२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेको सामुदायिक साकोसको एकीकरण अभियान


२५५४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ जेष्ठ १६, बिहिबार मा प्रकाशित ५ साल अघि
  • पनौती, २५ वर्ष अघि २०५१ साल माघ १४ गते स्थापित पनौती ४, टौखालमा मुख्य कार्यालय रही काभ्रेपलाञ्चोक जिल्लाको १३ वटा स्थानीय तह मध्ये ७ वटा स्थानीय तहमा आफ्नो वित्तीय पहुँच विस्तार गर्दै १० वटा कार्यालय मार्फत सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा उपलब्ध गराउदै आएको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा आफ्नो छवी कायम गर्न सफल एक्सेस सिल्भर ब्राण्ड प्राप्त सामुदायिक वचत तथा ऋण सहकारी संस्थाले समुदायका ब्यक्तिहरुलाई संस्थामा आबद्ध गराउँदै कार्यक्षेत्र भित्रका विभिन्न सहकारी संस्थाहरुलाई एकीकृत गर्दै वित्तीय रुपमा सवल र सक्षम संस्था स्थापना गरी शेयर सदस्यहरुलाई प्रतिस्पर्धी सेवा स्थानीय तहमै उपलब्ध गराउने उदेश्यले एकीकरण अभियान शुरु गरेको छ ।

    तत्कालिन पनौती नगरपालिका र जोडिएका ५ गा.वि.स.हरु कार्यक्षेत्र भएको यस संस्थाले २०६८ सालबाट नै अन्य सहकारी संस्थाहरुसँग एकीकरणको प्रयास गर्दै आएको र २०७३ सालमा बनेपा स्थित तत्कालिन जगत गुरु वचत तथा ऋण सहकारी संस्थासँग एकीकरण गरी आफ्नो कार्यक्षेत्र काभ्रेपलाञ्चोक जिल्लाभर कायम गरेको यस संस्थाले छोटो अवधिमा नै जिल्लाका मुख्य मुख्य स्थानहरुमा ९ वटा सेवा केन्द्रहरु सञ्चालनमा ल्याएको छ ।

    यस संस्थाले मिति २०७६ जेष्ठ १४ गते मंगलबारका दिन एकीकरण जस्तो मंगल कार्यको अभियानकै रुपमा काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. १२, बासडोल स्थित श्री बासडोल सामुदायिक बहुउदेश्यीय सहकारी संस्था लि.सँग एकीकरणको सम्झौता गरेको छ । सम्झौता दुबै संस्थाको एकीकरण कार्यदल बीच सामुदायिक वचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालयको सभाहलमा बृहत छलफल गरी सम्पन्न भएको हो । उक्त कार्यक्रममा श्री बासडोल सामुदायिक बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष श्री वकिलनाथ शर्माले सानो मुहानबाट शुरु हुने खोल्सा खोला, नदी हुँदै आफै समुन्द्र बन्ने हो त्यसले हामी दुई संस्था एकीकरण भई अन्य संस्थाहरुलाई पनि एक हुन आग्रह गर्दै समुन्द्र बन्नुपर्ने कुरा राख्नु भएको थियो ।

    सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष श्री प्रकाश बन्जाराले दुबै पक्षको एकीकरण कार्यदलले हस्ताक्षर गरेको सम्झौता पत्र आदन प्रदान गर्दै सहकारी ऐन २०७४, नियमावली २०७५ र नियामक निकायहरुले पनि सहकारी संस्थालाई एक हुन आग्रह गरीरहेको अवसरमा यो शुरुवात हो, श्री बासडोल सामुदायिक बहुउदेश्यीय सहकारी संस्थाले यो अवसर तयार गरेकोमा संस्थाका अध्यक्ष श्री वकिलनाथ शर्मा लगायत सम्पूर्ण अभियन्ताहरु प्रति हार्दिक आभार ब्यक्त गर्दै अन्य सहकारी संस्थाहरुसँग पनि एकीकरणको छलफल अगाडी बढेको, केही संस्थाहरु निर्णय तहमा पुगीसकेको जानकारी दिनुभएको थियो । यसै क्रममा उहाँले अवको अभियान सहकारी संस्था एकीकरणको अभियान हो, त्यसैले सामुदायिक वचत तथा ऋण सहकारी संस्थाले एकीकरणको लागि ढोका सदैब खुल्ला गरेकोले निश्वार्थ स्वागत गर्न तयार रहेको अभिब्यक्ति ब्यक्त गर्नुभयो ।

    छलफलका क्रममा सामुदायिक वचत तथा ऋण सहकारी संस्थाका प्रमुख सल्लाहकार श्री शम्भुलाल श्रेष्ठ, सल्लाहकार श्री वीर बहादुर थापा, परामर्शदाता श्री दीपक थापा, लेखा संयोजक श्री हरिप्रसाद तिमल्सिना, उपाध्यक्ष श्री कुमार प्रसाद लामिछाने, कोषाध्यक्ष श्री प्रताप ताम्राकार लगायतले आफ्ना हर्षका अभिब्यक्तिहरु राख्नुभएको थियो भने श्री बासडोल सामुदायिक बहुउदेश्यीय सहकारी संस्थाका उपाध्यक्ष श्री राजन थापा, सचिव श्री रामकृष्ण कुवर, कोषाध्यक्ष श्री विजय कुमार शर्मा, लेखा संयोजक श्री उद्दव वाग्ले, सञ्चालकहरु प्रल्हाद सत्याल र कल्पना कुवरले शेयर सदस्यका हितका लागि सञ्चालकहरुको ब्यक्तिगत स्वार्थ त्याग गरी एकीकरणका लागि तयार रहेको प्रतिक्रीया राख्नुभएको थियो ।

    कार्यक्रममा सामुदायिक वचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री मदन बस्नेत र श्री बासडोल सामुदायिक बहुउदेश्यीय सहकारी संस्थाका ब्यवस्थापक श्री अनन्त प्रसाद तिमल्सिनाले आ–आफ्ना संस्थाको वित्तीय तथा गैर वित्तीय प्रतिवेदन र क्रियाकलापहरु प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सामुदायिक वचत तथा ऋण सहकारी संस्थाका सचिव श्री मुकुन्द शर्माले गर्नुभएको थियो ।

    सामुदायिक वचत तथा ऋण सहकारी संस्थामा जिल्लाका २१०७५ जना शेयर सदस्यहरु आबद्ध रहेका छन् भने १ अर्व ८० करोड पुँजी रहेको छ । शेयर सदस्यहरुको १७ करोड शेयर पुँजी रहेको यो संस्थाले २३ प्रकारका वचतका शीर्षकहरुमा १ अर्ब २४ करोड वचत संकलन गरी १७ शीर्षकमा १ अर्ब ४७ करोड सदस्यहरुलाई नै ऋण परिचालन गरिरहेको छ । वचत र ऋणमा प्रतिस्पर्धी ब्याजदर कायम रहेको यस संस्थाले ४६ जनालाई रोजगारी प्रदान गरेको छ ।

    संस्था शुसासनमा सञ्चालनका निमित्त ५० वटा नीति तथा कार्यविधि तयार गरी अगाडी बढेको यस संस्थाले आन्तरिक लेखा परिक्षण र बाह्य लेखा परिक्षणका लागि छुट्टा छुट्टै चार्टड एकाउण्टेन्ट संस्थालाई नियुक्त गरेको छ । त्यसैगरी १५८८ जना शेयर सदस्यहरुको ९ करोड ५० लाख कुल पुँजी परिचालन गर्न सफल भएको श्री बासडोल सामुदायिक वचत तथा ऋण सहकारी संस्थाको १० प्रतिशत भन्दा बढी संस्थागत पुँजी छ भने न्यून भाखा नाघेको ऋण रहेको छ ।

    नीति, विधिबाट शुसासित यि दुई संस्था एकीकरण पश्चात २ अर्बको हाराहारीमा कुल पुँजी पुग्ने, २५ हजार शेयर सदस्य, १० प्रतिशत संस्थागत पुँजी, नियन्त्रित भाखा नाघेको ऋण र गुणस्तरिय वस्तु तथा सेवा उपलब्ध गराउनेमा कुनै दुईमत देखिदैन । दुबै संस्थाका शेयर सदस्यहरु एकीकरण पश्चात गुणस्तरिय सेवा पाईने र संस्थाको सञ्चालन खर्चमा न्यूनीकरण भई लाभांश दरमा बृद्धि हुने अपेक्षा सहित संयुक्त साधारण सभा हुने प्रतिक्षामा उत्साहित रहेका छन् । सहकारी अभियन्ताहरुले संस्थाहरु एकीकरण गर्ने अभियानलाई सामुदायिकले नेतृत्व गर्नुपर्ने र अन्य सहकारी संस्थाहरुसँग समेत एकीकरणको प्रस्ताव पठाई छलफल अगाडी बढाउनु पर्ने कुरा सुझाउँदै दुबै संस्था सिघ्र एकीकरण होस् भनि शुभकामना दिएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार