७ वडा कार्यालयहरु, मसलावाली विकास केन्द्र स्वास्थ्य चौकी, अन्य सरकारी कार्यालयहरु, बैँक, सहकारी, सामुदायिक र निजि कलेज तथा विद्यालयहरु रहेका छन्। यो अलेखमा भने डाँडाहरुको फेदिफेदी हुँदै चक्रपथ बनाएर बस्ती ब्यवस्थित गरि धान खेत जोगाउन र केन्द्रविन्दुको रुपमा रहेको तामाघाटबजार सँग पृष्ठ भुभागमा रहेका वस्तिहरुको निरन्तर सम्बन्ध जोड्ने प्रयत्न गरिएको छ ।

    चक्रपथ–
    पाँचखाल उपत्यकामा निर्माण हुने यो चक्रपथ अरनिको लोकमार्गले छोएको काफ्लेडिही बाट सुरुवात भइ पश्चिम दिशातर्फ लामिडिहिको चारपिप्ले हुँदै रगेलेसम्म पुग्नेछ । त्यसपछी उत्तर दिशा तर्फ झिकुखोलामा पुलबाँधी टाँकेडिही अनेकोट तर्नेछ। टाँकेडिहिबाट पुर्वोउत्तर हुँदै ज्यामिरकोट पुग्नेछ। त्यसपछी पुर्वतर्फ देविस्थान–थुम्का हुँदै लामिडाँडा बजार पुग्नेछ।

    लामिडाँडा बजार देखि तलिभन्ज्याङ होक्सेसम्म साविक सडकलाई नै स्तरउन्नति गरि चक्रपथमा रुपान्तरण गर्न सकिनेछ। पलान्चोक डाँडाको फेदि–भित्तो हुँदै पाखैपाखा तलिभन्ज्याङबाट भिमसेन स्थान आँपघारी त्यसपछी पुर्वतर्फ बाँस्कोटे सम्म चक्रपथ लम्बाइने छ। बाँस्कोटे बाट भने दक्षिणतर्फ झिकुखोलामा पुल बाँधी भेडाबारी तर्नेछ ।

    त्यसपछी दक्षिण–पश्चिम हुँदै बेला मुनि आएको चक्रपथ पश्चिमतर्फ कल्सेसम्म लम्बिनेछ । कल्सेबाट भने उत्तरतर्फ हनुमानगढी तिनपिप्लेतर्फ लाग्नेछ। हनुमानगढी देखि काफ्लेडिहिसम्म भने साविक अरनिको लोकमार्गलाई स्तरउन्नति गरि प्रयोगमा ल्याउन सकिनेछ।चक्रपथ निर्माण हुने रुटमा रहेका कतिपय स्थान विशेषका पुराना सडकहरुलाई नै स्तरवृद्वी गरि चक्रपथमा रुपान्तरण पनि गर्न सकिनेछ। यो चक्रपथ कालोपत्रे चारलेनको हुनेछ। यसको दायाँ–बायाँ पाकोमा बस्ती, कार्यालय, र शैक्षिक संस्थाहरु विकास गर्न सकिनेछ। चक्रपथ हुँदै खानेपानी, विजुली र दुरसंचारका संजाल विकास गर्न सकिने छ। भविष्यमा आवस्यकतानुसार चक्रपथमा ट्रलिबस पनि संचालन गर्न सकिने छ। चक्रपथको तलिभन्ज्याङ विन्दुबाट श्रीरामपाटि–रानिपानी हुँदै भकुण्डे सम्म लिङ्करोड जोड्न सकिनेछ। यसले उपत्यकाको उत्तर–दक्षिण सम्बन्धमा सहजता ल्याउने छ। यसरी पाँचखाल उपत्यकामा चक्रपथ निर्माण गरि सुब्यवस्थित बस्ती र दिगो कृषि विकासको आधार खडा गर्न सकिने छ ।

    नगरबस–
    सबैको दिगो विकासका लागि केन्द्रविन्दु र पृष्ठभागको संबन्ध जिवन्त हुनुपर्दछ। पृष्ठभागमा उत्पादित कृषिउपज विक्रीका लागि र बजारिया सामान किन्नका लागि मानिसहरुले केन्द्रविन्दु तर्फ धाइरहनु पर्दछ। त्यसैले विभिन्न कार्यालयहरुले प्रदान गर्ने सेवा–सुविधा लिन र विद्यार्थीहरुले शिक्षाका लागि पनि केन्द्रविन्दु आइरहनु पर्दछ।यो नङमासुको संबन्धलाई दिगो राख्न सार्वजनिक यातायात संजालले सघाउन सक्नेछन्। यहाँ कोरोना महामारिको समाप्ती पछि लगत्तै तामाघाटलाई केन्द्रविन्दु मानेर उपत्यकाका अन्य भुभाग जोड्न सकिने गरि नगर बसको निम्न रुट तय गरिएको छ ।

    नगरबस
    १. तामाघाट–पलान्चोक–कोशिदेखा
    २. तामाघाट–बोहोरेदोभान–सस्र्युखर्क
    ३. तामाघाट–फेदि–कोट्याङ
    ४. तामाघाट–अनेकोट भ्युटावर–नगरकोट
    ५. तामाघाट–रानिपानी–भकुण्डे
    ६. तामाघाट–रविओपी–बनेपा
    ७. तामाघाट–धुलिखेल–बनेपा
    भविष्यमा सेवा विस्तार गर्न सकिने स्थानहरु
    १. तामाघाट–बोहोरेदोभान–तिमालडाँडा
    २. तामाघाट–कुन्ता–चण्डेनिमण्डन
    ३. तामाघाट–दोलालघाट–ज्याम्दिमण्डन
    ४. तामाघाट–दोलालघाट–कोशिपारी
    ५. तामाघाट–बोहोरेदोभान–कोशिपारि
    ६. तामाघाट–फुलबारी–नवोबुद्व
    ७. पाँचखाल उपत्यका चक्रपथ

    आवस्यकताले आविश्कार गर्नेछ।पाँचखाल उपत्यकाका अन्यभेगमा पनि आवश्यकता अनुसार नगरबसको सेवा–सुविधा थपिने छ। नगरबस चल्ने रुटमा रहेका सडकहरुलाई भने स्तरवृद्वी गर्नुपर्नेछ। तामाघाट बजार आसपास एउटा बसपार्क निर्माण गर्नु पर्नेछ। नगरबस संचालनका लागि निजि क्षेत्रलाई आह्वान गर्न सकिनेछ। सहजिकरण भने स्थानिय सरकारले गर्नु पर्नेछ।शुरूवातमा एक रुट–एक बस को ब्यवस्था गर्न सकिनेछ।

    हाललाई साविक बसले सेवा प्रदान गरेता पनि भविष्यमा विद्युतीय बस राख्न सकिनेछ।ठाउँ–ठाउँमा आवश्यकता अनुसार चार्जिङ स्टेसन राख्न सकिने छ। कंक्रीटको जंगलमा हराएको काठमाडौं उपत्यका र अन्य शहरहरुबाट पाँचखालले बेलैमा पाठ सिक्नु पर्नेछ। डाँडाहरुको फेदि–भित्तो हुँदै पाखैपाखा चक्रपथ बेलैमा बनाएर बस्ती ब्यवस्थित गरि बिचको भुभाग भने खेतिपातिका लागि सदा काल खुल्ला राख्नु पर्नेछ। पाँचखाल उपत्यकाका चक्रपथ र स्तरवृद्वी गरिएका सम्पुर्ण सडकका दायाँबायाँ वृक्षरोपण गरि ’सबैको मंगल–सडकमा जंगल’ स्थापना गर्न सकिने छ। यसरी ’पाँचखाल नगर–कृषि शहर’ लाई सार्थक बनाउन चक्रपथ र नगरबसले अमुल्य योगदान दिन सक्नेछन्।

    चक्रपथ– डाँडाहरुको फेदिफेदी हुँदै
    घुमाइ दिउँ एउटा गोलो बाटो
    सुब्यवस्थित बस्ती र जोगिएको धान खेत!

    नगरबस– तामाघाट बजारबाट
    आठै दिशातर्फ
    छुट्नै लाग्यो विद्युतबस!

    (लेखक पुर्वशिक्षक तथा विकास परिकल्पनाकार हुन्।)
    –सिताराम शिपखान
    पाँचखाल काभ्रे
    ०११४९९९१३५

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार