२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

लट्रीको नाममा ठग्ने गिरोह प्रहरीको फन्दामा,


३६५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ २९, मंगलबार मा प्रकाशित ६ साल अघि
  • पर्सा । पर्सा प्रहरीले लट्री परेको भन्दै ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका(१८ नगवा बस्ने १८ वर्षीय अक्षयकुमार चौरसिया, महानगरकै वडा नं १६ का१८ वर्षीय युवराज पासवान, वडा नं १९ बस्ने २२ वर्षीय वीरनारायण चौरसिया र महानगरपालिका कै वडा नं २ रेल्वे रोड बस्ने २२ वर्षीय राहुलकुमार राउत रहेका छन् ।

    पक्राउ परेकाहरु ठगी धन्दाका सहयोगी मात्रै भएको प्रहरीले बताएको छ । मुख्य योजनाकारलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्दै प्रहरीले उनीहरुले ह्वाट्सएप, इमो, भाइबरको प्रयोग गरी सोझासाझा नागरिकलाई ठग्ने गरेको जानकारी दिएको छ ।

    २५ देखि ३५ लाखसम्मको लट्री परेको छ भन्दै प्रलोभनमा पारेर ठग्ने गरेको पाइएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । ‘पहिला तपाईंलाई ठूलो रकम चिठ्ठा परेको छ है भनेर बधाई दिँदै प्रलोभनमा पार्ने रहेछन्, त्यसपछि फकाएर बैंक खाता नं. तथा परिचय खुल्ने कागजातसमेत सोही सामाजिक सञ्जाल मार्फत पठाउन लगाउने, त्यसपछि जुन देशको सरकारका तर्फबाट पुरस्कारका लागि छनौटमा परेको भनिएको हो, त्यो देशको सरकारलाई लट्टी वापतको कर तिर्नुपर्छ भनेर रकम माग्ने रहेका छन,’ उनले भने, ‘ठूलो रकम आउँछ भने अलिअलि खर्च किन नगर्ने भनेर प्रलोभनमा परेका व्यक्तिले रकम दिने गरेका रहेछन् ।’

    पुरस्कार लिनका लागि लाग्ने क वापतको रकम सम्बन्धित सरकारलाई अग्रिम भुक्तानी गर्नुपर्ने भनी फकाइफुलाई गरेर उनीहरुले आईएमी र बैंकमार्फत पैसा पठाउन लगाइ ठग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुको साथबाट प्रहरीले नगद १ लाख ५ हजार, मोबाइल ४ थान, आइएमई को भौचर ७ थान, मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, विभिन्न बैंकका चेक तथा एटिएमहरुसमेत बरामद गरेको छ ।

    आइएमई तथा बैंकमार्फत पैसा पठाउन लगाइ ठगी गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई सोमबार मध्यान्न वीरगञ्ज महानगरपालिका वडा नं १५ भेडियाही स्थित नेशनल मेडिकल कलेज नजिक रहेको गढीमाई मनी ट्रान्सफर अगाडिको सडकबाट प्रहरीले पक्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार मुख्य अभियुक्त (भारतीय, पाकिस्तानी) ले ठगी गरेको रकम संकलन गर्नको लागि पक्राउ परेका व्यक्तिहरु मध्यका वीरनारायण चौरसियालाई निजको मोबाइलमा आइएमई कोड र रकमको विबरण पठाइ रकम झिक्न लगाउने गरेको तथ्य खुलेको छ ।

    परिचय पत्र प्रयोग गरी रकम झिकेवापत चौरसियालाई प्रतिदिन २ देखि ४ हजार रुपैयाँसम्म दिने गरेको तथ्य खुलेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ढकालले बताए । ‘विरनारायण चौरसियाले भारतीय र पाकिस्तानी अभियुक्तहरुसँग सम्पर्क गरी उनीहरुले भने अनुसार अन्य अभियुक्तहरुको परिचय पत्र प्रयोग गरी मोटो रकम झिकी प्रतिदिन १ लाखसम्म भारतको रक्सौलबाट दिएको खातामा जम्मा गर्ने गरेका रहेछन,’ उनले भने, ‘गिरोहमा संलग्न अन्यको पनि खोजी भइरहेको छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार