२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

वडा अध्यक्षहरुलाई तालिम


१९६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ जेष्ठ २७, सोमबार मा प्रकाशित ४ साल अघि
  • धुलिखेल-स्थानीय सरकार निर्वाचित भएको दुई वर्षपछि जिल्ला समन्वय समिति मार्फत वडा अध्यक्षहरुलाई क्षमता अभिबृद्धिको तालिम दिन शुरु गरिएको छ ।

    प्रदेश सरकारको सहयोगमा जिल्लाका गाउँपालिका र नगरपालिकाका सबै वडाअध्यक्ष तथा न्यायिक समितिका पदाधिकारी र कर्मचारीहरुलाई क्षमता विकास सम्वन्धी अभिबृद्धि कार्यक्रम दिन शुरु गरिएको हो ।

    शनिबार आयोजना गरिएको कार्यक्रममा जिल्लाको महाभारत, तेमाल र बेथान्चोक गाउँपालिका तथा धुलिखेल र पनौती नगरपालिकाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो । क्षमता अभिबृद्धि तालिममा ५० प्रतिशत वडाअध्यक्षहरु पनि सहभागी भएका छैनन् । ‘जतिबेला हामीलाई साँच्चिकै अभिबृद्धि तालिम आवश्यक थियो, त्यतिबेला कुनै निकायले सम्झिएन, दुई वर्ष विताए पछि हामीलाई क्षमता विकासको तालिमको महत्व लागेन र उपस्थिति हुन सकिएन’–पनौती नगरपालिकाका एक वडा अध्यक्षले भने–‘सरकारले क्षमता विकासका स्थानमा अन्य क्षेत्रकोे तालिम दिन आवश्यक थियो ।’

    तालिमको उद्घाटन सभामा समन्वय प्रमुख उद्धव केसीले स्थानीय सरकारप्रति नागरिकले हेर्ने दृष्टिकोण सकारात्मक नभएकाले विकास मार्फत सकारात्मक धारणा बनाउन वडा अध्यक्षहरुले गर्नै पर्ने विशेष कामका बारेमा क्षमता विकास सम्वन्धी तालिम दिन शुरु गरिएको बताए ।

    तालिममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले वडा अध्यक्षहरु सरकारी सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन शेष नाग जस्तै हुन सुझाव दिए । ‘पदको महत्व बुझ्न तथा कसैको दबाबमा, प्रभावमा र अभावमा नपर्न म अनुरोध गर्दछु’–राउतले भने–‘शासन प्रणालीको मियो स्थानीय सरकारका वडा अध्यक्षहरु भएकाले ब्यवस्था विरोधी, संविधान विरोधी तत्व विरुद्ध खरो रुपमा उत्रनु प¥यो ।’ वडा अध्यक्षहरुका थ्रप्रै जिम्मेवारी भएकाले शान्ति सुरक्षा कायम गर्ने, विपद् ब्यवस्थापन गर्ने लगायतका कार्यमा ध्यान दिन प्रजिअ राउतले अनुरोध गर्दै हिसाबमा एक एक जोडेर दुई भए जस्तै विकासमा एक एक जोडेर एघार बनाउन सुझाव दिए ।

    सरकारले ल्याएको बजेटको कार्यान्वयन, संसदिय क्षेत्र विकासका कार्यक्रम, प्रदेश सरकार तथा विभिन्न एजेन्सी मार्फत आउने बजेटको कार्यान्वयन गर्ने प्रमुख निकाय वडा भएकाले त्यसतर्फ ध्यान दिन अनुरोध गर्दै प्रजिअ राउतले बाटो खन्ने होईन माटो खन्ने कामले विकासमा स्थायीत्व नहुने बताए । कार्यक्रममा समन्वय उपप्रमुुख मञ्जु गौतम, समन्वय अधिकारी सच्युतराज उप्रेति, कानुन ब्यवसायी केदार कोईराला लगायतले स्थानीय सरकारको भूमिकामा वडा अध्यक्षहरुको भूमिका महत्वपूर्ण हुने भएकाले सशक्त हुन अनुरोध गरेका थिए ।

    चौरीदेउराली, रोशी र भुम्लु तथा बनेपा नगरपालिकाका वडा अध्यक्षहरुलाई आगामी २५ गते तालिमको आयोजना गरिएको छ भने ३२ गते मण्डनदेउपुर, पाँचखाल र नमोबुद्ध नगरपालिका तथा खानिखोला गाउँपालिकाका वडा अध्यक्षहरुलाई क्षमता विकास सम्वन्धी तालिम दिईने समन्वय प्रमुख उद्धव केसीले बताए । जेष्ठ २९ गते नगरपालिका तथा गाउँपालिकाका न्यायिक समितिका पदाधिकारीहरु तथा न्यायिक समिति हेर्ने कर्मचारीहरुलाई तालिम प्रदान गरिनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार