२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कक्षा ११ र १२ को प्रश्नपत्र सीसीटीभीको निगरानीमा खोलिने


२८९२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ बैशाख १२, बिहिबार मा प्रकाशित ५ साल अघि
  • १२ वैशाख, काठमाडौं । सरकारले वैशाख १५ देखि जेठ ८ गतेसम्म सञ्चालन हुने कक्षा १२ र ११ को परीक्षा मर्यादित बनाउन भन्दै २२ बुँदे निर्देशन जारी गरेको छ । माध्यमिक शिक्षा परीक्षामा प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि सजग हुँदै राष्ट्रिय परीक्षा बोर्डले निर्देशन जारी गरेको हो ।

    परीक्षा बोर्डले सुरक्षा निकायसँग रहेको प्रश्नपत्र केन्द्राध्यक्षले नै बुझ्नुपर्ने, परीक्षाको धेरै समय अगाडि प्रश्नपत्र लैजान नपाउने, सीसीटीभीको निगरानीमा प्रश्नपत्रको थैला रुजु गर्ने र प्रश्नपत्र बुझ्दा अनिवार्य रुपमा मुचुल्का गर्न निर्देशन दिएको छ ।

    त्यस्तै प्रश्नपत्र रुजु गर्न भण्डारण गरेको कोठामा जाने सुरक्षाकर्मी, केन्द्राध्यक्ष र कर्मचारीले मोवाइल फोन लैजान नपाउने, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक गरी ३ जनाको रोहवरमा मात्र प्रश्नपत्रको मुचुल्का खोल्ने व्यवस्था गर्न पनि निर्देशन दिएको छ । बोर्डले निश्चित मापदण्ड पुगेकालाई मात्र केन्द्राध्यक्ष नियुक्ति गर्ने, उनीहरुका लागि तालिम सञ्चालन गर्ने र विगतमा राम्रो परीक्षा सञ्चालन गर्न नसकेका र कालोसूचीमा परेकालाई नियुक्ति नगर्न निर्देशन दिएको छ ।

    परीक्षामा खटिने सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी र सहयोगीका लागि पनि तालिम सञ्चालन गर्ने, उनीहरुको मोवाइल खामबन्दी गरेर केन्द्राध्यक्षको झोलामा राख्ने र परीक्षा सकिएपछिमात्र फिर्ता दिन पनि परीक्षा बोर्डले निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ र ११ को परीक्षालाई अनुकुल वातावरण सिर्जना गर्न र परीक्षाका क्रममा हुनसक्ने अनियमित गतिविधि रोक्न २२ बुँदे निर्देशन जारी गरिएको जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार