२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पञ्चखुट्टी कविता


२९१० पाठक संख्या

— शारदाप्रसाद शर्मा (पाँच पंक्तिको हास्यपूर्ण कविता) परीक्षा –१  हिजो विद्यालयको परीक्षामा गुरुमाले थर्काइन् साथीको

  • नवसंकेत अनलाईन
  • २०७४ जेष्ठ २१, आईतबार मा प्रकाशित ७ साल अघि
  • — शारदाप्रसाद शर्मा

    (पाँच पंक्तिको हास्यपूर्ण कविता)
    परीक्षा –१ 
    हिजो विद्यालयको परीक्षामा गुरुमाले थर्काइन्
    साथीको हेरेको अभियोगमा एक चड्का चड्काइन्
    आज उनै गुरुमा आफैँ विश्वविद्यालयको परीक्षा दिँदै थिइन्
    निरीक्षककले टिपन देखेर कापी मागे,
    आमाको झोलीमा राखेको त्यो टिपन उनले खुरुक्क दिइन्!

    परीक्षा –२ 
    विश्वविद्यालयको परीक्षा
    प्रहरी प्रशासन र पत्रकार
    प्रवेशद्वारमै खानतलासी छात्राहरूको
    तैपनि परीक्षा कोठामा भेटिन्छ किताब
    भन्छन् – मान्छे बोक्नसक्ने पेटमा, जाबो किताब !

    राजनीति –१ 
    सहमति भो, सहमति भो
    हैेन के भो, केको सहमति भो ?
    सहमतिका लागि सहमति जुटाउन
    कम्तिमा पनि बैठक बस्न सहमत हुनुपर्छ भन्ने
    सबै दलहरूका बीच सहमति भो ।

    राजनीति –२
    हरेश खानु हुँदैन भन्छन्, हामी खाँदैनौँ
    कमजोरको संगत नगर्नु भन्छन, हामी गर्दैनौँ
    जनता कमजोर छन्, तैपनि पुरुषार्थीहरूले
    जीवनमा हार्ने काम नगर्नु भन्छन्
    चुनाबमा गए हारिन्छ, हामी जाँदैनौँ ।

    राजनीति –३
    लाउडा पचाइयो, हाउडा पचाइयो
    सेनापतिको जागिर बचाइयो
    अब गर्नु पर्ने नै के छ र
    आफू डाँडामाथिको जून भइसकेँ
    मै नभए देश किन चाहियो ?

    राजनीति –४ 
    आओ साथी हो आओ
    तीनआँख्ले, पाँचऔँले झाडी मास्नु छ
    धेरै भो खडेरी परेको यसपालि भकारी भर्नु छ
    झगडाको बिउ रोपेर, आलीमा ताली बजाउनेलाई
    चिउरै चिउरा खुवाएर शुद्धशान्तिको भोज लगाउनु छ ।

    राजनीति –५ 
    हामी पदका लोभी भएर उम्मेदवार बनेका होइनौँ
    हामी पदका भोगी भएर उम्मेदवार बनेका होइनौँ
    नयाँ नेपाल बनाउन नयाँ धान – बनाउनु छ
    खेल हो, हार्दैमा किन खेल छोड्नु ?
    विरोध विरोधमै विरोधी मर्छ, त्यसपछि म निर्विरोध हुन्छु ।

    राजनीति –६
    चाउरिएका थिए दाउरिएका थिए
    अहिले मोटाएछन् ,गाला पनि राता राता भएछन्
    थोरै खान्थे, अब मानुले पुग्दैन
    पुरानै नेपाल हुन् सेतै फुलेका बूढा झैँ थिए
    उनै नेपाल हुन् अहिले मोटाएर नयाँ झैँ छन् ।

    राजनीति –७ 
    पैसालाई ढोग्नेहरू पालिएकाछन्
    पुस्तकलाई ढोग्नेहरू फालिएकाछन्
    ए नेपाल ! तिमै्र आँखा अगाडि
    प्रधानमन्त्रीको निर्वाचनमा
    षड्यन्त्रका पाइलाहरू चालिएकाछन् ।

    ८. ती कुकुरहरूको के कुरा गर्नु ?
    ती कुकुरहरूको के कुरा गर्नु ?
    मौसूफको उठिबास नै लगाइदिए
    अब जे भए पनि मौसूफको फिर्ती सबारी हुनुपर्छ
    मौसूफको फिर्ती सबारीमा हामीले
    पुच्छर हल्लाउन पाउनुपर्छ ।

    ९. तिम्रो आन्दोलनले साँच्चै
    तिम्रो आन्दोलनले साँच्चै
    लोकतन्त्र छाएको छ, परिवर्तन आएको छ
    देखेँ, सुनेँ, बुझेँ, मैले परिवर्तन आएको छ
    तिम्रो भाषण शैलीभित्र तिम्रो ठूलो थैलीभित्र
    लोकतन्त्र छाएको छ,, परिवर्तन आएको छ ।

    १० तिम्रोे राजनीतिले
    सधैँ बल्ने मेरो चुलो अहिले ढुसी परेको छ
    श्राद्ध गर्ने बाहुनबाको रोजीरोटी बढेको छ
    राजनीति बुझेकैले सहिद संख्या चढेको छ
    लोकतन्त्र भएसँगै परिवर्तन आएको छ
    नेपालीले लाद्रो भर्न सिङ्गो संसार छाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार